देउवाको प्रश्न: कति प्रधानमन्त्री भइरहेको भन्छन्, जनताले भोट हाल्छन् मैले के गर्ने ?


काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेताहरुले मत दिएकाले आफू बारम्बार नेतृत्वमा रहेको जनाएका छन् ।

बुधवार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै सभापति देउवाले आफूले चाहेर मात्र बारम्बार सभापति नबनेको तर्क गरे ।

‘‍तपाईं कति सभापति भइरहने भन्नुभयो । म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैले ?’ देउवाले भने, ‘पार्टीका सांसदहरुले सहयोग गरे, सबै पार्टीहरुले सहयोग गरेर प्रधानमन्त्री भएको हो म ।’

देउवाले आफू सौभाग्यशाली व्यक्ति भएको बताए । ‘अहिलेसम्म म प्रत्यक्ष निर्वाचन लडेको हो जहिले पनि । सौभाग्यले कहिले पनि हारेको छैन,’ देउवाले भने, ‘धेरै पार्टीका नेताहरु मेरो खिलाफमा लाग्नुभयो, मेरो विरुद्धमा डडेलधुराबाट । तर म त हार्छु भनेको थिएँ, तै पनि जितिछु ।’

जनता सबैभन्दा ठूलो कुरा भएको उनले बताए ।

‘जनतालाई त्यही कारण सार्वभौम सम्पन्न भनेका छौँ । जनता देशको मालिक हो । जनता भन्दा ठूलो कोही छैन । सबै साथीहरुले जनताको सेवा गरौँ,’ देउवाले भने ।

देउवाले आफू फेरि पदमा आउने सम्भावना नभएको भन्दै भने ‘कसैले चिन्ता नगरे हुन्छ म आउँदिन धेरै डराउनु पर्दैन ।’भयो ।