विचार

सूचना प्रविधि: सुशासन र समृद्धिको नयाँ ढोका

56
Shares

आज सूचना र सञ्चार प्रविधि, आइसीटी अथवा आईटी सुशासनका लागि मात्र होइन, विकास र मानिसको दिनचर्याका लागि अपरिहार्य भइसकेको छ ।

हामी आईटीबिना चल्नै नसक्ने अवस्थामा पुगिसकेका छौं । पहिलो कुरा, आईटीको प्रयोग केका लागि भन्ने हो भने देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई अझ सभ्य, अझ परिष्कृत, अझ उन्नत बनाउन र देशमा सुशासन अझ सुदृढ गर्न । आईटीको प्रयोगलाई सुशासनको सहयोगीका रूपमा, समाजको सुप्रबन्धका लागि सहयोगीका रूपमा, करप्सन कन्ट्रोलका लागि सहयोगीका रूपमा र जनतालाई सेवा सुविधा पुर्‍याउने कुरामा सहयोगीका रूपमा गर्न चाहन्छौं ।

आईटी एउटा सोख मात्रै होइन, अनिवार्य आवश्यकता बनेको छ । आईटीले हाम्रो विकासलाई तीव्रता दिनुपर्छ । प्रविधि भनेकै त्यही हो, जसले विकासलाई व्यापकता र तीव्रता दिन्छ । नवीनता त्यसका लागि आवश्यकता हो र नवीनता दिन्छ । यसले समाजमा पारस्परिक रूपमा मानवीय भावना, पारस्परिक प्रेम, सद्भाव, सहिष्णुताको विकासका निम्ति सहयोग गर्नुपर्छ ।

हामीले सूचना प्रविधिलाई त्यसै हिसाबले प्रयोग गर्नुपर्छ । यही कुरालाई ध्यानमा राखेर हामीले आईटीलाई ‘डिजिटल नेपाल’ को नाराका साथ अगाडि बढाएका छौं । सिङ्गै देशलाई डिजिटलाइज गर्ने र त्यसको अधिकतम सदुपयोग गर्ने । त्यसैअनुसार नै म अघिल्लो पल्ट प्रधानमन्त्री हुँदा नै ‘डिजिटल नेपाल फ्रेमवर्क’ बनाएको थिएँ । अहिलेसम्मका अनुभव र प्रगतिहरूलाई हेरेर हामीले ‘फ्रेमवर्क २.०’ अर्को चरणमा प्रवेश गरेका छौं र त्यस फ्रेमवर्कलाई अगाडि बढाउँदै छौं । म यस प्रविधिको प्रयोगलाई शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा र अन्य विभिन्न क्षेत्रहरूमा पनि सदुपयोग गरेर समाजलाई लाभान्वित गराउने पक्षमा आफैं क्रियाशील रहेको छु । सरकार क्रियाशील रहेको छ र हामी हरेकले यस सन्दर्भमा प्रयास गर्नुपर्छ ।

हामीले एउटा मात्रै सानो उदाहरण दियौं भने, गत वर्ष नेपालको एसईई परीक्षामा पास हुनेको संख्या ४८ प्रतिशतभन्दा कम थियो । र गत वर्षबाट हामीले सुरुदेखि नै यो प्रतिशतलाई वा ४८ भन्दा कम रहेको प्रतिशतलाई ७० प्रतिशत पुर्‍याउने भनेका थियौं । पछि हामीले केही संशोधन गर्नुपर्‍यो र हामीले ६० देखि ६५ प्रतिशतसम्म पुर्‍याउँछौं भनेर हाम्रा केही युवा साथीहरूले अनलाइन कक्षाको सुरुवात गर्नुभयो । त्यसका निम्ति एउटा अभियान चलाउनुभयो ।

