पोखराबाट अष्ट्रेलिया उडान गर्ने सिचुवान एयरलाइन्सको तयारी, कुवेतबाट पुन: भैरहवा आउँदै जजीरा

32.1k
Shares

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने भएको छ । सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक प्रक्रिया पूरा गरेर अनुमति लिने तयारी थालेको छ ।

प्राधिकरणका अनुसार सिचुवान एयरलाइन्स पोखराबाट उक्त गन्तव्यमा उडान गर्न तयार भएको छ । त्यसका औपचारिक रुपम प्रक्रिया टुङ्गाउने विषयमा द्विपक्षिय छलफलमा भइरहेकाेले छिट्टै उडानकाे तालिका सम्बन्धित वायुसेवाबाट आउने पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार भैरहबाट पनि उडान गर्न कुवेतका वायुसेवा कम्पनी जजीरा एयरलाइन्स तयारी गरिहरेको छ । जजीराले हाल कुवेतबाट काठमाडौं उडान गर्दै आएको र भैरहवामा जान प्राधिकरणले दबाब दिइरहेको छ भने यस अघि पनि काठमाडौंमा हुने उडान संख्या कटौती गरेरै भैरहवाका पठाएको थियो । प्राधिकरणले यो वायुसेवलाई भैरहवाबाट उडान गर्न गरेको प्रोत्साहनसहितको कारण यसले आगामी डेढ महिनाभित्रै भैहरवाबाट उडान गर्ने तयारी गर्दै छ ।

प्राधिकरणका अनुसार भैहरवाबाट जजीरा र पोखराबाट सिचुवान एयरलाइन्सले उडान सुरु गरेपछि दुबै विमानस्थलमा अरु विदेशी वायुसेवा पनि आकर्षित हुने छन् ।

जजीराले यस अघि २ पटक भैरहवाबाट उडान गरिसकेको छ । जजीराले २०७९ फागुनमा दोस्रोपटक उडान सुरु गरेको यो वायुसेवाले त्यस अघि साढे २ महिना उडान गरेर प्राविधिक कारण देखाउँदै बन्द गरेको छ । भैरहवामा पटक पटक उडान गरेको सेवा दिइरहेको यो वायुसेवाल फेरि नियमित उडान सुरु गर्न चासो देखाएको छ ।

पोखरामा पनि यस अघि पूर्ण क्षमता यात्रु ल्याएको, पोखराबाट काठमाडौं आएको र चार्टर उडान गरेर अभ्यस्त भइसकेको सिचुवान एयरलाइन्सले नियमति उडान गर्न चाहेको हो । यो वायुसेवाले यस अघि पोखरा विमानस्थलमा २०८० असार ६ गते एयरवसको ए३१९ नामक जहाजबाट पहिलोपटक उडान सुरु गरेको थियो ।

चीनबाट पूर्ण क्षमतामा आएको उक्त जहाज पूर्ण क्षमतामा यात्रुसहित काठमाडौं आएर चीनको छेन्दु फर्किएको थियो । यसले त्यसपछि पनि २०८० असारको ८ र ९ गते फेवातालमा भएको नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने काम गरेको थियो ।

चीन सरकारको करिब २२ अर्ब ऋण सहयोगमा बनेको यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको र भैरहवालाई पनि विदेशी वायुसेवलाले नपाइत्एको गुनासो बढीरहेको बेला प्राधिरकण पुन: उडान सुरु गराउन गरेको प्रयासलाई भने सकारात्मक मानिएको छ । पोखरा र भैरहवामा उडान गर्ने विदेशी वायुसेवालाई सरकारले आकर्षक छूट सुविधा दिएको छ ।

हाल पोखरा र भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानबाट पाउने शुल्क सम्पूर्ण छुट दिइएको छ । नेपाल वायुसेवा निगमले दिने ग्राउण्ड ह्याण्डलिङ सेवामा जम्मा २५ प्रतिशतबाहेक अतिरिक्त कुनै पनि शुल्क तिर्नु पर्दैन । यी दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको छुट तथा सहुलियत सरकारले २०८१ साउन २८ देखि दिएकोले छुट तथा सहुलियतमा निरन्तरता छ ।

सरकारले गत वर्ष साउन २८ मै ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना’ अनुसार छुट दिएको छ । यी दुई विमानस्थलको अन्तर्राष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु ३ हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट छ ।

यी दुई विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्याण्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छूट छ । नेपाल पर्यटन बोर्डले पाउने १ हजार रुपैयाँको पर्यटन सेवा शुल्कमा पूर्ण छुट छ । यी दुई विमानस्थलमा नेपाल वायुसेवा निगमले दिने ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ७५ प्रतिशत छुट छ । यी दुई विमानस्थलमा नेपाल आयल निगमले दिने इन्धनमासमेत काठमाडौंभन्दा झन्डै २ सय डलरसम्म सस्तो छ ।