
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानियाले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई चिट्ठी लेखेकी छन् ।
पत्रमा उनले युक्रेन युद्धमा बालबालिकाले दुःख पाएको भन्दै उनीहरूको निर्दोषितालाई जोगाउन आग्रह गरेकी छन् ।
शनिवार अलास्कामा ट्रम्प र पुटिनबीच भएको शिखरवार्तामा ट्रम्पले पुटिनलाई उक्त पत्र थमाएका हुन् ।
द्वन्द्वले बालबालिकामा पार्ने प्रभावका बारेमा कुरा गर्दै मेलानियाले सबै बालबालिकाले माया, सम्भावना र खतराबाट सुरक्षाको सपना देख्ने गरेको पत्रमा लेखिन् ।
प्रत्येक पुस्ताका सन्ततिहरू शुद्धताका साथ जीवनको आरम्भ गर्छन्, त्यो निर्दोेषिता भूगोल, सरकार र विचारधाराबाट माथि हुन्छ, मेलानियाले लेखिन् ।
बालबालिकाको निर्दोषितालाई संरक्षण गरेर पुटिनले रुसलाई मात्र नभई सम्पूर्ण मानवतालाई सेवा गर्ने मेलानियाको भनाइ छ ।
रुसले बालबालिकालाई अपहरण गरेर उनीहरू १८ वर्ष पुगेपछि सैन्य सेवामा लगाउन बाध्य बनाएको भनी युक्रेनले आरोप लगाएको एक महिनापछि मेलानियाको पत्र आएको हो ।
अमेरिकाको येल ह्युमानिटेरियन रिसर्च ल्याबले युक्रेन सरकारसँग मिलेर हराइरहेका युक्रेनी बालबालिकालाई रुसी प्रशिक्षण शिविरहरूमा राखिएको अभिलेखीकरण गरेको छ । ती बालबालिकालाई रुसी संस्कृतिको शिक्षादीक्षा दिइएको छ, युक्रेनी भाषा बोल्न प्रतिबन्ध लगाइएको छ र आदर्श नागरिक बन्नका लागि प्रशिक्षित गरिएको छ ।
सन् २०२३ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनी बालबालिका अपहरण गरेको आरोप लगाउँदै पुटिनविरुद्ध पक्राउपुर्जी जारी गरेको थियो । रुस सरकारले कुनै गलत काम नगरेको भन्दै यस्तो पक्राउपुर्जी वाहियात र अस्वीकार्य भएको जनाएको थियो ।








प्रतिक्रिया