हबिब बैंक र नेशनल लाइफबीच हिमालयन बैंकको सेयर किनबेचको सम्झौता

1.1k
Shares

काठमाडौं । हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर खरिद गर्न नेशनल लाइफ इन्स्योरेन्सले पाकिस्तानकाे हबिब बैंकसँग सम्झौता गरेको छ । नेशनल लाइफले गत २९ साउन बिहिबार हबिबको सेयर खरिद गर्नका लागि बैंकसँग सम्झौता गरेको हो ।

‘सीमाभन्दा बढी नभएकाले बिमा प्राधिकरणबाट स्वीकृति लिनुपर्ने थिएन । तथापि, प्राधिकरणबाट यसअघि नै यसको स्वीकृति लिइसकेको छ,’ स्रोतले भन्यो, ‘यसपछि, गत साता दुई पक्षबीच सम्झौता भएको हो ।’

इन्स्योरेन्सले प्रतिकित्ता ११८ रुपैयाँ ८० दरमा सेयर खरिद गर्ने सम्झौता भएको छ । हबिबले सेयर बिक्री गर्न हिमालयन बै‌कमा दिएकाे निवेदनका आधारमा बै‌कले संस्थापक लगानीकर्ताहरूलाइ आवेदन आह्वान गरेकाेमा नेशनल लाइफसँगै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र बैंक लगानीकर्तामध्येका रामप्रसाद आचार्य र अर्का एक जना महिलाले पनि आवेदन दिएका थिए ।

हिमालयन बैंकमा रहेको हबिबको सेयर बिक्री गर्न प्रकाशित सूचनाको शर्त पूरा हुनेगरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै आवेदन दिएको थियो ।

हिमालयन बैंकमा रहेको कुल २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर प्रतिकित्ता ११२.८० रुपैयाँको दरले एकमुष्ट बिक्रीको लागि हबिबले निवेदन दिएको थियो । सोहीअनुसार बैंकले गत जेठ ३० गते एकमुष्ट किनबेच हुने गरी संस्थापक सेयरधनीलाई सूचना निकालेको थियो ।

सोही निवेदनको आधारमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८१ को निर्देशन नं १० बमोजिम बैंकको हाल कायम सेयरधनीलाई सेयर खरिदको लागि आह्वान गरिएको थियो । सो आधारमा २ करोड ८० लाख कित्ता सेयर नै खरिद गर्न इच्छुक र क्षमता भएका लगानीकर्ताले मात्रै आवेदन दिनुपर्ने थियो । बैंकका बहालवाला लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने थियो ।

सोही आह्वानका आधारमा बहालवाला ४ संस्थापक सेयरधनीले उक्त सेयर खरिदको लागि आवेदन दिएका हुन् । जसमध्ये सूचना अनुसारको शर्त पूरा गर्नेगरी नेशनल लाइफ इन्स्योरेन्सले मात्र आवेदन दिएको थियो । न्युनतम प्रतिकित्ता ११२‍ रुपैयाँ ८० पैसामा आवेदन दिनुपर्नेमा नेशनल लाइफले प्रतिकित्ता ११८ रुपैयाँ ८० पैसामा सेयर खरिद गर्न बाेलपत्र पेश गरेकाे थियाे । हबिबले उक्त प्रस्ताव स्वीकार गरेसँगै नेशनल लाइफ र हबिबबीच सेयर खरिद बिक्रि सम्झौता भएको हो ।

बैंकमा पाकिस्तानको हबिबको १२.९३ प्रतिशत सेयर हिस्सा छ । हिमालयन बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ । हबिबले बेच्न चाहेको न्यूनतम मूल्यभन्दा बढीमा नेशनल लाइफले आवेदन हालेको थियो ।

हिमालयन बैंकको सेयर किन्ने सबैभन्दा ठूलो आकांक्षी हिमालयन रि–इन्स्योरेन्स कम्पनी थियो । हिमालयन रिले उक्त सेयर खरिद गर्ने सहमतिसहित राष्ट्र बैंकमा डेढ वर्षअघि नै आवेदन दिएको भए पनि राष्ट्र बैंकले त्यतिबेला सहमति नदिँदा सेयर बेच्ने प्रक्रिया रोकिएको थियो ।

२०८० मंसिरमा नै पाकिस्तानको हबिब बैंक र हिमालयन रि इन्स्योरेन्सबीच सेयर खरिदबिक्रीको सम्झौता भएको थियो । हिमालयन बैंक र हिमालयन रि इन्स्योरेन्सको सञ्चालक समितिले उक्त सम्झौतालाई स्वीकृति दिँदै किनबेचका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिएका थिए ।

नेपाल राष्ट्र बैंकले ३ वटा कारणसहित त्यतिबेला उक्त सेयर कारोबारको लागि सहमति दिएको थिएन । सेयर खरिद गर्ने हिमालयन रि इन्स्योरेन्सको लगानी सन्दर्भमा ‘फिट एन्ड प्रोपर टेस्ट’ को लागि आवश्यक विवरण माग गरेको थियो ।

त्यस्तै राष्ट्र बैंकको प्राथमिकता विदेशी कुनै लगानीकर्ता उक्त सेयर खरिद गर्न इच्छुक भएसँगै विदेशी लगानीलाई नै प्राथमिकतामा राख्ने भन्ने रहेकोले त्यसलाई पनि ध्यान दिन बैंकलाई राष्ट्र बैंकले त्यतिबेला आग्रह गरेको थियो ।

त्यस्तै सिभिल बैंकसँग मर्जरमा गएको २ वर्ष पूरा नहुँदा बहालवाला सेयरधनीले सेयर बिक्री गर्दा लाग्ने ठूलो पूँजीगत लाभकर गुम्ने परिस्थितिले गर्दा पनि त्यतिबेला राष्ट्र बैंकले स्वीकृति नदिई रोकेको थियो ।

२ बैंक मर्जर भएको २ वर्ष पूरा भइसकेको हुँदा अब सेयर कारोबार भएमा कर छुटको विषयमा कुनै समस्या देखिँदैन । यद्यपि उक्त सेयर खरिद गर्न योग्य नेशनल लाइफले नै उक्त सेयर खरिद गर्ने भएपछि हिमालयन रिले सेयर खरिद गर्ने सम्भावना सकिएको थियो ।

Skip This