नियो बैंकः नेपालको बैंकिङ क्षेत्रमा नवीन पहल, विश्वव्यापी सफल मोडल र नेपालका लागि विकल्पहरू

1.5k
Shares

आजको दिनमा परम्परागत बैंकहरूले भौतिक शाखा सञ्जाल, ग्राहक सेवा केन्द्र, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र कार्ड मार्फत २४ सै घण्टा सेवा प्रदान गरिरहेका छन् । यी सबै प्रयासहरुले नेपालको वित्तीय प्रणालीलाई डिजिटल र प्रविधिमैत्री बनाउन टेवा पुर्‍याइरहेका छ, तर अझै पनि सर्वसाधारणको पहुँचमा केही कमी र चुनौतीहरु देखिन्छन् ।

भौतिक रुपमा सञ्चालनमा रहेका शाखाहरुको उच्च सञ्चालन लागत, विस्तारित बैंकिङ्ग प्रणालीको आर्थिक भार, प्रविधिसँगै आएको सुरक्षा चुनौति र झन्झटिलो कागजी प्रक्रियाहरु वित्तीय सेवाको सहज पहुँचमा अड्चनको रुपमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात र व्यवसाय सञ्चालन खर्च बर्सेनी बढ्दै गएको छ । जसले गर्दा चलिरहेको वित्तीय सेवा सञ्चालनमा देखा परेका समस्याहरुको न्यूनीकरण गर्दै नवीन प्रविधि युक्त प्रभावकारी बैंकिङ प्रणालिको परिकल्पना गर्नुपर्ने स्थिति देखा परेको छ ।

यिनै आवश्यकतालाई सम्बोधन गर्न र समग्र बैंकिङ इकोसिस्टमलाई थप सुदृढ बनाउन ‘नियो बैंक’ को अवधारणा विश्वव्यापी रूपमा स्थापित हुँदै आएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत यस डिजिटल बैंकिङको लागि कानुनी र प्रक्रियागत आधारशिला तयार पार्ने घोषणा गरेसँगै, नेपाली वित्तीय परिदृश्यमा पनि एक आमुल परिवर्तनको अपेक्षा गरिएको छ, जसले वित्तीय सेवालाई अझ सहज, सुलभ र ग्राहक–केन्द्रित बनाउने सामथ्र्य राख्दछ ।

नियो बैंकहरू पूर्णतः डिजिटल प्रविधी एवम् प्रकृयामा आधारित वित्तीय संस्थाहरूका रूपमा परिभाषित छन्, जसको भौतिक शाखा सञ्चालनमा रहँदैनन । नियो बैंकहरूले प्रविधिको अधिकतम उपयोग गरी सञ्चालन प्रक्रियालाई सुव्यवस्थित गर्दछन् र लागत घटाउँछन् । उनीहरूले ग्राहकको आवश्यकतामा केन्द्रित भई सहज एवं प्रयोगकर्ता–मैत्री डिजिटल बैंकिङ अनुभव प्रदान गर्दछन्, जसमा व्यक्तिगत वित्तीय व्यवस्थापनका उपकरणहरू पनि समावेश हुन्छन् ।

यिनीहरूले मोबाइल एप्लिकेसन वा अनलाइन प्लेटफर्ममार्फत बैंकिङ सेवाहरू प्रदान गर्दछन्, जसले परम्परागत बैंकिङ मोडेलमा प्रभावकारी परिवर्तन ल्याउन सक्छ । परम्परागत बैंकहरूको तुलनामा नियो बैंकहरूको सञ्चालन लागत उल्लेखनीय रूपमा न्यून हुन्छ । आम्दानीको ठूलो हिस्सा भौतिक शाखा विस्तार, जनशत्ति व्यवस्थापन र पूर्वाधार मर्मतसम्भारमा खर्च गर्नु पर्दैन । जसले गर्दा उपभोक्ताहरूका लागि आकर्षक विकल्प प्रस्तुत गर्दै न्यून सेवा शुल्कमा वित्तीय सेवा र निक्षेपकर्ताहरुलाई आर्कषक ब्याज प्रदान गर्न सम्भव हुन्छ ।

