प्रधानमन्त्री ओलीले कड्किँदै भने: तपाईंहरूले मल नदिने, जनताबाट गाली हामीले खानुपर्ने ?

3.1k
Shares

काठमाडौं । रासायनिक मलको चर्को अभाव भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दुई सरोकारवाला मन्त्रीसहित रासायनिक मल प्रदायक निकायसँग छलफल गरेका छन् ।

छलफलमा कृषि मन्त्री रामनाथ अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, कृषि सामाग्री कम्पनी, नेपाल आयल निगम र साल्ट ट्रेडिङ कर्पोरेशनका पदाधिकारी सहभागी थिए ।

छलफललाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले भने, ‘किसानलाई चाहिएको समयमा पर्याप्त मल उपलब्ध गराउने तपाईहरुको जिम्मेवारी हो । तपाईहरुले समयमा चाहिएको परिमाणमा मल उपलब्ध नगराउँदा जनताबाट हामी(प्रधानमन्त्री र मन्त्रीहरु) ले गाली खानुपर्ने हो र ? यो तरिका ठिक भएन । जुन निकायले जे कुराको जिम्मेवारी लिनु भएको छ, त्यो जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्नु पर्छ ।’

मल आपूर्ति गर्ने कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका पदाधिकारीलाई संकेत गर्दै उनले यस्तो प्रश्न गरेका थिए । प्रधानमन्त्रीले मल आपूर्ति गर्ने जिम्मेवारी लिएका ति दुवै निकायले जनतालाई चाहिएको परिमाणमा समयमा उपलब्ध गराउन युद्धस्तरमा काम गर्न निर्देशन दिएका थिए ।

कृषि र उद्योग मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीबाट तीन दिनभित्र सम्पादन गर्ने गरी तीन बुँदे निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनले रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन, कम्पोस्ट र अर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन र माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउन निर्देशन दिएका थिए ।