युद्धविराम प्रस्तावलाई बेवास्ता गर्दै इजरायलले थाल्यो गाजा शहरमा आक्रमण

336
Shares

एजेन्सी । हालै हमासले सहमति जनाएको युद्धविराम प्रस्तावमा इजिप्टले इजरायलको जवाफ मागिरहेको बेला प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधवार गाजा शहर कब्जा गर्ने कार्यलाई अगाडि बढाएका छन् ।

गाजा शहर कब्जा गरेर १० लाख प्यालेस्टाइनीहरूलाई विस्थापित गर्नका लागि इजरायलले प्रयास अघि बढाएको हो ।

यसअघि इजरायलका रणनीतिक मामिलामन्त्री रोन डर्मरले कतारी अधिकारीहरूसँग पेरिसमा वार्ता गरेका थिए ।

केही दिनयता हमासले बनाएका बन्दीहरू रिहा गर्ने सम्झौताबारे प्रगति भएको देखिए पनि नेतान्याहु भने त्यसलाई बेवास्ता गर्दै गाजा शहरमा सैन्य कारवाही अझै बढाउने योजनामा केन्द्रित छन् । तर, उनले हमासको पछिल्लो प्रस्तावलाई औपचारिक रूपमा अस्वीकार भने गरेका छैनन् ।

नेतन्याहुले बुधवार साँझ जारी गरेको वक्तव्यमा सेनालाई हमासको अन्तिम गढ कब्जा गर्ने समयसीमा छोट्याउन निर्देशन दिएका छन् । उनले जगेडा सैनिक र उनका परिवारप्रति आभार प्रकट गरेका छन् । मंगलवार मात्र सेनाले ६० हजार जगेडा सैनिकलाई ड्युटीमा बोलाएको थियो ।

इजरायलले अहिलेलाई कतार वा इजिप्टमा टोली पठाएर वार्तामा सहभागी नहुने एक वरिष्ठ इजरायली अधिकारीले बताएका छन् । इजरायलले सोमवार हमासले स्वीकृत गरेको चरणबद्ध बन्दी रिहाइ प्रस्तावमा तत्काल प्रतिक्रिया नदिने निर्णय गरेको समेत रिपोर्ट आएका छन् ।

तर रोन डर्मरले मंगलवार पेरिसमा कतारी उच्च अधिकारीहरूसँग भेटेर बन्दी रिहाइ र युद्धविराम वार्ताबारे छलफल गरेका थिए । त्यहाँ हमासले सबै बन्दी एकैपटक मुक्त गर्ने र सत्ताबाट हट्ने शर्तमा मात्रै इजरायल तयार हुने डर्मरले स्पष्ट पारेका थिए ।

बुधवार अमेरिकी विशेषदूतसँगको कुराकानीमा इजिप्टका विदेशमन्त्री बद्र अब्देलातीले हमासले स्वीकारेको युद्धविराम प्रस्तावमा इजरायलले चाँडो प्रतिक्रिया दिनुपर्ने बताएका थिए । उनले अहिलेको अवसर उपयोग गरी युद्ध अन्त्य गर्न सकिनेमा जोड दिए ।

हमासले यसै हप्तामा विटकफ फ्रेमवर्कमा आधारित सम्झौता मान्ने जनाएको थियो । सो अनुसार हमासले १० जना जीवित बन्दी र १८ जनाको शव इजरायललाई सुम्पने र त्यसको बदलामा इजरायलले सयौं प्यालेस्टाइनी कैदीहरूलाई रिहाइ गर्ने एवं ६० दिनको युद्धविरामको सहमति हुने जनाइएको छ ।

तर, नेतान्याहुको गाजा शहर कब्जा गर्ने योजनाले युद्धविरामका प्रयासलाई बेवास्ता गरेको भन्दै हमासले आपत्ति जनाएको छ । उसले नेतान्याहुलाई सम्झौता रोक्नका लागि मुख्य जिम्मेवार व्यक्ति भन्दै गाजा शहर आक्रमण असफल हुने दाबी गरेको छ ।

हाल गाजामा अझै ५० जना बन्दी छन् । तीमध्ये २८ जनाको मृत्यु भएको इजरायलले पुष्टि गरेको छ । २० जना जीवित रहेको विश्वास गरिएको छ भने बाँकी दुईको अवस्था गम्भीर भएको बताइन्छ ।