विश्वव्यापी वित्तीय परिदृश्यमा नियो बैंकहरूको प्रभाव निरन्तर बढ्दो क्रममा छ । विश्वभरि, विशेष गरी मिलेनियल्य/जेन जी जस्ता डिजिटल–नेटिभ पुस्ताहरूमाझ नियो बैंकहरूको लोकप्रियता उत्तरोत्तर वृद्धि भइरहेको छ । उनीहरूले परम्परागत बैंकिङ उद्योगलाई चुनौती दिँदै डिजिटल सुविधा र दक्षताका नवीन मापदण्डहरू स्थापित गरिरहेका छन् ।

यो तीव्र विकासले परम्परागत बैंकहरूलाई आफ्नो डिजिटल क्षमताहरूमा लगानी गर्न र ग्राहक अनुभवमा सुधार ल्याउन दबाब सिर्जना गरिरहेको छ । यसले समग्र बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा र नवप्रवर्तनलाई बढावा दिने वातावरणको सिर्जना गरेको छ ।

नेपालमा डिजिटल बैंकिङको वर्तमान अवस्था र नियो बैंकको आवश्यकता

नेपालले डिजिटल भुक्तानी प्रणालीमा उल्लेखनीय प्रगति हासिल गरेको छ । राष्ट्रिय भुक्तानी स्वीचलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार र संस्थागत संरचना तयार पारिएको छ । यसले डिजिटल भुक्तानीलाई थप सहज र सुरक्षित बनाउने आधार प्रदान गरेको छ । तथापि, पूर्ण डिजिटल बैंकिङको दिशामा अझै केही अवरोधहरू विद्यमान छन् ।

वित्तीय सेवामा नागरिकको गुणस्तरीय पहुँच अभिवृद्धि गर्न र वित्तीय प्रणालीलाई स्वस्थ तथा सबल बनाउन नीतिगत, संरचनागत र कार्यगत सुधार अपरिहार्य देखिएको छ । नियो बैंकले यस उद्देश्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छन्, विशेष गरी वित्तीय पहुँचबाट वञ्चित वा न्यून पहुँच भएका वर्गहरूलाई समेट्न । दुर्गम क्षेत्रका ग्राहकहरू र बैंकिङ पहुँचबाट वञ्चित वर्गहरूलाई वित्तीय सेवामा जोड्न नियो बैंकहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । उनीहरूले भौगोलिक दूरीको बाधालाई हटाएर मोबाइल र इन्टरनेट पहुँच भएका जुनसुकै स्थानबाट पनि सेवा प्रदान गर्न सक्छन् । परम्परागत बैंकहरूका लागि दुर्गम क्षेत्रमा शाखा खोल्नु र सञ्चालन गर्नु खर्चिलोे भईरहेको अवश्थामा नियो बैंकहरूले कम सञ्चालन लागतमा सेवा प्रदान गर्न सक्छन् ।

नेपालमा हालको ‘डिजिटल’ बैंकिङ प्रक्रियामा अझै पनि भौतिक हस्ताक्षर, परिचयपत्रको प्रमाणपत्र, र अन्य परम्परागत आवश्यकताहरू विद्यमान छन् । खाता खोल्नका लागि भिडियो कलमा नागरिकता देखाउने, खाली कागजमा हस्ताक्षर गर्ने र औंठाछाप लगाउने जस्ता प्रक्रियाहरू पूर्णतया डिजिटल मानिँदैन ।

भारतमा सोही कार्य गर्न आधार कार्ड मार्फत सोको प्रमाणिकरण गरी तत्काल खाता खोल्ने जस्ता प्रणालीहरूबाट नेपालले धेरै कुरा सिक्न सक्दछ । यदि नेपालले पूर्ण डिजिटल केवाईसी र रिमोट अनबोर्डिङ लागु गर्न सकेमा नियो बैंकहरूको विकासलाई मात्र नभई, समग्र अर्थतन्त्रको समावेशीकरण गर्दै डिजिटल प्रणालीमा रुपान्तरण गर्न सम्भव हुन्छ ।

