चालु वर्षको पहिलो महिनामा निर्यात ९५ प्रतिशतले बढ्दा आयात ११ प्रतिशतले बढ्यो

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा निर्यात दर ९५.७५ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा यो हाराहारीमा निर्यात दर बढेको हो ।

भन्सार विभागले शुक्रबार साँझ सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्याँक अनुसार अघिल्लो वर्षको साउन महिनाको तुलनामा झण्डै दोब्बर परिमाणमा अर्थात ९५.७५ प्रतिशतका दरले २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँबराबरको सामान नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको छ ।

अघिल्लो वर्ष साउन महिनामा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँबराबरको विभिन्न सामान नेपालले निर्यात गरेको थियो । साउन महिनामा नेपालमा ११.४२ प्रतिशतका दरले १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँबराबरको विभिन्न सामान आयात भएको छ ।

अघिल्लो वर्षको साउन महिनामा भने १ खर्ब २८ अर्ब ३७ करोड ७७ लाख रुपैयाँबराबरको विभिन्न सामान नेपालमा आयात भएको थियो । यो साउन महिनामा नेपालले १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार गर्दा १ खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ ।

निर्यातको अग्रस्थानमा विभिन्न प्रकारका तेल

अघिल्लो आर्थिक वर्षजस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा पनि निर्यातको सूचीमा विभिन्न प्रकारका खानेतेलले स्थान ओगट्न सफल भएको छ ।

अघिल्लो आर्थिक वर्षको निर्यातको सूचीमा निक्कै तल झरेको पाम आयल भने चालु आवको साउनमा भने निर्यातको सूचीमा दोश्रो स्थानमा आउन सफल भएको छ ।

तथ्याँकअनुसार साउन महिनामा १० अर्ब ६९ करोड ५८ लाख रुपैयाँबराबरको ५० लाख ७८ हजार २ सय ३४ किलो सोयाबिन तेल भारतमा निर्यात भएको छ ।

यस्तै ६७ करोड १२ लाख रुपैयाँबराबरको ३७ लाख ५६ हजार ३ सय ६५ लिटर रिफायन्ड पाम आयल भारतमा निर्यात भएको थियो । यस्तै ६५ करोड १४ लाख रुपैयाँबराबरको ३४ लाख ८९ हजार ९ सय ७६ लिटर सनफ्लावर तेल भारतमै निर्यात भएको छ ।

निर्यातको सूचीमा नेपालको मौलिक उत्पादन कार्पेट भने चौथो नम्बरमा परेको छ । ५५ करोड १८ लाख ९५ हजार रुपैयाँबराबरको १५ हजार ६ सय ९७ स्क्वायर मिटर अमेरिकामा निर्यात भएको छ । ८५ प्रतिशत पोलिस्टर भएको एकल धागो ४६ करोड ३२ लाख रुपैयाँबराबरको २२ लाख २९ हजार किलो भारतमा निर्यात भएको छ भने भारतमै ३४ करोड ८८ लाख ८५ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ४९ हजार फ्रेट टन किलोमिटर निर्यात प्लाइउड निर्यात भएको छ ।

यस्तै ३४ करोड २३ लाख रुपैयाँबराबरको १२ लाख १५ हजार २ सय १३ किलो कालो चिया र ३२ करोड १७ लाख रुपैयाँबराबरको २ लाख १६ हजार १ सय ५० किलो ठूलो अलैंची भारतमा निर्यात भएको छ ।

आयाततर्फ कच्चा सोयाविन तेलको वर्चस्व

चालु आवको साउन महिनामा आयाततर्फ कच्चा सोयाबिन तेलले बर्चस्व कायम गरेको छ । यो महिनामा ८ अर्ब ७९ करोड ३६ लाख रुपैयाँको ५ करोड ८० लाख ७७ हजार ६ सय २६ लिटर कच्चा सोयाबिन तेल अर्जेन्टिनाबाट आयात भएको छ ।

यस्तै ५ अर्ब ८८ करोड ७७ लाख रुपैयाँबराबरको ६५ हजार १ सय ५६ किलोलिटर डिजेल, ५ अर्ब ७७ करोड १४ लाख रुपैयाँबराबरको ६७ हजार ७ सय २४ किलोलिटर पेट्रोल र ४ अर्ब ६६ करोड ६४ लाख रुपैयाँबराबरको खाना पकाउने ग्यास आयात भएको छ ।

यसैगरी चीनबाट २ अर्ब ६८ करोड ११ लाख रुपैयाँबराबरको १ लाख ७५ हजार ८ सय २९ वटा मोवाइल फोन, १ अर्ब ५२ करोड ६३ लाख रुपैयाँबराबरको १ लाख ग्राम सुन, १ अर्ब ४७ करोड ७९ लाख रुपैयाँबराबरको कच्चा सोयाविन तेल ब्राजिलबाट, १ अर्ब ४० करोड ५ लाख रुपैयाँबराबरको २ करोड २० लाख ९६ हजार ६ सय ३० किलो चामल भारतबाट र १ अर्ब २८ करोड ९५ लाख रुपैयाँबराबरको १४ हजार ४ सय ९२ किलोलिटर हवाई इन्धन भारतबाट आयात भएको छ ।