नेपाली दूतावासमा पछिल्लोपटक देखिएकी चीनकी कूटनीतिकर्मी पक्राउ

875
Shares

एजेन्सी । सिंगापुरका लागि चीनकी पूर्व राजदूत तथा वरिष्ठ कूटनीतिकर्मी सुन हाइयान पक्राउ परेको रोयटर्स समाचार संस्थाले समाचार प्रकाशन गरेको छ ।

उनलाई अगस्ट महिनाको आरम्भतिर पक्राउ गरिएको थियो ।

ल्यु च्यानचाओ नाम गरेका कूटनीतिकर्मी पक्राउ परेको बेलातिरै सुन पनि पक्राउ परेकी हुन् । ल्युलाई भविष्यको विदेशमन्त्रीका रूपमा हेरिएको थियो ।

कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको उपप्रमुख बन्ने पहिलो महिला सुनलाई ल्युका बारेमा सोधपुछ गरिने सिलसिलामा पक्राउ गरिएको बताइएको छ ।

यी दुवै कूटनीतिकर्मीलाई कस्ता किसिमका प्रश्न सोधिएको छ र के जान्न कोशिश भइरहेको छ भनी खुलेको छैन ।

पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख ल्यु पक्राउ पर्नु निकै ठूलो घटना हो । सन् २०२३ मा तत्कालीन विदेशमन्त्री छिन काङलाई सार्वजनिक स्थानमा नदेखिएको घटनापछि ठूला अधिकारी पक्राउ परेका हुन् ।

सिंगापुर, दक्षिण अफ्रिका र अल्जेरियामा कामको सिलसिलामा पुगेर चीन फर्किएलगत्तै ल्युलाई पक्राउ गरिएको थियो । अगस्ट महिनाको आरम्भतिर उनको घरको खानतलाशी गरिएको थियो ।

सार्वजनिक रूपमा देखिने गरेका ल्युसँगै सुन पनि देखिन छोडेपछि चीनको कूटनीतिक वृत्तका विषयमा प्रश्न उठ्न थालेका छन् । अहिले अमेरिकासँग व्यापार र भूराजनीतिक प्रभावका विषयमा तनाव बढिरहेको अवस्थामा वरिष्ठ कूटनीतिकर्मीहरूको अनुपस्थितिले प्रश्न उठाएको हो ।

ल्यु र सुनलाई अझै पनि हिरासतमा राखिएको छ कि छैन भन्ने स्पष्ट छैन । अन्तर्राष्ट्रिय विभागको वेबसाइटमा उनीहरूको प्रोफाइल कायम छ ।

सुन पछिल्लोपटक अगस्ट १ मा सार्वजनिक स्थानमा देखिएकी थिइन् । बेइजिङमा रहेको नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा उनी उपस्थित थिइन् ।

सुन मे २०२२ देखि जुलाई २०२३ सम्म सिंगापुरकी राजदूत थिइन् । पद छोड्ने बेलामा उनले सिंगापुरको एक विलासी होटलमा ५०० जनालाई भोज खुवाएकी थिइन् ।

खबे प्रान्तकी मूल निवासी सुनले पेकिङ विश्वविद्यालयबाट कानुनमा विद्यावारिधि गरेकी छन् । उनले जापानको क्युशु विश्वविद्यालयमा पनि अध्ययन गरेकी छन् ।