नेपालमा नियो बैंकको लागि नीतिगत र प्रक्रियागत आधार

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले नेपालको वित्तीय क्षेत्रमा डिजिटल रूपान्तरणका लागि नियामकको प्रतिबद्धताको एक महत्त्वपूर्ण संकेत प्रदान गरेको छ । मौद्रिकन नीतिमा ‘वित्तीय पहुँच विस्तार गर्न नियो बैंक स्थापनाका लागि कानूनी र प्रक्रियागत व्यवस्था अघि बढाइनेछ’ भनी स्पष्ट रूपमा उल्लेख गरिएको छ । यो डिजिटल वित्तीय नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र वित्तीय क्षेत्रलाई आधुनिकीकरण गर्ने प्रतिबद्धताको महत्त्वपूर्ण सूचक हो । यो प्रावधानले नेपालमा पूर्ण डिजिटल बैंकहरूको स्थापनाका लागि मार्ग प्रशस्त गर्दछ, जसले वित्तीय सेवाको विस्तारमा परिवर्तन ल्याउन सक्दछ ।

डिजिटल वित्तीय सेवाहरूलाई प्रवद्र्धन गर्न नियामक स्यान्डबक्सको अवधारणा लागू गर्ने योजना बनाइएको छ । यसले फिनटेक कम्पनीहरूलाई नियामकको सुपरिवेक्षणमा निश्चित समय र मापदण्डभित्र नवीन उत्पादनहरू परीक्षण गर्न अनुमति दिन्छ । यसका लागि गाइडलाइन्स अन द रेगुलेटरी स्यान्डबस्कको मस्यौदा जारी गरी सरोकारवालाहरूबाट सुझाव समेत आह्वान गरिएको छ ।

यो स्यान्डबक्सले ग्राहक पहिचान, भुक्तानी सेवा, र द्रुत आवेदन प्रक्रिया जस्ता क्षेत्रमा नवीन सेवा र प्रविधिहरू परीक्षण गर्न मार्ग प्रशस्त गर्दछ । यसमा डिजिटल मुद्रा, क्रिप्टोकरेन्सी, र केन्द्रीय बैंकको डिजिटल मुद्रा (सीबीडीसी) जस्ता उत्पादनहरू समावेश हुन सक्छन् ।

मौद्रिक नीतिले नियो बैंकको स्थापनालाई प्रत्यक्ष समर्थन गर्ने केही अन्य नीतिगत पहलहरूलाई पनि अगाडि बढाएको छ । यसमा बैंकिङ तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने वित्तीय नवप्रवर्तकहरूलाई नीतिगत एवम् नियामकीय व्यवस्थाको जानकारी तथा नियामकीय पहुँच विस्तार गर्ने उद्देश्यले सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता हुने गरी डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरिएको उल्लेख छ ।

यो हबले ज्ञान–साझेदारी र सहकार्यका लागि मञ्च प्रदान गर्दछ । साथसाथै, बैंकिङ तथा वित्तीय संस्थाहरूको विद्यमान शाखा विस्तार नीतिमा पुनरावलोकन गरिने नीतिले बैंकहरूलाई भौतिक शाखामा भन्दा डिजिटल प्लेटफर्ममा लगानी गर्न प्रोत्साहन गर्नेछ, जसले नियो बैंक मोडेलको लागि बजारको तयारीलाई बढावा दिन्छ ।

विश्वव्यापी नियो बैंकको परिदृश्यः सफलताका कथाहरू र व्यापारिक मोडेलहरू

ग्राहक–केन्द्रितता र नवीन सेवाहरू नियो बैंकहरूको सफलताको मूल आधार हो, जसले परम्परागत बैंकिङको तुलनामा स्पष्ट भिन्नता प्रदान गर्दछ । सफल नियो बैंकहरूले सहज, प्रयोगकर्ता–मैत्री मोबाइल एप र अनलाइन प्लेटफर्महरू मार्फत उत्कृष्ट प्रयोगकर्ता अनुभव प्रदान गर्छन् । तल उल्लेखील मोडेलहरूले उनीहरूलाई कसरी आम्दानी प्राप्त गर्छन् र परम्परागत बैंकहरूभन्दा कसरी फरक छन् भन्ने कुरा स्पष्ट पार्छ ।

