
काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा अन्तर्राष्ट्रिय पोलिसी डायलग अन अटोमोबाइल एण्ड बेटर मोबिलिटी २०२५ सम्पन्न भएको छ ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले समेत गर्न नसकेको कार्य नासा नेपालले गरिरहेको र देश तथा विदेशका विभिन्न संस्थाहरुसँग जोड्ने तथा बेटर मोबिलिटीका लागि घच्घच्याउने कार्य गरिरहेको जानकारी दिए ।
सडक सुरक्षा ऐन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिदै मन्त्री दाहालले आगामी दिनमा समेत सरकारले सडक सुरक्षाको विषयलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा फिलिपिन्सको मनिलास्थित एसिया प्यासिफिक रोड सेफ्टी अब्जर्भेटरीका अध्यक्ष तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकाल, अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआईए) का उपाध्यक्ष, अटोमोबाइल एसोसिएसन अफ भियतनामका फाउन्डर प्रेसिडेन्ट तथा एआईपी फाउन्डेसनका संस्थापक ग्रेग क्राफ्ट तथा फेडरेसन अफ इन्डियन अटोमोबाइल एसोसिएसन तथा वेस्टर्न इन्डिया अटोमोबाइल एसोसिएसनकी महासचिव रणजित कौर विर्क तथा स्कुल अफ अटोमोटिभ, नामटेक इन्डियाका डाइरेक्टर डा केसी वोरा लगायतको सहभागिता थियो ।
पहिलो दिनको ‘इन्फर्मेटिभ सेसन’ मा मन्त्रालयका सहसचिव सुशीलबाबु ढकाल, नाडा कार्यसमिति सदस्य कपिल शिवाकोटी र नासा फाउन्डेसन नेपालका कार्यकारी निर्देशक सुवाश भट्टराईले जानकारीमूलक सामग्री प्रस्तुत गरेका थिए । ढकालले अब्जर्भेटरीको तर्फबाट एसिया प्यासिफिक क्षेत्रमा भएका कार्यक्रमहरुको वारेमा समेत जानकारी दिएका थिए ।
त्यसैगरी शिवाकोटीले ‘नेपालमा सवारी साधनको आयात, उत्पादन, रोजगारी र अर्थतन्त्रमा योगदान’ विषयमा प्रस्तुतिकरण गरेका थिए । भट्टराईले अटोमोबाइल, यातायात र सडक सम्बन्धी यूएन अभिसन्धि र नेपाल विषयक प्रस्तुतिकरण गरेका थिए ।
पोलिटिकल कमिटमेन्ट सेसनमा पूर्व मन्त्री, प्रतिनिधि सभा सदस्य तथा एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी नेपालका संयोजक योगेश भट्टराई, राष्ट्रिय सभा सदस्य गरिमा शाह, लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी र कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाही बिचमा प्यानल डिस्कसन भयो ।
सो अवसरमा राजनीतिक नेतृत्वले अटोमोबाइल र मोबिलिटीका लागि गरिरहेको र आगामी दिनमा आआफ्नो क्षेत्रबाट गर्नु पर्ने कार्यका वारेमा समेत प्रतिबद्धता व्यक्त गरे ।
ब्रेनस्टोर्मिङ विथ इन्टरनेसनल स्पिकर्स सेसनमा ग्रेग क्राफ्ट, रणजित कौर विर्क र डा। केसी बोराले अन्तर्राष्ट्रिय स्तरमा भएका अटोमोटिभ इनोभेसन तथा सडक सुरक्षा र अन्य क्षेत्रमा भइरहेका कार्य वारेमा चर्चा गरे ।
ग्रेग क्राफ्टले टु ह्विलर सेफ्टी, हेल्मेट तथा एसियाली सडक सुरक्षाको विषयमा, कौरले दक्षिण एसियाको दिगो पर्यटनमा आईडीपी, सीडीपी तथा क्रस बोर्डर कनेक्टिभिटी लगायतका विषयमा र बोराले अटोमोबाइल क्षेत्रलाई सुरक्षित बनाउनका लागि भइरहेका कार्य वारेमा चर्चा गरे ।
सेफर मोबिलिटी सेसनमा डा भगवती सेढाईले ‘मोटरसाइक्लिस्ट सेफ्टी र युथ मोबिलिटी’ विषयमा प्रस्तुतिकरण गरिन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सिनियर कन्सल्टेन्ट रविन्द्र बास्कोटा र काठमाडौं पोडवेका सीटीओ परिवेश पराजुलीले सम्बन्धित विषयमा जानकारी प्रदान गरे ।
त्यसैगरी युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्यान्डका रिसर्च–फेलो एवम् सडक यातायातका अनुसन्धानकर्ता डा पुष्पराज पन्तले ‘बेलायतको रोड क्लासिफिकेसन, पब्लिक ट्रान्सपोर्टेसन र भेइकल सर्टिफिकेसन’ विषयमा अनलाइनमार्फत प्रस्तुति गरेका थिए ।
इनोभेटिभ सेसनमा काठमाडौं युनिभर्सिटी, स्कुल अफ इन्जिनियरिङका असिस्टेन्ट प्रोफेसर सिरपा श्रेष्ठ र गोकर्ण पौडेल तथा त्रिभुवन विश्वविद्यालय, थापाथली क्याम्पसका असिस्टेन्ट प्रोफेसर लोचन केन्द्र देवकोटा, टेलिम्याटिक्स प्रालिका सीईओ आतिश गैरे र ड्रोन हब नेपालका म्यानेजिङ डाइरेक्टर प्रविण भट्टराईले आ–आफ्नो क्षेत्रमा भइरहेका एकेडेमिक कार्यहरु तथा इनोभेसनका वारेमा चर्चा गरेका थिए ।
सस्टेनेबल मोबिलिटी सेसनमा युनिभर्सिटी अफ मलाया, मलेसियाका पीएचडी स्कलर प्रेमलाल तामाङ, नेपाल साइकल सोसाइटीका महासचिव तथा सहरी योजनाविद् राकेश महर्जन र वातावरण अभियन्ता सञ्जय पोखरेलले विशेष गरी इलेक्ट्रिक भेइकल र साइक्लिङ तथा नेपालमा वाटरवेज र त्यसको सुरक्षा लगायतका विषयमा चर्चा गरे ।
कार्यक्रममा नेपाल इन्जिनियरिङ काउन्सिलका अèयक्ष प्रा डा पद्म बहादुर शाहीले ‘कम्प्यारेटिभ स्टडी अफ नेपाली जियोग्राफी एन्ड पपुलेसन, रोड एन्ड ट्रान्सपोर्ट’ विषय मा जानकारीमूलक सामग्री प्रस्तुत गरे भने टेक्निकल सेसन अन्तर्गत नेपालमा राइड सेयरिङको चुनौती र अवसरमा एकराज सुवेदीको प्रस्तुति थियो ।
रोड सेफ्टी अडिट, स्टार रेटिङ स्कुल, मोटरसाइक्लिङ सेफ्टी क्याम्पेन, रोड सेफ्टी नेसनल तथा मिडिया अवार्ड, रोड सेफ्टी फिल्म फेस्टिभल, सार्वजनिक यातायात सुधार अभियान लगायतका क्षेत्रमा स्थापित नासा नेपालले सडक र यातायात सम्बन्धी थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय तालिम, सभा, सम्मेलन आयोजना गर्दै आएको छ ।







प्रतिक्रिया