
काठमाडौं । सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले आकर्षक तलबको व्यवस्था गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२ बमोजिम जारी गरेको ‘सूचना प्रविधि प्रणालीको विकास तथा परामर्श सेवाको लागत अनुमान सम्बन्धी नर्म्स, २०८२’ अनुसार अब आईटी अधिकृतहरूले मासिक दुई लाखसम्म पारिश्रमिक पाउनेछन् ।
यसअघि न्यून तलबका कारण दक्ष आईटी अफिसर देशमा नटिक्ने समस्या थियो । नयाँ नर्म्सले सफ्टवेयर प्रणाली विकास र परामर्श सेवा लिँदा आवश्यक जनशक्तिको योग्यता, अनुभव र पारिश्रमिक स्पष्ट तोकिदिएको छ । यसले लागत अनुमानलाई यथार्थपरक र एकरूप बनाउने मन्त्रालयको दाबी छ ।
कसको तलब कति ?
परियोजना प्रबन्धक/टिम लिडर: स्नातकोत्तर र कम्तीमा ५ वर्ष अनुभवसहित मासिक २ लाख रुपैयाँ।
एसओसी विश्लेषक (एल–३), डिजिटल फरेन्सिक विश्लेषक, जोखिम जासुसी विशेषज्ञ: स्नातक र ५ वर्ष अनुभवसहित १ लाख ७२ हजार रुपैयाँ।
सिस्टम आर्किटेक्ट/विश्लेषक: स्नातक, प्रमाणीकरण र ५ वर्ष अनुभवसहित १ लाख ६० हजार रुपैयाँ।
सिनियर डाटाबेस डिजाइनर, सफ्टवेयर/वेभ/एन्ड्रोइड डेभलपर: १ लाख ४० हजार रुपैयाँ।
क्लाउड (५ वर्ष) वा एपीआई (३ वर्ष) अनुभव: १ लाख २५ हजार रुपैयाँ।
क्लाउड/इन्फ्रास्ट्रक्चर एक्सपर्ट, एपीआई डेभलपर, इथिकल ह्याकर, एप्लिकेसन सेक्युरिटी इन्जिनियर, थ्रेट एनालिस्ट (२ वर्ष अनुभव): १ लाख १० हजार रुपैयाँ।
इन्फरमेसन सेक्युरिटी अफिसर र एसओसी एनालिस्ट (३ वर्ष अनुभव): १ लाख ५ हजार रुपैयाँ।
यसका अतिरिक्त, डाटाबेस एडमिनिस्ट्रेटर, क्वालिटी एश्योरेन्स एनालिस्ट, सफ्टवेयर टेस्टर, आईटी अडिटर, सिस्टम/नेटवर्क एडमिनिस्ट्रेटर, जुनियर डेभलपर लगायतका पदका लागि पनि आकर्षक तलब तोकिएको छ।







प्रतिक्रिया