रविलाई भेटेपछि प्रचण्डले भने: दुब्लाउनु भएछ, अनुहारमै देखिन्छ


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन्।

बुधबार साँझ नख्खु कारागार पुगेर लामिछानेलाई भेटेका प्रचण्डले उनको स्वास्थ्य अवस्था कमजोर देखिएको बताए । ‘भैरहवामा हुँदा निकै जटिल अवस्था भएको रहेछ, अनुहारमै थकान देखिन्छ, उहाँ दुब्लाउनुभएको छ,’ प्रचण्डले भने ।

भैरहवामा बस्दा लामिछाने झन्डै गोलघरमै राखिएको र निकै पीडामा परेको भन्दै प्रचण्डले नख्खु कारागारमा आएपछि अवस्था तुलनात्मक रूपमा सुधार भएको लामिछानेले सुनाएको उल्लेख गरे ।

लामिछानेले भेटका क्रममा नख्खु कारागार प्रशासनको व्यवस्थाबारे प्रचण्डसमक्ष प्रशंसा गर्दै यहाँको बसाइँ भैरहवाको तुलनामा निकै सहज भएको बताएको प्रचण्डले जानकारी दिए ।