चिनियाँ विदेशमन्त्रीको भारत भ्रमण, दिल्लीका प्रमुख चिन्ता सम्बोधन गर्ने वाङ यीको आश्वासन

210
Shares

एजेन्सी । चीनका विदेशमन्त्री वाङ यीले भारतका परराष्ट्रमन्त्री एस जयशंकरसँगको भेटमा दुर्लभ खनिज (रेयर अर्थ्स) र मलजस्ता महत्त्वपूर्ण विषयहरूमा भारतका चिन्ता सम्बोधन गर्ने आश्वासन दिएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महिना चीन भ्रमणको तयारी गरिरहेका बेला यस्तो आश्वासन आएको हो ।

चीनले भारतका तीन प्रमुख चिन्ता सम्बोधन गर्ने वाचा गरेको बताइएको छ । विदेशमन्त्री वाङ यीले एस जयशंकरलाई भारतको मल, दुर्लभ खनिज र टनल बोरिङ मशिन आयातमा आइरहेका समस्यालाई सम्बोधन गर्ने आश्वासन दिएका छन् ।

जयशंकरले वाङसँगको भेटमा भारतका चिन्ता र सरोकार राखेका थिए । दुवै देशले “कठिन समय” पछि अब “अगाडि बढ्ने” इच्छा राखेको उनले बताएका छन् । छलफलमा आर्थिक सम्बन्ध, सीमापार व्यापार, सम्पर्क । नदीसम्बन्धी तथ्यांक आदानप्रदान समेत समेटिएको थियो ।

गत वर्ष चीनबाट विभिन्न वस्तुहरूको आयात गर्न भारतलाई कठिनाइ परेको थियो । चीन नै भारतका किसानका लागि महत्त्वपूर्ण युरिया मलको सबैभन्दा ठूलो स्रोत थियो । तर, सन् २०२४ को जुन महिनामा बेइजिङले विश्वव्यापी रूपमा युरियाको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

यसअघि बेइजिङले अन्य मुलुकका लागि निर्यात प्रतिबन्ध हटाउँदा पनि भारतका लागि हटाएको थिएन । तर, ब्लूमबर्गको पछिल्लो समाचारअनुसार गत सातादेखि चीनले भारतका लागि युरिया निर्यातमा रहेका प्रतिबन्ध हटाएको छ ।

व्यापार मन्त्रालयका तथ्यांकअनुसार, भारतले सन् २०२३–२४ मा करिब साढे ७७ करोड डलर बराबरको युरिया चीनबाट आयात गरेको थियो । तर, सन् २०२४–२५ मा चीनले निर्यातमा लगाएको प्रतिबन्धका कारण यो घटेर करिब ४३ करोड डलरमा सीमित भएको थियो ।

चीनले पछिल्ला महिनाहरूमा दुर्लभ खनिजको निर्यातमा कडाइ गरेको छ, जसलाई अमेरिका–चीन व्यापार युद्धले अझै गम्भीर बनाएको छ । यसले भारतसहित अन्य मुलुकलाई असर पारेको छ । दुर्लभ खनिज हरित प्रविधि र भारतको स्वच्छ ऊर्जा प्रणालीतर्फको संक्रमणका लागि अत्यावश्यक मानिन्छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी सोमवारदेखि तीन दिने भारत भ्रमणमा छन् ।

उनले मंगलबार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटे । भेटपछि डोभालले भारत र चीनबीचको सम्बन्ध सुधारको बाटोमा गएको भन्दै प्रसन्नता व्यक्त गरेका छन् ।

वाङले डोभालपछि प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्नेछन् ।

उनी बुधबार भारतबाट पाकिस्तान जाने कार्यक्रम छ ।

भारत र अमेरिकाबीच सम्बन्धमा तनाव आएको समयमा भारत र चीनबीच उच्चस्तरीय भेटवार्ता भइरहेको हो । भारतले रूसबाट तेल किनिराखेको भन्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आलोचना गरेका छन् र यसै महिनाको सुरुमा भारतमाथि ५० प्रतिशतसम्मको आयातकर लगाएका छन् ।

प्रधानमन्त्री मोदी सन् २०१८ यता पहिलोपटक यसै महिना चीन जाने अपेक्षा छ । उनी ३१ अगस्ट र १ सेप्टेम्बरमा तियान्जिनमा हुने शाङ्हाई सहयोग संगठन (एससीओ) को राष्ट्रप्रमुखस्तरीय सम्मेलनमा सहभागी हुनेछन् ।

वाङको भ्रमणले मोदीको चीन भ्रमणको कार्यसूचीलाई अन्तिम रूप दिन मद्दत गर्नेछ । सन् २०२० मा गलवानमा भारत र चीनका सैनिकहरूबीचको झडपपछि भारत–चीन सम्बन्ध निकै चिसिएको थियो ।

सन् २०२४ अक्टोबर २१ मा दुवै देशले सीमाका विवादित क्षेत्रमा सेना फिर्ता गर्ने सम्झौता गरेको घोषणा भएपछि सम्बन्धमा सुधार आउन थालेको हो ।

Skip This