इन्टरचेन्ज लेडः यस मोडलमा सञ्चालन हुने डिजिटल बैंक तथा फिनटेकहरूले ग्राहकलाई आफ्नै ब्रान्डको भिसा वा मास्टरकार्ड प्रदान गर्छन् । ग्राहकहरूले उक्त कार्ड प्रयोग गरी व्यापारीकृत भुक्तानी गर्दा व्यापारीको बैंकले कार्ड नेटवर्कमार्फत (जस्तै: भिसा) कार्ड जारी गर्ने संस्थालाई निश्चित प्रतिशतको इन्टरचेन्ज फि तिर्नु पर्छ । यही शुल्क नै नियो बैंकको मुख्य आम्दानीको स्रोत हो । अमेरिकाको चाइम र ब्राजिलको नियोनले आफ्ना साझेदार बैंकमार्फत भिसा कार्ड जारी गरी ग्राहकलाई निःशुल्क सेवा प्रदान गर्छन् र कार्ड कारोबारको मात्रा बढाएर इन्टरचेन्ज शुल्कबाट आय आर्जन गर्छन् ।

क्रेडिट लेडः यस मोडेलमा, नियो बैंकहरूले क्रेडिट कार्ड र ऋणमा लाग्ने ब्याज र शुल्कबाट आम्दानी प्राप्त गर्छन् । ब्राजिलियन नियो बैंक नुबैंक यसको एक प्रमुख उदाहरण हो, जसले क्रेडिटलाई आफ्नो आम्दानी आधार बनाएको छ । यी संस्थाहरूको ग्राहकलाई न्यून वा शून्य खाता–शुल्क हुन्छ र डिजिटल अनुभवमार्फत धेरै ग्राहक आकर्षित गरेपछि ठूलो मात्रामा व्यक्तिगत कर्जा प्रवाह गरेर ब्याज आम्दानीबाट नगद प्राप्ति गर्छन । त्यस्तै, सोफी नियो बैंकले ऋण, क्रेडिट कार्ड, लगानी र वित्तीय योजनाहरू प्रदान गरी युवा जनमानशहरूलाई लक्षित गरेको छ ।

एसेट लेडः यी नियो बैंकहरूले आफ्ना निक्षेप तथा पुँजीलाई ठूलो परिमाणमा लगानीयोग्य सम्पत्तिहरू—जस्तै ऋणपत्र, सावधिक निक्षेप, वा अन्य वित्तीय साधनमा विनियोजन गर्छन् । यस मोडलको प्रमुख आम्दानी स्रोत ती सम्पत्तिबाट प्राप्त ब्याज, लाभांश, वा पुँजी वृद्धिबाट हुने प्रतिफल हो । गोल्डम्यान स्याच्सको मार्कस ब्रान्डले ग्राहक निक्षेपलाई विभिन्न सुरक्षित ऋणपत्र र दीर्घकालीन लगानीमा प्रयोग गर्दै स्थिर ब्याज आम्दानी आर्जन गरेको छ । त्यस्तै, भेरो जस्ता डिजिटल बैंकहरूले पनि क्रेडिट–सुविधा नदिई प्राप्त निक्षेप रकमलाई सरकारी वा निजी ऋणपत्र, सावधिक निक्षेप, र अन्य प्रतिफल दिने सम्पत्तिमा लगानी गरी आय सिर्जना गर्ने रणनीति अपनाएका छन् ।

इकोसिस्टम लेडः यस मोडलमा सञ्चालन हुने बैंकहरूले एपीआई प्रविधिको प्रयोग गरी विभिन्न वित्तीय तथा गैर–वित्तीय सेवाहरूलाई एउटै प्लेटफर्ममा एकीकृत गर्छन् । यसले ग्राहकलाई बैंकिङ सेवा मात्र होइन, विदेशी मुद्रा विनिमय, बीमा, खरिद–बिक्री भुक्तानी, लगानी व्यवस्थापन, तथा यात्रा, मनोरञ्जन जस्ता विविध सेवा एउटै एपमार्फत उपयोग गर्न सक्षम बनाउँछ । उदाहरणका लागि, रिभोल्टले विदेशी मुद्रा विनिमय, क्रिप्टो ट्रेडिङ, स्टक–इक्विटी लगानी, बीमा, तथा यात्रा भुक्तानी सेवा एउटै डिजिटल प्लेटफर्ममा उपलब्ध गराई प्रयोगकर्तालाई सम्पूर्ण वित्तीय आवश्यकताका लागि ‘एक–द्वार समाधान’ प्रदान गरेको छ ।

