
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामाजिक सञ्जालमा सेयर कारोबार गर्न उक्साउने र किनबेचको सिफारिस गर्ने कार्य गैरकानुनी भएको बताएको छ । नेप्सेले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा सेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री स्टक टिप सेयर किनबेचका सिफारिस, नक्कली भिडियो / अडियो लगायतका झुठा दाबीहरू देखिन थालेका बताएको हो ।
नेप्सेले आफूले कुनै पनि सेयर किन्न र बेच्नको लागि सल्लाह नदिने भन्दै त्यस्तो अफबाहको पछि नलाग्न आह्वान गरेको छ । ‘नेप्सेले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको ग्यारेन्टी नगर्ने, खरिद वा विक्री गर्ने मूल्य नतोक्ने प्रष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस किसिमका सामग्री नितान्त भ्रामक र अनधिकृत हुन् ।’
केही समययता नेप्सेको नाममा सामाजिक सञ्जालहरुमा सेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री, स्टक टिप, सेयर किनबेचका सिफारिस, नक्कली भिडियो/अडियो लगायतका झूठा दाबीहरू देखिएकोले त्यस्ता भ्रामक दाबीमाथि विश्वास नगर्न आह्वान गरेको हो । ‘नेप्सेले सूचना / प्रेस नोट नेप्सेको वेबसाइट र आधिकारिक सामाजिक सञ्जालबाट प्रकाशित गर्छ । नेप्सेको नाम अनधिकृत प्रयोग गर्ने, नेप्सेसँग मिल्दोजुल्दो नाम राखेर वेबसाइट चलाउने, एप बनाउने, च्याट ग्रुप बनाउने लगायतका कार्य दण्डनीय अपराध हुन्,’ विज्ञप्तिमा भनिएको छ ।
नेप्सेले हल्ला, उक्साहट, अनधिकृत च्याट ग्रुप/क्लब हाउस/टेलिग्राम लगायतका आधारमा कारोबार नगर्न पनि लगानीकर्तालाई आह्वान गरेको छ । नेप्सेको नाम/लोगो भवनको तस्बिर प्रयोग गरेर एप/पेज/समूह बनाइएका माध्यमहरुमा व्यक्तिगत विवरण नदिन र कसैलाइ पनि आफ्नो पासवर्ड नदिन नेप्सेले आह्वान गरेको छ ।







प्रतिक्रिया