युक्रेनलाई नेटो शैलीको सुरक्षा प्रत्याभूति दिन रुस तयार भएको अमेरिकाको दाबी


एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति सम्झौताका लागि युक्रेनलाई सुरक्षा प्रत्याभूति दिलाउने प्रावधानमा सहमति जनाएको अमेरिकाका विशेषदूत स्टिभ विटकोफले बताएका छन् ।

सीएनएनमा प्रकाशित समाचारमा उल्लेख भएअनुसार, रुसले युक्रेनमाथि अर्को आक्रमणको कोसिस गरेमा अमेरिका र युरोपले संयुक्त रूपमा युक्रेनको प्रतिरक्षा गर्ने शर्तमा पुटिन सहमत भएका छन् ।

युक्रेनलाई कुनै हालतमा पनि नेटोको सदस्य बन्न नदिने रुसको अडानका बीच यस प्रावधानमा सहमति बनेको हो । रुसले युक्रेन वा अन्य कुनै युरोपेली मुलुकमाथि आक्रमण नगर्ने कानूनी प्रतिज्ञामा हस्ताक्षर गर्नका लागि पनि रुसीहरू तयार भएको विटकोफले बताए ।

रुसले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन ।

नेटोको धारा ५ कै जस्तो सुरक्षा प्रत्याभूति युक्रेनलाई दिलाउनुपर्ने युरोपेली नेताहरूले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई बताएका छन् । शान्ति सम्झौतापछि युक्रेनलाई दिइने सुरक्षा प्रत्याभूतिमा नेटो सहभागी हुने छैन ।

युक्रेनले लगातार सुरक्षा प्रत्याभूतिको माग गरिरहेको भए पनि ट्रम्पले बेवास्ता गरिरहेका छन् । रुसले शान्ति सम्झौता भए पनि युक्रेनमाथि भविष्यमा आक्रमण गर्न सक्ने आशंका गर्दै युक्रेनले सुरक्षा प्रत्याभूति मागेको हो ।

युरोपेली मुलुकहरूले युक्रेनका लागि शान्ति सेनाको माग गरेका छन् । त्यस सेनालाई अमेरिकाले समर्थन गर्नुपर्ने उनीहरूको भनाइ छ । तर, ट्रम्पले अमेरिकी सैनिक वा स्रोतसाधन युक्रेनलाई उपलब्ध गराउन खोजेका छैनन् ।

यसैबीच ट्रम्पले जेलेन्स्कीलाई रुसको नियन्त्रणमा रहेको युक्रेनी भूभाग परित्याग गर्न दबाब दिने भएका छन् । सोमवार जेलेन्स्की ह्वाइट हाउस पुग्दा ट्रम्पले त्यस्तो दबाब दिनेछन् ।