
एजेन्सी । चीनका विदेशमन्त्री वाङ यीले इस्लामाबादसँग बेइजिङको सम्बन्ध मजबुत रहेको बताएका छन् ।
बिहीवार पाकिस्तान पुगेका वाङले दुई देशबीचको सम्बन्ध लामो समयदेखि टिकिरहेको र कुनै तेस्रो देशप्रति लक्षित नरहेको स्पष्ट पारेका छन् ।
यसो भनेर उनले भारतलाई सन्देश दिन खोजेको विश्लेषकहरू बताउँछन् । चीन र पाकिस्तानबीचको सम्बन्धले भारतलाई सधैं सशंकित बनाउने गरेको छ ।
तेस्रो मुलुकको प्रसंग उठाएर वाङले नेपाललाई पनि आश्वस्त गर्न खोजेका हुन सक्छन् । चीन र भारतबीच लिपुलेक नाकामार्फत द्विपक्षीय व्यापार पुनः सुरु गर्ने सहमति बनेपछि नेपाललाई नसोधी नेपाली भूमिको उपयोगको कुरा झिकिएको भनी नेपालले आपत्ति जनाएको छ ।
इस्लामाबादमा वाङले भने, ‘चीन र पाकिस्तानको साझेदारी तेस्रो पक्षप्रति लक्षित छैन । तेस्रो पक्षलाई हानि हुने गरी चीनले कुनै पनि सहमति गर्ने गरेको छैन । मैले यसपालि तीनवटा देशको भ्रमण गरें र अन्तिम देश पाकिस्तान हो । दक्षिण एसियाका सबै मुलुकको साझा इतिहास छ । चीन र दक्षिण एसियाली मुलुकहरू निकट छिमेकी हुन् र हामी सबै मिलेर विकासको गतिलाई बढाउनुपर्छ ।’
पाकिस्तान पुग्नुअघि वाङले भारत र अफगानिस्तानको भ्रमण गरेका थिए ।
पाकिस्तानमा वाङले छैटौं पाकिस्तान–चीन विदेशमन्त्रीहरूको रणनीतिक संवादको सहअध्यक्षता गरेका छन् । उनले पाकिस्तानका नागरिक र सैन्य नेतृत्वसँग भेटेर द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा पनि छलफल गरेका छन् ।








प्रतिक्रिया