अमेरिकामा मन्दी आउन लागेको अर्थशास्त्रीको चेतावनी, ट्यारिफ र कठोर आप्रवासन नीति जिम्मेवार


एजेन्सी । मूडी एनालिटिक्सका प्रमुख अर्थशास्त्री मार्क ज्यान्डीले अमेरिकामा मन्दी आउने डर बढेसँगै सावधान पूर्वानुमान सार्वजनिक गरेका छन् ।

ज्यान्डीका अनुसार, अमेरिकी अर्थतन्त्र अहिले मन्दीको संघारमा पुगेको छ । तर, उनले प्राविधिक क्षेत्रका व्यावसायिकहरूका लागि भने केही आशा रहेको पनि बताए ।

सामाजिक सञ्जाल एक्समा पोस्टहरूको शृंखलामा ज्यान्डीले गत साताको आर्थिक तथ्यांकलाई आधार मानेर चिन्ताजनक संकेतहरू देखिएको बताएका छन् ।

‘अर्थतन्त्र मन्दीको डिलमा पुगेको छ । यो नै गत साताको तथ्यांकको स्पष्ट निष्कर्ष हो । उपभोक्ताहरूले खर्च गर्न छोडेका छन्, निर्माण र उत्पादन क्षेत्रमा संकुचन आएको छ र रोजगारी घट्ने संकेत देखिएको छ । मुद्रास्फीति बढिरहेको अवस्थामा फेडरल रिजर्भले सहजै सहयोग पु‍र्याउन सक्ने अवस्था छैन,’ ज्यान्डीले एक्समा लेखे ।

बिजनेस इन्साइडर सञ्चारमाध्यमसँग कुरा गर्दै ज्यान्डीले प्राविधिक क्षेत्रलाई मन्दीको ठूलो असरबाट जोगाउन सक्ने कारणहरू बताएका छन् । विभिन्न उद्योगमा एआई र अटोमेशन उपकरणको निरन्तर माग, क्लाउड पूर्वाधार र साइबर सुरक्षा क्षेत्रमा बलियो लगानी, अमेरिकाबाहिर पनि कर्मचारी राख्ने विश्वव्यापी लचकता र मन्दीको बेलामा पनि सरकार र व्यावसायिक संस्थाबाट डिजिटल रूपान्तरणमा खर्चले प्राविधिक क्षेत्रलाई मन्दीबाट बचाउने ज्यान्डीको भनाइ छ ।

ज्यान्डीका अनुसार, प्राविधिक क्षेत्र अन्य उद्योगहरूको तुलनामा उत्पादकत्व बढ्ने क्षेत्रमा पर्छ । ‘उत्पादकत्व वृद्धिले वास्तविक मूल्य सिर्जना गरिरहेको कम क्षेत्रमध्ये प्राविधिक क्षेत्र पर्दछ,’ उनले भने ।

यससँगै ज्यान्डीले कडाइका आप्रवासन नीतिले प्राविधिक क्षेत्रमा नोक्सान पु‍र्याउने चेतावनी पनि दिए । उनले विशेषगरी एआई, सफ्टवेयर इन्जिनियरिङ र डेटा साइन्समा विश्वव्यापी प्रतिभाको पहुँच सुरक्षित गर्न अमेरिकी सांसदहरूलाई आग्रह गरे ।

‘हामी भन्सार शुल्कमा वृद्धि नगर्ने वा आप्रवासन नीतिमा केही व्यावहारिक सुधारको संकेत देखिने हो भने अर्थतन्त्रमा सुधार आउने अपेक्षा गर्न सकिन्छ,’ ज्यान्डीले बिजनेस इन्साइडरसँग भने ।

‘अर्थतन्त्र कमजोर हुनुमा बढ्दो अमेरिकी ट्यारिफ र अत्यधिक कठोर आप्रवासन नीति जिम्मेवार छ । भन्सार शुल्कले अमेरिकी कम्पनीहरूको नाफामा गहिरो चोट पु‍र्याइरहेको छ र अमेरिकी परिवारहरूको खर्च गर्ने क्षमता घटाइरहेको छ । कम आप्रवासी कामदार भनेको सानो अर्थतन्त्र हो,’ ज्यान्डीले थपे ।