
काठमाडौं । दुई साताअघि डिल्लीबजार कारागारबाट छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे पहिलोपटक पत्रकार सम्मेलनमार्फत टिप्पणी गरेका छन्।
प्रसाईंले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै सो दिनको घटनाबारे उल्लेख गरेका हुन् ।
करिब १० वर्षपछि आफूले पहिलोपटक सोही दिन गाडी चलाएको र आफूलाई मार्ने योजना भएको थाहा पाएपछि प्रहरीकै अगाडि पुगेको बताए।
‘म गाडी लिएर प्रहरीकोमा गएँ । मार्ने योजना भए पनि एक–दुई जनालाई भनेको हुन्छ भन्ने लागेर मैले पुलिसकै गुँडभित्र छिर्नुपर्छ भनेर छिरेँ,’ प्रसाईंले भने, ‘त्यसपछि मलाई एकजना डीएसपी साबले आएर, तपाईंले जे गर्नुभयो ठिक गर्नुभयो, अब तपाईं गएर कार्यक्रम सकेर निस्कनुस् भन्नुभयो ।’
त्यसपछि आफूले मञ्चमा पुगेर प्रहरी र आफ्ना समर्थकलाई संयमित हुन आग्रह गरेको बताए ।
‘मैले मञ्चमा गएर प्रहरीसँग धक्कामुक्का नगर्नुस्, प्रहरीले पनि अश्रुग्यास नहान्नुस् भनेँ,’ प्रसाईंले भने ।
उक्त समयमा एक जना सिभिल पोशाकधारी प्रहरीले आफूलाई मार्ने योजना रहेको जानकारी दिएको र त्यसपछि आफू काठमाडौं छाडेर भागेको बताए ।
‘मलाई त्यतिबेलै प्रहरीका एक जना सिभिलका मान्छे आएर “तपाईंलाई मार्ने योजना छ” भनेपछि म त्यहाँबाट निस्किएँ । म कर्फ्यु लाग्दा काठमाडौं उपत्यका छाडिसकेको थिएँ,’ उनले भने।
उनले मदन भण्डारीलाई जस्तै आफूलाई पनि मार्ने योजना रहेको र त्यसलाई आफूले सफल हुन नदिएको उल्लेख गरे ।








प्रतिक्रिया