
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ मा २१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २४ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा भने १२.८७ प्रतिशत कम नाफा कमाएको हो ।
कम्पनीको नाफा मात्रै नभएर आम्दानीमा पनि कमि आएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८३ करोड २० लाख रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षमा भने १ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ मात्रै कुल आम्दानी गरेको छ ।
कम्पनीले प्रकाशन गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ८२ करोड रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९४ करोड रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ९ करोड ५१ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब १७ करोड ५० लाख रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४२ करोड ७८ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले गत आर्थिक वर्षमा भने १ अर्ब ४१ करोड ६५ लाख रुपैयाँ कुल खर्च गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ९.३७ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १७६.७६ रुपैयाँ छ ।







प्रतिक्रिया