अवैध आप्रवासीहरूबाट भारतलाई जोखिम, रोक्नका लागि उच्चस्तरीय मिशन बनाइने : मोदी

560
Shares

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अवैध आप्रवासीहरूबाट आइलाग्ने खतराबाट भारतलाई जोगाउने जनसांख्यिक मिशनको घोषणा गरेका छन् ।

शुक्रवार भारतको स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन गर्दै मोदीले देशको जनसंख्यामा परिवर्तन ल्याउने षड्यन्त्र भइरहेको भन्दै भारतीयहरूलाई सतर्क रहन आग्रह गरे ।

‘म एउटा चिन्ता, एक चुनौतीका बारेमा देशलाई सचेत गराउन चाहन्छु,’ मोदीले बताए, ‘षड्यन्त्र गरेर देशको जनसंख्यालाई परिवर्तन गर्न खोजिँदैछ र नयाँ सकंटको बीजारोपण गरिँदैछ । अवैध रूपमा देशमा पस्नेहरूले भारतको युवाको जीवनयापन खोसिरहेको छ । उनीहरूले हाम्रा छोरीचेलीलाई तारो बनाइरहेका छन् । उनीहरूले आदिवासीलाई भड्काएर उनीहरूको जमिन हडपिरहेका छन् । यसलाई सहन सकिँदैन ।’

भारतमा अवैध आप्रवास चिन्ताको विषय बन्दै गएको छ । अधिकारीहरूले विदेशी नागरिक पहिचान गर्नका लागि विभिन्न शहरहरूमा कामदारहरूलाई सोधपुछ गरिरहेका छन् । विशेषगरी बंगलादेशबाट आएका मानिस भारतीय नागरिकको भेष बनाएर बसिरहेको बताइएको छ ।

प्रधानमन्त्री मोदीको सम्बोधनले यस चिन्तालाई उजागर गरेको मात्र नभई पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई सन्देश पनि दिन खोजेको देखिन्छ । बंगलादेशीविरुद्धको कारवाहीका नाममा बंगाली बोल्ने भारतीयहरूलाई तारो बनाइएको भनी ममताको पार्टी तृणमूल कांग्रेसले आरोप लगाएको छ ।

सीमाक्षेत्रहरूमा जनसांख्यिक परिवर्तनका कारण उत्पन्न चुनौतीहरूका विषयमा पनि मोदीले कुरा गरेका छन् ।

‘सीमाक्षेत्रमा जनसांख्यिक परिवर्तन ल्याउँदा राष्ट्रिय सुरक्षामा जोखिम आउँछ । यसले द्वन्द्वको बिउ रोप्छ । अवैध रूपमा पस्नेहरूसामु कुनै पनि देश झुक्न सकदैन । हामी कसरी झुक्ने ? हामीलाई स्वतन्त्र भारत दिलाउने पुर्खाहरूको सम्मानमा यस्ता अवैध कामलाई रोक्नुपर्छ । त्यसैले म उच्चस्तरीय जनसांख्यिक मिशन यही लालकिलाबाट घोषणा गर्छु । यसले भारतमाथि आइलागेको खतराको सामना गर्छ,’ मोदीले भने ।

अहिले बंगाली र बंगलादेशीबीचको भाषा युद्ध पनि चलिरहेको छ । दिल्ली प्रहरीले बंगलादेशीमा लेखिएको भनी एक अनुवादको सन्दर्भ बनाएपछि यो विषय उठेको हो ।

भाजपाले प्रणालीगत रूपमा विदेशीप्रतिको घृणा फैलाइरहेको र जानाजान बंगालीहरूलाई तारो बनाइरहेको आरोप तृणमूल कांग्रेसले लगाएको छ ।