
एजेन्सी । भारतको सर्वोच्च अदालतले दिल्ली र वरपरका क्षेत्रमा रहेका सबै भुस्याहा कुकुरलाई आठ हप्ताभित्र समातेर आश्रयस्थलमा राख्न आदेश दिएपछि विवाद उत्पन्न भएको छ ।
गत सोमवार अदालतले उक्त आदेश दिएपछि त्यसमा विभिन्न किसिमका प्रतिक्रियाहरू आइरहेका छन् ।
कतिपयले दिल्ली र राष्ट्रिय राजधानी क्षेत्रमा भुस्याहा कुकुरले टोकेर आतंक मच्चिइरहेकोमा यस्तो आदेशले राहत दिएको बताएका छन् । अन्य कतिपयले चाहिँ यो आदेश तर्कसम्मत नभएको भन्दै यसले मानिस र कुकुरबीचको द्वन्द्व बढाउने बताइरहेका छन् ।
यस आदेशको विषयलाई बुधवार बिहान प्रधानन्यायाधीश बीआर गवईसमक्ष समेत पेश गरिएको छ । त्यससँगै भुस्याहा कुुकुरहरूको स्थानान्तरण वा हत्यामा रोक लगाएको अघिल्लो आदेशको प्रति पनि पेश गरिएको छ । प्रधानन्यायाधीश गवईले यस विषयमा सुनुवाइ गर्ने बताएका छन् ।
भारतमा कुकुरको टोकाइ लगातार बढ्दै गएपछि सार्वजनिक स्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । सन् २०२४ मा मात्र भारतमा ३७ लाखभन्दा बढी कुकुरले टोक्ने घटनाको अभिलेख राखिएको थियो । त्यो भनेका प्रतिदिन १० हजारभन्दा बढीको टोकाइ हो ।
तर, यति हुँदाहुँदै पनि रेबिजको जोखिम न्यून देखिएको छ । रेबिज रोकथामका लागि सरकारले बनाएको लक्ष्य र धरातलीय यथार्थमा ठूलो अन्तर रहेको यसले देखाएको छ ।
सन् २०२२ मा सरकारले प्रकाशन गरेको तथ्यांकमा जम्मा २१ जनाको मृत्यु रेबिजले गर्दा भएको पाइएको थियो ।
विश्व स्वास्थ्य संगठनले भारत सरकार र अन्य स्रोतहरूबाट प्राप्त सूचनाका आधारमा त्यही वर्ष ३०५ जनाको मृत्यु रेबिजका कारण भएको जनाएको थियो ।
विश्व स्वास्थ्य संगठनले गरेको अनुमान अनुसार, भारतमा प्रतिवर्ष रेबिजका कारण १८ देखि २० हजारजनाको मृत्यु हुने गरेको छ । संसारभरि उक्त रोगका कारण हुने मृत्युको यो ३६ प्रतिशत हिस्सा हो ।
यसरी मर्नेमध्ये अधिकांश १५ वर्षमुनिका बालबालिका छन् । भुस्याहा कुकुरले बालबालिकालाई आक्रमण गर्ने गरेका छन् ।
सन् २०२५ मा दिल्लीमा मात्र २६ हजार ३ सय ३४ वटा कुुकुरले टोक्ने घटना आधिकारिक रूपमा रिपोर्ट गरिएको छ । तीमध्ये ९ हजार ९ सय २० वटा केस सरकारी अस्पतालमा र १५ हजार १० वटा केस रेबिजविरुद्धको खोप केन्द्रहरूमा रेकर्ड गरिएका हुन् ।
म्युनिसिपल कर्पोरेशन अफ दिल्लीको आँकडा अनुसार, सन् २०२४ मा दिल्लीमा ६८ हजार ९० वटा कुकुर टोकाइका केस देखिएका थिए । सन् २०२५ को जुलाई ३१ सम्ममा रेबिजका ४९ वटा केस देखिएका थिए ।
जनवरी २५ देखि जुन २५ सम्म ६५ हजारवटा भुस्याहा कुकुरलाई बन्ध्याकरण गरिएको छ र खोप लगाइएको छ । त्यही समयमा राजधानी दिल्लीमा ३५ हजार १ सय ९८ वटा कुकुर टोकाइको घटना भएका थिए ।
कुकुरलाई राख्ने आश्रयस्थलको कमी भारतमा विद्यमान छ । द टाइम्स अफ इन्डियाका अनुसार, गुडगाँवमा लगभग ५० हजारवटा भुस्याहा कुकुर छन् तर सञ्चालनमा रहेका जम्मा दुईवटा आश्रयस्थल छन् । त्यसमा जम्मा १० वटा कुकुर अटाउँछन् । थप दुई आश्रयस्थल बनिरहेका छन् ।
सन् २०२३ मा आएको कानून एनिमल बर्थ कन्ट्रोल रुल्स अनुसार, बन्ध्याकरण गरिएका कुकुरलाई मूल स्थानमै फर्काउनुपर्ने बाध्यता छ । त्यसैले विशाल स्तरमा आश्रयस्थलहरू बनाइएका छैनन् ।
कुकुरले टोकेका मानिसलाई तत्कालै र सबै चरणका खोपहरू दिएमा रेबिज लाग्न पाउँदैन । तर, भारतमा भुस्याहा कुकुरहरूको विशाल संख्या, रेबिज खोप सबैतिर पुर्यायन नसकेको स्थिति र जनतामा सचेतताको कमीले रेबिजका कारण हुने मृत्युको संख्या विशाल छ ।
केन्द्र सरकारले विश्वव्यापी स्वास्थ्य लक्ष्यअनुसार सन् २०३० सम्ममा रेबिजलाई निर्मूल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । तर, वर्षैपिच्छे लाखौं कुकुर टोकाइका साथै रेबिजका कारण हुने मृत्युको रिपोर्ट कम हुने स्थितिका कारण समस्या आइरहेको विज्ञहरू बताउँछन् । निरन्तर खोप अभियान, भुस्याहा कुकुर नियन्त्रणमा कठोर उपाय र सार्वजनिक सचेतना पहलले मात्र यस समस्याको समाधान निस्कनेछ ।








प्रतिक्रिया