
एजेन्सी । भारत अब विश्वका ठूला प्रविधि कम्पनीहरूको लागि अर्को एक ठूलो बजार मात्र रहेन ।
यो अचानक कृत्रिम बुद्धिमत्ता (एआई) नियन्त्रण गर्ने विश्वव्यापी दौडको अग्रपंक्तिमा पुगेको छ । च्याटजीपीटीको माउ कम्पनी ओपनएआईले भारतमा आफ्नो युनिट दर्ता गरेर यसै वर्ष नयाँ दिल्लीमा पहिलो अफिस खोल्ने योजनाको घोषणा गरेको छ ।
ओपनएआईका सहसंस्थापक तथा सीईओ साम अल्टम्यानका अनुसार, भारतमा एआईप्रति उत्साह र अवसरको स्तर अद्भुत छ । भारतसँग विश्वस्तरको एआई नेतृत्वका लागि आवश्यक सबै आधारहरू विद्यमान छन् । असाधारण प्राविधिक प्रतिभा, उत्कृष्ट डेभलपर इकोसिस्टम र भारत एआई मिशनमार्फत सरकारको दृढ सहयोगले भारतलाई राम्रो पोजिसनमा राखेको छ ।
“हामीले पहिलो अफिस खोलेर अनि स्थानीय टिम बनाएर भारतभरि उन्नत एआईलाई अझ सहज रूपमा उपलब्ध गराउने र भारतका लागि भारतसँगै एआई निर्माण गर्ने हाम्रो प्रतिबद्धता पूरा गर्नका लागि महत्त्वपूर्ण कदम चालेका छौं,” उनले थपे ।
ओपनएआईको यो कदम प्रतीकात्मक मात्र होइन । भारत अहिले च्याटजीपीटीको दोस्रो ठूलो बजार बनेको छ र सबैभन्दा छिटो बढ्ने बजारमध्ये एक हो । पछिल्लो वर्ष सक्रिय प्रयोगकर्ताको संख्या चौगुना भएको छ । त्यसमा विद्यार्थीको हिस्सा विश्वकै सबैभन्दा ठूलो छ । भारत ओपनएआईको प्लेटफर्ममा शीर्ष पाँच डेभलपर बजारमध्ये पर्छ ।
ओपनएआईले आफ्ना सेवाहरू भारतीय शैलीअनुसार मिलाइसकेको छ । “च्याटजीपीटी गो” नामक योजना मासिक ३९९ भारुमा उपलब्ध यूपीआई भुक्तानी प्रणालीसँग जोडिएको छ । यसले निःशुल्क संस्करणभन्दा १० गुणा बढी प्रयोग सीमा र नवीनतम जीपीटी–५ मोडेलमा पहुँच दिन्छ ।
यससँगै कम्पनीले इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयसँग मिलेर “ओपनएआई एकेडेमी” नामक एआई साक्षरता कार्यक्रम सुरु गरेको छ । जीपीटी–५ मा भारतीय भाषाको सुविधा थपिएको छ र “स्टडी मोड” विशेष गरी विद्यार्थीलाई लक्षित गरिएको छ ।
भारतका केन्द्रीय सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले भने, “भारतमा ओपनएआईको उपस्थिति हाम्रो डिजिटल नवप्रवर्तन र एआई अपनत्वमा बढ्दो नेतृत्वको प्रतिबिम्ब हो । भारत एआई मिशनमार्फत हामी विश्वासिलो र सबैलाई समेट्ने एआई इकोसिस्टम बनाउँदैछौं र यस यात्रामा ओपनएआई हाम्रो साझेदार बन्नु स्वागतयोग्य छ ।”
उद्योग विश्लेषकहरूका अनुसार, ओपनएआई भारतमा आफ्नो “रिलायन्स जियो मोमेन्ट” खोज्दैछ । जियोले सस्तो इन्टरनेटमार्फत टेलिकमलाई बदलिदिए जस्तै ओपनएआई पनि सस्तो स्थानीयकृत एआई सदस्यतामार्फत अर्बौं प्रयोगकर्ताको बजार कब्जा गर्ने दाउमा छ ।
ओपनएआईका उपाध्यक्ष निक टर्लीले सामाजिक सञ्जालमा लेखे, “हामीले भारतमा च्याटजीपीटी गो सुरु गरेका छौं । यो ३९९ भारुमा सबैभन्दा लोकप्रिय सुविधाहरूमा बढी पहुँच दिने नयाँ योजना हो ।”
