प्यालेस्टाइनीहरूलाई दक्षिण सुडानमा बसाइँसराइ गराउने इजरायलको योजना

602
Shares

एजेन्सी । इजरायलले गाजाबाट प्यालेस्टाइनीहरूलाई दक्षिण सुडान सार्ने योजनामा विचार गरिरहेको छ ।

रोयटर्स समाचार संस्थामा प्रकाशित समाचारमा उल्लेख भएअनुसार, ठूलो संख्यामा प्यालेस्टाइनीहरूलाई गाजाबाहिर बसाइँसराइका इजरायलले प्रोत्साहन गरिरहेको छ ।

केही महिनादेखि इजरायली अधिकारीहरूले “स्वेच्छिक बसाइँसराइ” को कुरा गर्दै आएका छन् । यसलाई गाजाबाट बाहिरिन चाहने प्यालेस्टाइनीहरूका लागि मानवीय विकल्पको रूपमा प्रस्तुत गरिएको छ ।

इजरायलले प्यालेस्टाइनीहरूलाई जबरजस्ती निकाल्न लागेको होइन भने पनि गाजाबाहिर गइसकेका मानिसलाई कहिल्यै फर्कन दिने हो कि होइन भन्ने विषयमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्रस्ट पारेका छैनन् ।

दक्षिण सुडान विश्वकै गरिब र द्वन्द्वग्रस्त मुलुकमध्ये एक हो । उसले सार्वजनिक रूपमा यस विषयलाई स्वीकारेको छैन । तर, दक्षिण सुडानका वरिष्ठ अधिकारीहरूले इजरायली प्रतिनिधिसँग यसबारे गोप्य छलफल गरेको मध्यपूर्व र दक्षिण सुडानसँग परिचित स्रोतहरूले बताएका छन् ।

गाजाको भविष्यबारे बहस भइरहेका बेला सोमबार हमासले इजिप्ट र कतारी मध्यस्थतामा आएको युद्धविराम र बन्दी मुक्त गर्ने प्रस्ताव स्वीकार गरेको घोषणा गरेको छ । प्रस्तावअनुसार ६० दिनको युद्धविराम गरिनेछ र १० जना बन्दीलाई रिहा गरिनेछ ।

“हमास अधिकारी र प्यालेस्टाइनी समूहहरूले यस प्रस्तावलाई स्वीकृति दिएका छन्,” विज्ञप्तिमा भनिएको छ ।

तर, इजरायलले अझै यो सम्झौता स्वीकृत गरेको छैन । नेतान्याहुले आफ्नो सेना गाजा शहर नियन्त्रणमा लिन र त्यहाँको जनसंख्यालाई अझै दक्षिणतिर सार्न तयारी गरिरहेको संकेत दिएका छन् । उनले भने, “हामी स्पष्ट देखिरहेका छौँ, हमास ठूलो दबाबमा छ ।”

यसैबीच गाजामा मानवीय अवस्था झन् बिग्रिँदै गएको छ । मंगलबार १२०० टन खाद्यान्न बोकेको एक जहाज साइप्रसबाट इजरायलको अस्दोद बन्दरगाहतर्फ गएको छ । त्यहाँबाट खाद्यान्न गाजातर्फ पुर्‍याइनेछ ।

“स्थिति अत्यन्तै भयावह छ,” साइप्रसका परराष्ट्र मन्त्री कोन्स्टान्टिनोस कोम्बोसले एपीलाई बताए ।

संयुक्त राष्ट्रसंघले गाजामा भोकमरी बढिरहेको चेतावनी दिएको छ । नेतान्याहुले भने भोकमरीका खबरलाई “झूटो” भन्दै अस्वीकार गरेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, २२ महिनादेखिको युद्धमा मृत्यु हुनेको संख्या ६२ हजार नाघेको छ । तिनमा करिब आधा महिला र बालबालिका छन् ।

यस द्वन्द्वले सहायता उपलब्ध गराउनेहरूलाई पनि ठूलो क्षति पु¥याएको छ । संयुक्त राष्ट्रसंघले सन् २०२४ मा विश्वभरि ३८३ जना सहायता कर्मचारी मारिएको बताएको छ । तीमध्ये करिब आधा गाजामा छन् । मानवीय प्रमुख टम फ्लेचरका अनुसार, मारिनेको यो कीर्तिमान संख्या “अन्तर्राष्ट्रिय निष्क्रियताको लज्जाजनक प्रमाण” हो ।