प्रोडक्ट एक्सटेन्सन्सः यो मोडलमा डिजिटल बैंकहरूले ग्राहकलाई लगानी तथा सम्पत्ति–व्यवस्थापन सम्बन्धी सेवा उपलब्ध गराउँछन्, जसमा सेयर, ऋणपत्र, म्युचुअल फन्ड, तथा अन्य वित्तीय उपकरणहरूमा पहुँच मिलाइन्छ । यस्तो मोडलमा, प्लेटफर्मले ग्राहकको सम्पत्ति वृद्धि र वित्तीय लक्ष्य प्राप्तिमा सहजीकरण गर्ने उद्देश्य राख्छ । रोबिनहुड गोल्डले प्रयोगकर्तालाई विशेष अनुसन्धान प्रतिवेदन मार्फत वित्तीय विश्लेषण, तथा मार्जिन ट्रेडिङ सुविधा प्रदान गरी सक्रिय लगानीकर्तालाई आकर्षित गर्छ । त्यसैगरी, एकर्नस् जस्ता फिनटेकहरूले दैनिक खरिदबाट बचत भएको रकमलाई स्वतः लगानी गर्ने सुविधा, दीर्घकालीन सम्पत्ति निर्माणको लागि विविध लगानी पोर्टफोलियो, तथा स्वतः आवधिक योगदान जस्ता सुविधा उपलब्ध गराउँछन् ।

नेपालका लागि सम्भावित व्यापारिक मोडेलहरू

विप्रेषण–आधारित मोडेल (रेमिट्यान्स बेस्ड मोडल): यो मोडेलले विदेशमा रहेका नेपाली श्रमिकहरू र नेपालमा रहेका उनीहरूका परिवारलाई लक्षित गर्दछ । जस अन्र्तगत बैंकले विदेशबाट पठाइएको विप्रेषणलाई सीधै ग्राहकको डिजिटल खातामा जम्मा गर्ने सुविधा प्रदान गर्दछ । यसमा परम्परागत माध्यमभन्दा कम शुल्क र छिटो प्रक्रियाको व्यवस्था हुन्छ । ग्राहकहरूले मोबाइल एपमार्फत तत्काल पैसा प्राप्त गर्न, स्थानीय भुक्तानी प्रणाली (जस्तैः मोबाइल वालेट, क्यूआर कोड) मार्फत खर्च गर्न, र परिवारका सदस्यहरूलाई सजिलै पैसा पठाउन सक्छन् । विप्रेषण इतिहासलाई आधार मानी ग्राहकहरूलाई माइक्रो–क्रेडिट, बचत योजना, वा बीमा जस्ता वित्तीय उत्पादनहरूमा पहुँच प्रदान गर्न सकिन्छ । यसले विप्रेषणको औपचारिक च्यानललाई प्रोत्साहन गर्छ र वित्तीय प्रणालीमा थप पैसा ल्याउन पनि मद्दत गर्छ ।

लघु–कर्जा/साना तथा मझौला उद्यम केन्द्रित मोडेल (माइक्रो लेन्डिङ / एसएमई फोकस्ड मोडल): यो मोडेलले साना व्यवसाय, किसान, पटके कामदार (न्ष्न ध्यचपभचक) र अनौपचारिक क्षेत्रका उद्यमीहरूलाई लक्षित गर्दछ । नियो बैंकले डिजिटल केवाईसी र ग्राहकसँग सम्बन्धित वैकल्पिक डेटा (जस्तैः मोबाइल बैंकिङ्ग मार्फत लेनदेन इतिहास, बिल भुक्तानी) को प्रयोग गरी क्रेडिट स्कोरिङ गर्दछ । यसले परम्परागत बैंकहरूले ऋण दिन हिचकिचाउने वर्गलाई पनि छिटो र लचिलो सर्तमा सानो कर्जा उपलब्ध गराउँछ । स्थानीय सहकारी वा सामुदायिक समूहहरूसँगको साझेदारीले ग्राहकहरूसम्म पुग्न र ऋण असुलीमा सहयोग पुर्‍याउन सक्छ । नेपालमा साना तथा मझौला उद्यम र कृषि क्षेत्रमा कर्जाको उच्च माग छ, तर परम्परागत प्रक्रिया जटिल छ । यो क्षेत्र वित्तीय पहुँचबाट वञ्चित छ, जसलाई नियो बैंकले कम लागतमा सेवा प्रदान गर्न सक्छ ।

