एनआइसी एशिया बैंक ५ अर्ब २१ करोड रुपैयाँ सञ्चित घाटामा

1.3k
Shares

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा एनआइसी एशिया बैंक ५ अर्ब २१ करोड रुपैयाँले घाटामा गएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष बैंकको घाटा झण्डै दोब्बरले बढेको हो ।

आर्थिक वर्ष २०८०/८१ मा बैंक २ अर्ब ६६ करोड ६९ लाख रुपैयाँले सञ्चित नोक्सानीमा रहेको एनआइसी एशिया बैंक २०८१/८२ मा बढेर ५ अर्ब २१ करोड १८ लाख रुपैयाँ सञ्चित नोक्सानी पुगेको छ ।

विगतमा आक्रामक रुपमा अन्धाधुन्ध कर्जा विस्तार गरेको बैंक अहिले त्यहीकारणले समस्यामा फस्दै गएको छ । अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंकको सम्पत्तिको गुणस्तर नराम्रोसँग खस्किएको छ ।

बैंकले सर्वसाधारणलाई दिने कर्जा पनि एकै वर्षमा ४७ अर्ब रुपैयाँले घटाएको छ । अघिल्लो वर्ष २ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकले गत आर्थिक वर्ष घटाएर २ खर्ब २४ अर्ब रुपैयाँमा खुम्च्याएको छ ।

त्यस्तै बैंकले एक वर्षमा ३५ अर्ब रुपैयाँले निक्षेप घटाएको छ । अघिल्लो वर्ष ३ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले गत वर्ष घटाएर ३ खर्ब १९ अर्ब रुपैयाँमा खुम्च्याको छ ।

निक्षेप र कर्जा दुवै घट्दा बैंकको वासलातको आकार पनि ३२ अर्ब रुपैयाँले घटेको छ । अघिल्लो वर्ष ४ खर्ब १० अर्ब रुपैयाँ रहेको कुल सम्पत्ति तथा दायित्व घटेर गत वर्ष ३ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको छ ।

बैंकले सञ्चालन खर्च र कर्मचारी खर्चमा ब्यापक कटौती गर्दा पनि नाफामा सुधार गर्न सकेन ।

कर्मचारी खर्च ४ अर्ब ४७ करोडबाट घटाएर ३ अर्ब ६९ करोड रुपैयाँमा खुम्च्याएको छ । एक वर्षको अवधिकै बैंकले कर्मचारी खर्च साढे ७७ करोड रुपैयाँले घटाएको हो । एक वर्षको अवधिमा बैंकले अन्य सञ्चालन खर्च २ अर्ब ६ करोड १८ लाखबाट घटाएर १ अर्ब ८६ करोड ६२ लाख रुपैयाँमा झारेको छ । विगतमा आक्रामक रुपमा शाखा विस्तार गरेका कारण बैंकको सञ्चालन खर्च उच्च छ ।

बैंकको कर्जा नोक्सानी व्यवस्था पनि करिब २६ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्ष ३ अर्ब ८ करोड ६ लाख रुपैयाँ रहेको सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याएकोमा गत वर्ष ४ अर्ब १४ करोड ४६ लाख रुपैयाँ प्रोभजिन गरेको छ ।

बैंकले प्रवाह गरेको कर्जा अर्ब बढीको कर्जा तत्काल उठ्ने नदेखेपछि घाटा बुक राइटअफ गरेको छ । अघल्लिो वर्ष १ अर्ब ९ करोड ७३ लाख रुपैयाँ राइटअफ गरी गैरसञ्चालन खर्च देखाएको बैंकले गत वर्ष १ अर्ब ७ करोड रुपैयाँ राइटअफ गरेको छ । यसरी राइटअफ गरेको कर्जा उठेको अवस्थामा बैंकले गैरसञ्चालन आम्दानी मानेर नाफा देखाउन सक्नेछ ।

त्यस्तै बैंकको निष्क्रिय कर्जा बढेर झण्डै दोब्बर पुगेको छ । अघिल्लो वर्ष ३.४७ प्रतिशत रहेको निष्क्रिय कर्जा बढेर गत वर्ष ६.२८ प्रतिशत पुगेको छ । बैंकको खुद निष्क्रिय कर्जा पनि बढेको छ । अघिल्लो वर्ष १.४४ प्रतिशत रहेको खुद निष्क्रिय कर्जा १.८७ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको भन्दा गत वर्ष व्याज असूली गर्न बैंक असफल देखिएको छ। ब्याज उठाउन नसकेर अघिल्लो वर्ष १६ करोड रुपैयाँ नियामकीय जगेडामा छुट्याएकामा गत वर्ष ४६ करोड १६ लाख रुपैयाँ छुट्याएको छ ।

कर्जा असूलीका क्रममा लिलाममा निकालिको धितो बिक्री नभएपछि बैंकले सकारेको सम्पत्ति गत वर्ष पौने अर्ब रुपैयाँको हाराहारीमा बेचेको छ । यसरी गैरबैंकङि सम्पत्ति बक्रिी गरेर ४३ करोड ८६ लाख रुपैयाँ नियामकीय जगेडाबाट सञ्चति नाफामा सारेको छ । अघिल्लो वर्ष १ अर्ब ३ करोड ५२ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्तिका लागि नियामकीय जगेडामा छुट्याएको थियो ।

यस्तै डफिर्ड ट्याक्स रकग्नाइज शिर्षकमा ८७ करोड ६१ लाख रुपैयाँ र एक्चुरियल लस रिकग्नाइज शीर्षकमा ३४ करोड ७७ लाख नियामकीय जगेडामा सारेको छ । जसले गर्दा गैर बैंकिङ सम्पत्ति बिक्री गर्दा पनि गत आवको बैंकको वितरणयोग्य नाफा २ अर्ब ५४ करोड ५० लाख ऋणात्मक छ । अघिल्लो आवको सञ्चित घाटा २ अर्ब ६६ करोड ७० लाख रुपैयाँसहित बैंकको कुल सञ्चित घाटा ५ अर्ब २१ करोड १८ लाख रुपैयाँ पुगेको छ । प्रोभिजन बढेसँगै नाफामा भारित गिरावट र विभिन्न शिर्षकमा नियामकीय जगेडामा ठूलो रकम छुट्याउँदा बैंकको सञ्चित घाटामा उच्च वृद्धि भएको हो ।

एक वर्षमा निक्षेप र कर्जा सहित बैंकको वासलातको आकार नै घटाए पनि प्राथमिक पुँजीकोषको दबाब बैंकलाई रहेको देखिन्छ । सञ्चित घाटा बढेको कारण चालु आवमा पनि बैंकलाई व्यवसाय बढाउने सहज स्पेस देखिँदैन । बैंकको प्राथमिक पुँजीकोष ८.८७ प्रतिशत छ । अघिल्लो वर्ष ८.२९ प्रतिशत रहेकोमा गत वर्ष केही सुधार भएको हो । राष्ट्र बैंकले तोकेको ८.५ प्रतिशतभन्दा केही माथि हो । बैंकको कुल पुँजीकोष अनुपात ११.०३ प्रतिशतबाट बढेर १४ प्रतिशत पुगेको छ । सीडी रेसियो ७३.९७ प्रतिशत रहेको बैंकको आधार दर वाणिज्य बैंकहरुमध्येकै उच्च ७.०४ प्रतिशत छ ।