
काठमाडौं । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले नाफाबाट कर्मचारी बोनसको लागि ११ अर्ब ७५ करोड ६५ लाख रुपैयाँ छुट्याएका छन् । बोनस ऐनको व्यवस्थाअनुसार कर्मचारी बोनसका लागि नाफाको १० प्रतिशत छुट्याउनुपर्ने व्यवस्था छ ।
आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाले कर्मचारी बोनस प्रयोजनका लागि ९ अर्ब १९ करोड ७८ लाख रुपैयाँ छुट्याएकामा आर्थिक वर्ष २०८१/८२ मा कर्मचारीको बोनस रकम उल्लेख्य बढेको हो ।
गत आर्थिक वर्षमा बैंकहरुको नाफामा सुधार भएसँगै कर्मचारी बासेन समेत बढेको हो । आर्थिक वर्ष २०७८/७९ मा नै बैंकहरुले ११ अर्ब ७६ करोड ५६ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेका थिए । त्यसपछिका आर्थिक वर्षमा कर्मचारी बोनस घट्दै आर्थिक वर्ष २०८०/८१ मा ९ अर्बमा झरेकोमा गत आर्थिक वर्षमा उल्लेख्य बढेको हो ।
गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले कर्मचारी बोनसको लागि १० अर्ब ६१ करोड १४ लाख रुपैयाँ छुट्याएका छन् । वाणिज्य बैंकहरुले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब २१ करोड ९० लाख रुपैयाँ कर्मचरीलाई बोनस वितरण गरेका थिए ।
गत आर्थिक वर्षमा विकास बैंकहरुले कर्मचारी बोनसको लागि ९६ करोड रुपैयाँ छुट्याउँदा फाइनान्स कम्पनीहरुले १८ करोड रुपैयाँ छुट्याएका छन् । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरुले करिब ८७ करोड रुपैयाँ कर्मचारी बोनस वितरण गर्दा फाइनान्स कम्पनीले १० करोड रुपैयाँ कर्मचारी बोनस बाँडेका थिए ।
गत आर्थिक वर्षमा कर्मचारी बोनसमा सबैभन्दा धेरै नबिल बैंकले १ अर्ब १४ करोड ९५ लाख रुपैयाँ छुट्याएको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ६ करोड ७८ लाख रुपैयाँ छुट्याएको छ ।
ग्लोबल आईएमई बैंकले कर्मचारी बोनसको लागि करिब ९८ करोड रुपैयाँ छुट्याएको छ । त्यस्तै एभरेष्ट बैंकले करिब ८३ करोड रुपैयाँ कर्मचारी बोनसमा छुट्याएको छ ।
विकास बैंकमा मुक्तिनाथ विकास बैंकले करिब २५ करोड रुपैयाँ कर्मचारी बोनसमा छुट्याउँदा गरिमा विकास बैंकले २१ लाख रुपैयाँ छुट्याएको छ ।
त्यस्तै फाइनान्स कम्पनीमा आईसीएफसीले साढे ५ करोड र मञ्जुश्री फाइनान्सले ५ करोड रुपैयाँभन्दा धेरै कर्मचारी बोनसका लागि छुट्याएको छ ।













प्रतिक्रिया