पाकिस्तानमा मनसुनको कहर, ६५० भन्दा बढी मानिसको मृत्यु


एजेन्सी । पाकिस्तानमा विगत केही वर्षयताको सबैभन्दा घातक मनसुनका कारण ६५० भन्दा बढी मानिसको ज्यान गएको स्थानीय पत्रिका डनले समाचार दिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पाकिस्तानमा आएको बाढी र पहिरोबाट भएको मानव क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनका प्रवक्ता स्टेफेन दुजारिकमार्फत आइतबार जारी वक्तव्यमा गुटेरेसले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै राष्ट्रसंघ आवश्यक सहयोगका लागि तत्पर रहेको बताएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तीय विपत व्यवस्थापन प्राधिकरणले सेनाका हेलिकप्टरको सहयोगमा उद्धार कार्य जारी रहेको पुष्टि गरेको छ । प्रधानमन्त्री शहबाज शरीफले संघीय मन्त्रीहरूलाई बाढी प्रभावित प्रान्तमा गएर राहत कार्य प्रत्यक्ष अनुगमन गर्न निर्देशन दिएका छन् ।

जुन महिनाको अन्त्यदेखि अहिलेसम्म पाकिस्तानभर वर्षाका कारण आएको बाढीपहिरो सम्बन्धी घटनामा ६५७ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमध्ये १७१ बालबालिका र ९४ महिला छन् ।

खैबर पख्तुनख्वा प्रान्तमा मात्र ३२३ जनाको मृत्यु भएको छ र १५० जना हराइरहेका छन् । प्रधानमन्त्रीको निर्देशनमा संघीय मन्त्रीहरूले त्यहाँको राहत कार्य नजिकैबाट अनुगमन गरिरहेका छन् ।

गिलगित बल्तिस्तानमा आएको आकस्मिक बाढीले गाउँहरू उजाड बनाएको छ, खेतबारी नष्ट पारेको छ र राजमार्ग अवरुद्ध पारेको छ । यसले गर्दा विद्युत्, पानी र इन्टरनेट सुविधा रोकिएको छ । लामो समयदेखि समस्या समाधान नभएको विरोधमा स्थानीयहरूले गिलगित शहरमा प्रदर्शन गरेका छन् ।

अधिकारीहरूले आउँदो सेप्टेम्बर महिनामा दुईदेखि तीनपटक मुुसलधारे वर्षा हुने सम्भावना रहेको चेतावनी दिएका छन् । यसले थप बाढीको जोखिम बढाउने देखिन्छ ।

खैबर पख्तुनख्वा प्रान्त प्रमुखका अनुसार, सेनाका पाँचवटा हेलिकप्टर उद्धार तथा राहत कार्यका लागि प्रयोग गरिएका छन् ।

खैबर पख्तुनख्वा सरकारले संकटकालीन प्रतिकार्यका लागि डेढ अर्ब रुपैयाँ उपलब्ध गराएको छ । यो रकम बुनर, मनसेहरा, स्वात र शांगलालगायत सबैभन्दा बढी प्रभावित जिल्लामा वितरण गरिएको छ ।