देशव्यापी रूपमा विभिन्न ठाउँका विद्यालयमा गएर त्यहाँका प्रिन्सिपलहरूलाई, त्यहाँका शिक्षकहरूलाई, त्यहाँका विद्यार्थीहरूलाई, त्यहाँका अभिभावकहरूलाई प्रेरित गर्नुभयो । र देशभर दुई सयभन्दा बढी मेन्टर र धेरै दर्जन शिक्षकहरू राखेर एकै ठाउँ काठमाडौँबाट कक्षाहरू सञ्चालन गर्नुभयो । पछि हामीले ६० देखि ६५ प्रतिशतको बीचमा नतिजा निकाल्छौं भन्यौं । यो नितान्त निजी प्रयास हो, हाम्रा युवाहरूको । त्यसमा सरकारी सहयोग भनेको सञ्चार मन्त्रालयले हामीलाई त्यो उपलब्ध गरायो । हामी युवाहरूलाई जहाँ सेवा पुर्‍याउँछौं भनेको छ, त्यहाँ इन्टरनेट सेवा उपलब्ध गराइदियो । त्यस हिसाबले प्रयास गर्दा ६१.८१ प्रतिशत अथवा ६२ प्रतिशत उत्तीर्ण भए ।

मैले प्रधानमन्त्री चलाएको यो पछिल्लो एक वर्षको अवधिमा असाधारण ढंगले हामीले आईटी क्षेत्रमा पनि प्रगति गरेका छौं

४८ बाट ६२ प्रतिशत, अर्थात् १४ प्रतिशतका दरले एसईईको नतिजामा उन्नति भयो । यो हामीले देखेका छौं—सानो खर्चबाट देशभरका लाखौँ विद्यार्थीहरूको संख्यामा १४ प्रतिशतले उत्तीर्ण हुनेको संख्या अभिवृद्धि भयो । तसर्थ, यसै गरेर हामीले अनलाइन स्वास्थ्य, अनलाइन स्वास्थ्य परीक्षण, अनलाइन उपचारजस्ता कुराहरू पनि विभिन्न अस्पतालहरूबाट मद्दत गरेका छौं र साना अस्पतालहरूले ठूला अस्पतालहरूबाट विशेषज्ञ सेवाहरू लिन सकिरहेका छन् । त्यो हामी आफैंले प्रत्यक्ष यी केही वर्षमै अनुभव गरेका छौं ।

मैले प्रधानमन्त्री चलाएको यो पछिल्लो एक वर्षको अवधिमा असाधारण ढंगले हामीले यस क्षेत्रमा पनि प्रगति गरेका छौं ।

हामीसँग एउटा राम्रो पक्ष के छ भने, हाम्रो ‘डेमोग्राफिक डिभिडेन्ड’ राम्रो छ । त्यसलाई हामीले यस क्षेत्रमा प्रयोग गर्न सक्छौं किनभने हाम्रा युवाहरू आज आम रूपमा डिजिटल–फ्रेन्डली छन् । आईटी सेक्टरमा भन्ने हो भने उनीहरू कमसेकम शिक्षित छन् । उनीहरूले विभिन्न ढंगले त्यसबाट ज्ञान लिन र ज्ञान सम्प्रेषण गर्न सक्छन् । त्यसकारण नवप्रवर्द्धनका कुराहरू, इनोभेसनका कुराहरू अथवा अन्य अनुसन्धानका कुरादेखि लिएर आईटीको प्रयोगले हामीलाई ठूलो मद्दत पुर्‍याइरहेको छ । हामी समाज परिवर्तनका लागि, मानव विकासका लागि, अर्थतन्त्रको विकासका लागि, शिक्षा, स्वास्थ्य र सबै सामाजिक क्षेत्रको विकासका लागि, साथै जनतालाई सेवा सुविधा पुर्‍याउनका लागि यी कुरामा काम गरिरहेका छौं ।

अहिलेको दुनियाँमा सूचना प्रविधिको राम्ररी मात्र सदुपयोग भएको छ भन्न सकिँदैन । खासगरी सूचना क्षेत्रमै मिसइन्फर्मेसन, डिसइन्फर्मेसन जस्ता कुराबाट केही क्षति पनि भइरहेका छन्