युवा/डिजिटल–नेटिभ केन्द्रित वित्तीय व्यवस्थापन मोडेल (युथ/डिजिटल नेटिभ फोकस्ड फाइनान्सियल म्यानेजमेन्ट मोडल): यो मोडेल विशेष गरी प्रविधि–मैत्री युवा पुस्ता (मिलेनियल्स / जेन जी) लाई लक्षित गर्दछ, जो सहज बचत र लगानीका विकल्पहरू खोजिरहेका छन् । नियो बैंकले प्रयोगकर्ता–मैत्री मोबाइल एपमार्फत बजेटिङ उपकरण, स्वचालित बचत सुविधा (जस्तैः खर्चको बाँकी पैसा स्वतः बचत गर्ने), र म्युचुअल फन्ड वा माइक्रो–लगानीमा सहज पहुँच प्रदान गर्दछ । यसले युवाहरूलाई वित्तीय साक्षरता र लगानीका आधारभूत कुराहरू सिकाउन पनि मद्दत गर्छ । नेपालमा बढ्दो डिजिटल साक्षरता र स्मार्टफोनको प्रयोगले यो वर्गलाई लक्षित गर्न ठूलो अवसर प्रदान गर्दछ । युवा पुस्ता परम्परागत बैंकिङभन्दा नवीन र सुविधाजनक वित्तीय उपकरणहरूमा बढी आकर्षित हुन्छन् ।

परम्परागत बैंक र नियो बैंक बिच भित्रता एवम् सहकार्यको आवश्यकता

विशेषतापरम्परागत बैंकिङनियो बैंकिङ
भौतिक उपस्थितिशाखा–आधारित, व्यापक भौतिक सञ्जालडिजिटल–मात्र, कुनै भौतिक शाखा नहुने
सञ्चालन लागतउच्च ओभरहेड (भाडा, कर्मचारी, पूर्वाधार)कम ओभरहेड (भौतिक शाखाको अभाव)
सेवाको दायराविस्तृत सेवा (धितो कर्जा, व्यक्तिगत/व्यवसायिक ऋण, बचत, आदि)प्रायः आधारभूत सेवाहरूमा केन्द्रित (चेक खाता, बचत, भुक्तानी)
ग्राहक अनुभवपरम्परागत, कागजी प्रक्रियामा आधारित, भौतिक अन्तरक्रियामा जोडग्राहक–केन्द्रित, सहज मोबाइल/अनलाइन अनुभव, व्यक्तिगतकरण
केवाईसी प्रक्रियाभौतिक उपस्थिति र कागजी प्रक्रिया आवश्यकपूर्ण डिजिटल केवाईसी, रिमोट अनबोर्डिङ
जोखिम व्यवस्थापनविकसीत प्रणाली, एनपीएलको चुनौतीप्रविधि–संचालित जोखिम व्यवस्थापन (एआई/एमएल), ठगी पत्ता लगाउने सकिने
नियामक ढाँचास्थापित, तर डिजिटल नवप्रवर्तनका लागि अनुकूलन आवश्यकविकासोन्मुख, नियामक स्यान्डबक्स र नयाँ प्रावधानहरू
वित्तीय समावेशीकरणमा भूमिकासीमित भौगोलिक पहुँच, प्रक्रियागत जटिलतावित्तीय पहुँच विस्तारमा उच्च सम्भावना, दुर्गम क्षेत्रमा पनि पहुँच

