
काठमाडौं । गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछानेलाई कैदीबन्दीहरुले पाउने सुविधाबाट वञ्चित नगरिएको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बुधबारको बैठकमा गृहमन्त्री लेखकले रुपन्देही कारागारमा रहेका लामिछानेलाई सबै कैदीबन्दीहरूले पाइरहेको सुविधा दिइएको स्पष्ट पारे ।
लामिछानेलाई छुट्टै कोठामा राखिएको र कारागारको प्रशासनले केही समस्या छ की भनेर सोध्ने गरेको गृहमन्त्री लेखकको भनाइ छ ।
विशेष सुविधा दिइएको भन्ने कुरा नभएको उनले स्पष्ट पारे ।
‘रवि लामिछानेजीलाई सबै कैदी बन्दीहरूले पाइरहेको सुविधाबाट वञ्चित गर्ने अवस्था होइन । अब मानव अधिकार आयोगले पनि गएर केही रिपोर्टहरू दिएको छ । जेलहरू कन्जेस्टेड छन् । उहाँलाई सानै भए पनि अलग्गै कोठामा राखिएको छ । उहाँ बस्नुभएको छ । उहाँलाई लगातार त्यहाँको कारागारको प्रशासनले केही समस्या छ की, केही गर्नुपर्छ की भनेर सोधेकै अवस्था छ,’ उनले भने, ‘उहाँलाई विशेष सुविधा दिइएको छ भन्ने पनि होइन । तर न्यूनतम सुविधाबाट कारागारभित्र प्राप्त हुने सुविधाबाट वञ्चित गरिएको होइन । कारागार सार्ने कुरा अघि बढेको छ ।’








प्रतिक्रिया