अहिले हामीले यो पर्सनल आईटीजस्ता कुराबाटै जनतालाई सेवा पुर्‍याउने काम गरिरहेका छौं र अनेक पक्षमा यसको मद्दत पुगिरहेको छ । योसँगै यसमा केही कमजोरी, विकृति र विज्ञान–प्रविधिको प्रयोग ठीकसँग गर्न नजान्दा समस्या पनि आउँछ । मेसिन चलाउँदा ठीकसँग नचलाइए हात काटिन सक्छ । त्यसैले मेसिन भनेको ठीकसँग चलाउने कि नचलाउने कुरामा निर्भर हुन्छ ।

अहिलेको दुनियाँमा यो सूचना प्रविधिको राम्ररी मात्र सदुपयोग भएको छ भन्न सकिँदैन । खासगरी सूचना क्षेत्रमै मिसइन्फर्मेसन, डिसइन्फर्मेसन जस्ता कुराबाट केही क्षति पनि भइरहेका छन् ।

समाजलाई अलिक विकृति बढाउने खालका कुराहरू पनि भइरहेका छन् र यस्ता कुराप्रति हामी सजग छौं । सबै कुरा हुनै पर्छ । वास्तवमा प्रेस स्वतन्त्रता, सूचना स्वतन्त्रता सबै कुरा हुनुपर्छ, तर अनियन्त्रित र समाजलाई हानि गर्ने गरी होइन, समाजलाई फाइदा हुने गरी हुनुपर्छ ।

समाजका लागि आईटी, विकासका लागि आईटी, राष्ट्रिय एकताका लागि आईटी, विश्व शान्तिका लागि आईटी, सूचना–मनोरञ्जनका लागि आईटी, शिक्षा र स्वास्थ्यका लागि आईटी—यसरी हामीले आईटीलाई सदुपयोग गर्न सक्नुपर्छ राम्ररी ।

हाम्रो राष्ट्रिय आकाङ्क्षा हामीले भनेका छौं—“समृद्ध नेपाल, सुखी नेपाली” । त्यो हाम्रो राष्ट्रिय आकाङ्क्षा हो । त्यो आकाङ्क्षा परिपूर्ति गर्न, प्राप्त गर्न, गन्तव्य बनाएर हामी हिँडिरहेका छौं । त्यसको प्राप्तिका लागि सुशासन र विकासलाई तीव्रता, सुदृढता र द्रुत गतिका साथ अगाडि बढाउन जरुरी छ । त्यसमा आईटीको भरपूर मद्दत लिन जरुरी छ । यो अत्यन्त उपयोगी छ ।

तसर्थ, हामी यसको सदुपयोग गर्दै देशका लागि, जनताका लागि, समाजका लागि र मानव जातिका लागि यसको सदुपयोग गर्ने, सुशासन र विकासका लागि सदुपयोग गर्ने काम गर्दै यस दिशामा अगाडि बढिरहेका छौं ।

यस सन्दर्भमा तपाईंहरूले आयोजना गर्नुभएको विश्व आईटी सम्मेलन २०२५ ले अवश्य ठूलो योगदान गर्नेछ भन्ने विश्वास लिएको छु । यही विश्वासका साथ म तपाईंहरूलाई धेरै धेरै शुभकामना दिन चाहन्छु । तपाईंहरू यस दिशामा अझ तीव्रताका साथ अगाडि बढ्न सक्नुहोस्, अझ ठूलो योगदान दिन सक्नुहोस् ।

यसका लागि हामीले कानुन बनाएका छौं । भर्खरै हामीले एआई पोलिसी तय गरेका छौं । यी सबै कुराको उपयोग गर्नुस् । हामीले भर्खरै कानुनी हिसाबले यहाँका आईटी उत्पादनलाई निर्यात गर्न सजिलै सक्ने, यहीँ बसेर लाभ लिन सक्ने, बाहिर कम्पनी खोल्न सक्ने, विदेशमा कम्पनी खोल्न सक्ने सुविधा दिनेसम्बन्धी कानुन निर्माण गरेरै अगाडि बढाएका छौं ।

तसर्थ, म यहाँहरू सबैलाई यस कामलाई सदुपयोग गर्ने दिशामा सोचेर अगाडि बढ्न आग्रह गर्न चाहन्छु ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले १ भदौ, २०८२ मा राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित विश्व आइटी सम्मेलनमा व्यक्त गरेको मन्तव्यको सम्पादित अंश)

Skip This