परम्परागत बैंकहरूसँगको साझेदारीले नियो बैंकहरूलाई नियामक बोझबाट राहत दिन्छ र ग्राहकहरूलाई सुरक्षाको भावना प्रदान गर्छ, जसले उनीहरूको बजार स्वीकार्यता बढाउँछ । यो सहकार्यले परम्परागत बैंकहरूलाई पनि नवप्रवर्तनको नजिक ल्याउँछ र उनीहरूलाई डिजिटल समाधानहरू अपनाउन प्रोत्साहित गर्छ । यसले वित्तीय इकोसिस्टममा सहकार्य र प्रतिस्पर्धाको गतिशील सन्तुलन सिर्जना गर्दछ । परम्परागत बैंकहरूले आफ्नो विश्वसनीयता र ग्राहक आधार कायम राख्दै नियो बैंकहरूसँगको सहकार्यबाट नयाँ प्रविधि र ग्राहक अनुभवमा सुधार ल्याउन सक्छन् । अमेरिकामा नियो बैंकहरूले आफ्ना ग्राहकहरूको निक्षेप सुरक्षा र नियामक अनुगमन पूरा गर्न परम्परागत बैंकहरूसँग सहकार्य गर्न अनिवार्य हुन्छ । नियो बैंकले आफ्ना खातामा राखिएका रकमलाई सिधै एफडीआईसी (फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन) जस्ता निक्षेप बीमा संस्थाबाट संरक्षण दिन सक्दैनन् । त्यसैले, उनीहरूले आफ्नो सेवा सुरक्षित र विश्वसनीय बनाउन परम्परागत बैंकहरूसँग साझेदारी गरी आफ्नो निक्षेप बीमाको व्यवस्था गर्छन् ।

नेपालमा नियो बैंकको सफल कार्यान्वयनका लागि सुझावहरू

नेपालमा नियो बैंकहरूको सफल कार्यान्वयनका लागि स्पष्ट र प्रगतिशील नियामक ढाँचाको विकास अपरिहार्य छ । नियामक निकायले नियो बैंकहरूका लागि परम्परागत बैंकहरूभन्दा फरक, जोखिम–आधारित र प्रविधि–मैत्री इजाजतपत्र र सञ्चालन मापदण्डहरू विकास गर्नुपर्छ । यसले नवप्रवर्तनलाई प्रोत्साहन गर्छ तर प्रणालीगत जोखिमलाई पनि नियन्त्रणमा राख्छ । नियामकले नियो बैंकहरूको जोखिम प्रोफाइललाई ध्यानमा राखेर जोखिम–आधारित सुपरिवेक्षण प्रणाली लागू गर्नुपर्छ । नियामक निकायले नियो बैंकहरूका लागि उचित एएमएल/सीएफटी नियमहरू लागू गर्नुपर्छ र डिजिटल केवाईसी प्रक्रियाहरूलाई सुरक्षित र प्रभावकारी बनाउने गरी निर्देशनहरु ल्याउनु पर्छ ।

नियो बैंकहरूको सफल सञ्चालनका लागि बलियो र व्यापक डिजिटल पूर्वाधार एक पूर्वसर्त हो । नेपालले राष्ट्रिय डिजिटल परिचयपत्र प्रणालीलाई सुदृढ गर्दै पूर्ण ई–केवाईसी र बायोमेट्रिक प्रमाणीकरण प्रणाली लागू गर्नुपर्छ, जसले ग्राहक अनबोर्डिङलाई तत्काल र सहज बनाउँछ । यसले ग्राहक पहुँच र परिचालन दक्षतालाई प्रत्यक्ष रूपमा बढाउँछ । फिनटेक कम्पनीहरूका लागि क्रेडिट स्कोरिङमा एपीआई पहुँच आवश्यक छ । भारतको रेजरपेएक्स वा जुपिटल जस्ता फिनटेक कम्पनीहरूले प्रमाणित डाटामा एपीआई मार्फत पहुँच गरी अनुकूलित वित्तीय उत्पादनहरू जस्तै व्यक्तिगत कर्जा, बीएनपीएल, माइक्रो–क्रेडिट प्रदान गर्न सक्छन् । नेपालमा पनि यस्तो पहुँच आवश्यक छ जसले नवप्रवर्तनलाई प्रोत्साहन गर्छ र ग्राहकहरूलाई विविध वित्तीय उत्पादनहरूमा पहुँच प्रदान गर्छ ।

