
एजेन्सी । भारतीय सेनाले पाकिस्तान सीमा अर्थात् लाइन अफ कन्ट्रोलमा चारखुट्टे रोबोट, स्मार्ट फेन्स प्रणाली र सबैखाले भूभागमा चल्ने वाहनहरू उपयोग गर्न थालेको छ । जम्मु कश्मीरको रजौरी जिल्लामा यी अत्याधुनिक प्रविधिहरू राख्न थालिएको बताइएको छ ।
यसबाहेक क्वाडकप्टर, अत्याधुनिक निगरानी औजार, बुलेटप्रूफ गाडी र नाइटभिजन चश्मा सबैको अपरेशन सिन्दूरमा परीक्षण गरिएको छ ।
भारतमा शुक्रवार अर्थात् अगस्ट १५ मा स्वतन्त्रता दिवस मनाइँदैछ । त्यसैको अवसरमा भारतीय सेनाले सीमामा शान्तिपूर्ण उत्सव मनाउन लागेको छ । त्यससँगै भारतीय सेनाले पत्रकारहरूलाई बोलाएर नियन्त्रण रेखाको दुर्गम क्षेत्रहरूमा सेनाको शौैर्य तथा लगावको उदाहरण पनि पेश गर्ने बताइएको छ ।
आर्मादो जस्ता अत्याधुनिक सैन्य वाहन र सबै भूभागमा गुड्न सक्ने वाहनहरूका साथ भारतीय सेनाको द्रुत प्रतिकार्य टोलीले जम्मु कश्मीरका कठिन भूभागमा पनि आतंकवादीहरूलाई रोक्ने क्षमता हासिल गरेको सैन्य अधिकृतहरू बताउँछन् ।
अभ्यासका क्रममा सैनिकहरूले कुनै एक क्षेत्रलाई घेराबन्दी गरेर आतंकवादीहरूसँग भिडन्त गरेको नमूना प्रस्तुत गरेका थिए । त्यसक्रममा सेनाको अत्याधुनिक वाहनको द्रुत गति, सुरक्षा र अनुकूलतालाई प्रस्तुत गरिएको थियो ।
भारतमै विकसित गरिएको रोबोटले युद्धभूमिको नक्सा परिवर्तन गर्ने भारतीय सैन्य अधिकृतहरू बताउँछन् । त्यसमा पनि मल्टी–युटिलिटी लेगेड इक्विपमेन्ट अर्थात् म्युल (चारखुट्टे रोबोट) निकै प्रभावकारी रहेको उनीहरूको भनाइ छ । मेक इन इन्डिया पहलअन्तर्गत एरोआर्क कम्पनीले बनाएको यो रोबोट हिउँ, मरुभूमि, पानी र अन्य कठिन भूभागमा पनि अह्राएको काम फत्ते गर्न सक्षम छ । भारतले पाकिस्तानविरुद्ध चलाएको अपरेशन सिन्दूरमा यी चारखुट्टे रोबोटहरू प्रभावकारी थिए ।
अत्याधुनिक सेन्सर लगाइएका चारखुट्टे रोबोटहरूले सैन्य आपूर्ति लैजाने, विस्फोटक पदार्थ पत्ता लगाउने र निगरानी गर्ने काम पनि गर्छन् । यसलाई युद्धभूमिमा विभिन्न भूमिका दिन सकिन्छ । एकैपटकमा धेरै चारखुट्टे रोबोट परिचालन गरी मिनी रोबोट आर्मीका रूपमा यसले सैनिकहरूमाथिको जोखिम पनि घटाउनेछ ।
त्यसका अलावा भारतीय सेनाले निगरानी, खोजी र आक्रमणका लागि ड्रोनको उपयोग बढाएको छ । तीमध्ये साना अनम्यान्ड एरियल भेहिकल्स र सर्भेलान्स ड्रोनहरू संवेदनशील क्षेत्रमा निगरानीका लागि महत्त्वपूर्ण साधनका रूपमा उपयोग हुन थालेका छन् ।
Watch | From mountains to jungles, #India deploys #MULE robot for advanced #LoC #surveillance | https://t.co/isv4PDNcTw pic.twitter.com/bYpVQiGXI0
— Economic Times (@EconomicTimes) August 14, 2025








प्रतिक्रिया