भारतसँग युद्धपछि पाकिस्तानले थाल्यो सैन्य क्षमता सुधारको तयारी, बनायो आर्मी रकेट फोर्स कमान्ड

259
Shares

एजेन्सी । केही महिनाअघि भारतसँगको युद्धपछि पाकिस्तानले आफ्नो सैन्य क्षमतामा सुधारका लागि काम गरिरहेको छ ।

पाकिस्तानले आफ्नो क्षेप्यास्त्र भण्डारको निगरानी गर्न नयाँ सैन्य बल आर्मी रकेट फोर्स कमान्ड स्थापना गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राजधानी इस्लामाबादमा आयोजित देशको ७८औं स्वतन्त्रता दिवस समारोहमा यो घोषणा गरेका हुन् ।

‘यसलाई आधुनिक प्रविधिले सुसज्जित गरिनेछ र शत्रुलाई चारैतिरबाट प्रहार गर्न यो सक्षम हुनेछ,’ उनले भने, ‘यसले हाम्रो परम्परागत युद्ध क्षमतामा सुधार ल्याउनेछ ।’

पाकिस्तानको सैन्य प्रतिक्रिया क्षमताको विकासमा एक महत्त्वपूर्ण कोशेढुंगा भएको शरीफले बताए ।

प्राप्त विवरणअनुसार, पाकिस्तानको नयाँ सैन्य बल चीनको पिपुल्स लिबरेसन आर्मी रकेट फोर्सको ढाँचामा आधारित छ ।

चीनको यस फोर्सले आणविक तथा परम्परागत वारहेड बोक्ने र भुइँबाट मार हान्ने ब्यालिस्टिक, हाइपरसोनिक र क्रूज मिसाइलहरूलाई नियन्त्रण गर्छ ।

‘हालै भारतसँग भएको संघर्षपछि पाकिस्तानको सैन्य क्षमतालाई अझ बलियो बनाउनु नै हाम्रो उद्देश्य हो र यो सैन्य बल त्यस प्रक्रियाको एउटा महत्त्वपूर्ण हिस्सा हो,’ पूर्व जनरल तथा रक्षा विश्लेषक तलत मसूदले एएफपीलाई बताए ।

सैन्य बल घोषणा कार्यक्रममा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, तीनवटै सेनाका प्रमुख तथा अन्य राष्ट्रिय गण्यमान्य व्यक्तिहरू उपस्थित थिए ।

गत मे महिनामा पाकिस्तान र भारतबीच चार दिन लामो भीषण द्वन्द्व भएको थियो । त्यसमा क्षेप्यास्त्र, ड्रोन र तोपहरूको प्रयोग भएको थियो ।

भारतले जम्मु–कश्मीरको पहलगाममा २६ पर्यटकको ज्यान लिने पाकिस्तान–समर्थित आतंककारीहरूविरुद्ध अपरेशन सिन्दूर चलाएपछि युद्ध भएको हो ।

युद्धका क्रममा पाकिस्तानले आफ्ना विभिन्न क्षेप्यास्त्र प्रणालीसहित जे–१०सी भिगोरस ड्रागन र जेएफ–१७ थन्डर लडाकु विमान तैनाथ गरेको थियो ।

त्यसयता, इस्लामाबादले देशको रक्षा क्षमता बलियो बनाउन कदम चालेको छ । उसले जुन महिनाको बजेटमा सैन्य खर्च २० प्रतिशतले बढाएको छ । साथै, ४० वटा नयाँ चिनियाँ लडाकु विमान र आधुनिक वायु रक्षा प्रणाली खरिद गर्ने योजना पनि अगाडि बढाइएको छ ।

आफ्नो सम्बोधनमा शहबाजले चीन, साउदी अरब, टर्की, अजरबैजान, संयुक्त अरब इमिरेट्स र इरानलगायत मुलुकलाई पाकिस्तानलाई समर्थन गरेकोमा धन्यवाद दिए ।

साथै, उनले सबै राजनीतिक दल, सरोकारवालाहरू र नागरिक समाजलाई देशको राष्ट्रिय हितको रक्षा गर्न एकजुट हुन आह्वान गरे ।

पाकिस्तानका सेनाप्रमुख असिम मुनीर र पूर्व विदेशमन्त्री बिलावल भुट्टोले भारतलाई सिन्धु जल सम्झौता स्थगन गरिरहे युद्धको चेतावनी दिएका थिए । प्रधानमन्त्री शरिफले पनि उक्त चेतावनी दोहोर्याएका छन् ।

प्रधानमन्त्री शरिफले देशको मुद्रास्फीति ३४ प्रतिशतबाट घटेर ५ प्रतिशतमा आएको र ब्याजदर २१ प्रतिशतबाट घटेर ११ प्रतिशतमा पुगेको पनि बताए ।