ग्राहकको विश्वास र डिजिटल साक्षरता नियो बैंकहरूको लागि बजार स्वीकार्यता र दिगो ग्राहक आधार निर्माण गर्न महत्त्वपूर्ण हुन्छ । नियो बैंकको अवधारणा नयाँ भएकाले, यसका फाइदाहरू र सुरक्षा तथा विश्वसनीय कारोबारका बारे व्यापक जनचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । विशेष गरी ग्रामीण र कम डिजिटल साक्षरता भएका वर्गहरूमा डिजिटल वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ, जसले उनीहरूलाई डिजिटल बैंकिङ सेवाहरू सुरक्षित रूपमा प्रयोग गर्न सक्षम बनाउँछ । जनचेतना र साक्षरता कार्यक्रमहरूले डिजिटल बैंकिङप्रतिको संशय घटाउँछ, जसले गर्दा बढी मानिसहरूले नियो बैंक सेवाहरू अपनाउँछन् । वित्तीय साक्षरताले वित्तीय समावेशीकरणलाई मात्र होइन, ग्राहकहरूलाई वित्तीय निर्णयहरूमा बढी सशक्त बनाउँछ, जसले समग्र वित्तीय प्रणालीको स्वास्थ्यमा सुधार ल्याउँछ ।

नियो बैंकहरूको दिगोपन र ग्राहक विश्वासका लागि बलियो जोखिम व्यवस्थापन र साइबर सुरक्षा अपरिहार्य छ । नियो बैंकहरूले डेटा सुरक्षा र ठगी रोकथामका लागि अत्याधुनिक साइबर सुरक्षा प्रणालीहरूमा लगानी गर्नुपर्छ । नियो बैंकहरूले ठगी रिङ र मनी मल गतिविधिहरू पत्ता लगाउन र रोकथाम गर्नका लागि प्रभावकारी संयन्त्रहरू विकास गर्नुपर्छ । उन्नत सुरक्षा उपायहरूले ग्राहकको डाटा र कोषको सुरक्षा सुनिश्चित गर्छ, जसले ग्राहकको विश्वासलाई बढाउँछ र नियामक जरिवानाबाट बचाउँछ । नियामक निकाय, नियो बैंकहरू, र साइबर सुरक्षा विशेषज्ञहरूबीचको सहकार्यलाई बढावा दिनुपर्छ ताकि वित्तीय प्रणालीको समग्र सुरक्षालाई सुदृढ गर्न सकियोस् ।

विश्वव्यापी अनुभवबाट सिक्नु नेपालमा नियो बैंकहरूको लागि जोखिम कम गर्न र सफलताको सम्भावना बढाउन महत्त्वपूर्ण हुन्छ। नेपालले विश्वव्यापी सफल नियो बैंकहरूका व्यापारिक मोडेल र सफलताका कारकहरू (जस्तैः चाइम, रिभोल्ट, नुबैंक) बाट सिक्नुपर्छ । सफल मोडेलहरूले नेपालमा अनुकूलित समाधानहरूको लागि प्रेरणा प्रदान गर्छन् । ओपन बैंकिङ, एम्बेडेड फाइनान्स, र केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) जस्ता विश्वव्यापी प्रवृत्तिहरूको अध्ययन गरी नेपालको सन्दर्भमा तिनीहरूको सम्भाव्यताको मूल्याङ्कन गर्नुपर्छ । अन्तर्राष्ट्रिय असल अभ्यासहरूको आत्मसात्ले नेपालको वित्तीय क्षेत्रलाई विश्वव्यापी मापदण्डहरूसँग पङ्क्तिबद्ध गर्न मद्दत गर्छ, जसले यसको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता बढाउँछ ।

छोटकरी
एआईः आर्टिफिसियल इन्टिलिजेन्स
एएमएलः एन्टीमनि लन्डरिङ
एपीआईः एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस
सीबीडीसीः सेन्ट्रल बैंक डिजिटल करेन्सी
एफडीआईसीः फेडेरल बैंक इन्स्योरेन्स कर्पोरेसन
केवाईसीः नो योर कस्टमर
मिलिनियल्स/
जेन वाईः सन् १९८१ देखि १९९६ को अवधिमा जन्मिएकाहरु
जेन जीः सन् १९९७ देखि २०१२ को अवधिमा जन्मिएकाहरु

(लेखक शाही देशको एक वाणिज्य बैंकका बिजनेस प्रोसेस रिइन्जिनियरिङ प्रमुख हुन् ।)