उपसभामुखलाई हटाउने तयारी, कांग्रेस–एमालेले बोलाए बैठक

896
Shares

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारीमा जुटेका छन् । दुवै दलले यस विषयमा आ-आफ्नो पार्टीभित्र छलफल अघि बढाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा मंगलबार बिहान ९ बजेदेखि पदाधिकारी बैठक बसिरहेको छ । बैठकमा उपसभामुख हटाउने विषयमा छलफल भएको जनाइएको छ । कांग्रेसले आफ्ना सांसदहरूलाई बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सिंहदरबारस्थित संसदीय दलमा उपस्थित रहन निर्देशन दिएको छ ।

सोमबार मात्रै कांग्रेस र एमालेका प्रमुख सचेतकबीच यस विषयमा प्रारम्भिक छलफल भएको थियो । एमालेले पनि मंगलबार आकस्मिक संसदीय दल बैठक बोलाएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सांसदहरूसँग विशेष परामर्श गर्ने कार्यक्रम तय गरेका छन् ।

कांग्रेस र एमालेले उपसभामुखलाई आचरणसम्बन्धी विवादका आधारमा पदच्युत गर्ने तयारी गरेका हुन् । प्रतिनिधि सभामा उपसभामुख हटाउन १८४ मत आवश्यक पर्छ ।

उपसभामुख राना मगर केही समयअघि अमेरिकी दूतावासमा भिसा अन्तर्वार्ता सारिदिन आग्रह गर्दै पठाएको पत्र सार्वजनिक भएपछि विवादमा तानिएकी थिइन् । त्यतिबेला सत्ता पक्षका सांसदले उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए । तर उक्त विषय त्यतिकै सामसुम भएको थियो । झण्डै एक वर्षपछि कांग्रेस एमाले मगरलाई हटाउन अघि सरेका हुन् ।

प्रतिनिधि सभामा कांग्रेसका ८८, एमालेका ७८, जनता समाजवादीका ७, लोसपाका ४ र जनमतका ६ सांसद छन् । यी सबै मिलेर दुई तिहाइ पुग्दैन । त्यसैले कांग्रेस–एमालेले एकीकृत समाजवादीका १० सांसदको सहयोग लिने प्रयास गरिरहेका छन् ।

कांग्रेस उपसभामुख पदमा आफ्नो दाबी रहेको बताउँदै आएको छ । उसको योजनाअनुसार राज्य व्यवस्था तथा सुशासन समिति एमालेलाई दिने र उपसभामुख पद आफूले लिने रणनीति बनाइएको छ ।

राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद निर्वाचित भएकी हुन् । माओवादी केन्द्र, एमाले र रास्वपाको समर्थनमा उनी उपसभामुख बनेकी थिइन् ।