
विराटनगर । उच्च अदालत विराटनगरले जिल्ला अदालत मोरङको आदेशलाई उल्टाउँदै उमागौरी सहकारी संस्था ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित चार जना प्रतिवादीलाई जनही १–१ करोड धरौटी माग गरेको छ ।
उच्च अदालत विराटनगरका न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले बिहीबार यस प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समिति सभापति तथा एमाले सांसद पोखरेलकी पत्नी अन्जला कोइरालासहित चार जना प्रतिवादीलाई जनही १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।
जिल्ला अदालत मोरङले कोइरालालाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । यो सहकारीमा २२ करोडभन्दा बढी रकम ठगी भएको उजुरी छ ।
उच्च अदालत विराटनगरले कोइरालासहित सन्तलाल खवास, ज्योति बास्कोटा र पुर्पक्ष थुनामा रहेका रोशन राजबंशीलाई एक–एक करोड धरौटी माग गरेको हो । संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारको हकमा जिल्लाको आदेश सदर भएको छ । उनी पुर्पक्षको लागि थुनामा छन् ।
यसअघि जिल्ला अदालत मोरङका तत्कालीन न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले गत पुस २४ गते सांसद पत्नी कोइरालालाई १० लाख, ज्योति बास्कोटालाई ५ लाख, सुमन लोहनीलाई २ लाख र मनोजकुमार सोनीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।
जिल्ला अदालतको उक्त आदेश विरुद्ध सरकारी वकिलको कार्यालयले प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको अनुसन्धान अघि बढाउनुपर्ने मागसहित उच्च अदालतमा पुनरावेदन गरेको थियो ।
जिल्लाको आदेश विरुद्ध उच्च अदालतमा पुनरावेदन परेपछि उच्च अदालतमा तीन महिनाको अवधिमा यो मुद्दाको पेशी १३ पटकसम्म स्थगित हुनुका साथै एक पटक हेर्न नमिल्ने सूचीमा परेको थियो ।
वैशाख ११ गते न्यायाधीशद्वय श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासमा राय बाझिएको थियो । उक्त इजलासमा प्रतिवादीहरूलाई धरौटीमा छोड्ने वा थुनामा राख्ने भन्नेमा भन्दा पनि धरौटी रकम कति तोक्ने भन्नेमा राय बाझिएको थियो ।
न्यायाधीश बास्तोलाले प्रतिवादीहरू रोशन राजबंशी, अन्जला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासको हकमा जनही १ करोड रुपैयाँ तथा अन्य तीन जनाको हकमा २५ लाख रुपैयाँ धरौटी माग गर्नुपर्ने राय प्रस्तुत गरेका थिए । तर, न्यायाधीश पुडासैनीले जिल्ला अदालत मोरङकै सामान्य धरौटीको आदेशलाई सदर गर्नुपर्ने मत राखिन् । यही राय बाझिएपछि मुद्दाको छिनोफानोका लागि तेस्रो न्यायाधीशको इजलासमा पेशी तोकिएको थियो ।
तेस्रो न्यायाधीश विष्णुप्रसाद अर्यालको इजलासले बिहीबार जिल्ला अदालतको आदेशलाई उल्टाएको हो ।
मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा रहेको यो सहकारी संस्थामा आबद्ध ८ हजार ८४२ जना सर्वसाधारण शेयर सदस्यहरूको ३ करोड ८ लाख रुपैयाँ शेयर पुँजी भएको सहकारीमा २४ करोडभन्दा बढी ऋण लगानी देखाई २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना भएको उजुरी छ ।
गत मङ्सिर २७ गते अन्जलासहित २६ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।
यो प्रकरणमा संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार र धनपालथानका पूर्व वडाध्यक्ष रोशन राजबंशी पुर्पक्षका लागि थुनामा छन् । उच्च अदालतको आदेशले रोशनलाई १ करोड धरौटी र शम्भुलाई जिल्लाको आदेश सदर गरेको छ ।







प्रतिक्रिया