भारुमा मूल्य निर्धारण, यूपीआई भुक्तानी र न्यून प्रवेश मूल्यसहित भारतलाई ओपनएआईले बजार मात्र नभई परीक्षणस्थलको रूपमा पनि लिएको छ । यहाँको सफलता अन्य विकासशील मुलुकमा मोडल विस्तार गर्ने खाका बन्न सक्छ ।
तर भारतको बजारमा प्रतिस्पर्धा चर्को छ । गुगल, माइक्रोसफ्ट र पप्र्लेक्सिटीजस्ता कम्पनीहरू पहिलेदेखि नै सक्रिय छन् ।
गुगलको “जेमिनी प्रिमियम” योजना मासिक १९ सय ५० भारुमा उपलब्ध छ । यसले जिमेल, डकुमेन्ट, मिट र एन्ड्रोइडसम्म पहुँच दिन्छ । पर्प्लेक्सिटी एआईले एयरटेलसँग साझेदारी गर्दै वार्षिक १७ हजार भारुको व्यावसायिक योजना लाखौं प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराएको छ । इलोन मस्कको एक्सआईले पनि भारतमा सुपरग्रोक मासिक ७०० भारुमा दिने गरेको छ ।
यसले मूल्यमा प्रतिस्पर्धा (प्राइस वार) जन्माएको छ । ग्रामरलीले शुल्क घटाएर मासिक २५० भारु बनाएको छ । गुगलले विद्यार्थीलाई निःशुल्क जेमिनी प्रो उपलब्ध गराएको छ । ओपनएआईको ३९९ भारु योजना विश्वका अन्य मुलुकको दरभन्दा निकै सस्तो छ ।
एआई विश्लेषक जसप्रीत बिन्द्राले भने, “अब एआई कम्पनीहरू बढी प्रयोगकर्ता (त्यसैगरी बढी डेटा) आकर्षित गर्नका लागि दौडिरहेका छन् । १ अर्ब ४० करोड जनसंख्या भएको भारत उनीहरूको स्पष्ट लक्ष्य बनेको छ ।”
यस दौडले स्वदेशी स्टार्टअपहरूलाई अस्तित्वगत चुनौती दिएको छ । कृत्रिम, सर्वम् एआई, भारतजीपीटीजस्ता कम्पनीहरूले भारतमै उपयुक्त लार्ज ल्यांग्वेज मोडल बनाउन खोजिरहेका छन् । तर, ठूला विश्वव्यापी कम्पनीहरूले शक्तिशाली, सस्ता मोडल ल्याउँदै शीर्ष प्रतिभा तान्दा धेरै भारतीय कम्पनीहरूले उनीहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नुको सट्टा सहकार्य खोज्नुपर्ने देखिन्छ ।
भारतमा एआईको उदय बजार वा प्रविधि मात्र नभई भूराजनीतिक परिणाम पनि हो । चीनले एआईमा नियन्त्रण कडा पार्दा र अमेरिका त्यसप्रति सतर्क हुँदा भारत खुला र लोकतान्त्रिक विकल्पको रूपमा अघि आएको छ ।
भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको सम्बोधनमा भनेकी थिइन्, “सन् २०४७ सम्म भारतलाई विश्वको एआई हब बनाउन चाहन्छौं ।” भारत एआई मिशनमार्फत देशको आवश्यकताअनुसार समावेशी मोडेल बनाउन सरकार अघि बढेको छ ।
भारतमा एआईप्रतिको यो आकर्षण जनसांख्यिकी, पूर्वाधार र सही समयको संयोजनको परिणाम हो । विश्वकै ठूलो युवा जनसंख्या, बढ्दो डेभलपर समुदाय र मूल्य–संवेदनशील तर डिजिटल–सजग बजारका कारण भारत आज एआई विस्तारको परीक्षणस्थल बनेको छ ।
उपभोक्ताका लागि यो प्रतिस्पर्धाले बढी विकल्प, सस्तो मूल्य र छिटो प्रविधि ल्याउनेछ । कम्पनीहरूको दृष्टिमा भारत अब परिधि रहेन । एआई अपनत्वको भविष्य दिल्ली, हैदराबाद र बेंगलुरुमा तय हुनेछ ।







प्रतिक्रिया