च्याटजीपीटी बनाउने कम्पनीले आफ्ना कर्मचारीहरूलाई लाखौं डलरको बोनस बाँड्ने

168
Shares

एजेन्सी । च्याटजीपीटी बनाउने ओपनएआई कम्पनीले आफ्ना एआई अनुसन्धाता र इन्जिनियरहरूलाई ठूलो रकम दिने भएको छ ।

आफ्नो पछिल्लो संस्करण जीपीटी–५ सार्वजनिक गर्नुभन्दा अघिल्लो दिन ओपनएआईले यस्तो बोनसको घोषणा गरेको हो ।

ओपनएआईका एक हजारभन्दा बढी कर्मचारीहरूलाई बोनस दिइने द भर्ज नामक सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको छ ।

ठ्याक्कै कति रकम दिने हो भन्ने स्पष्ट छैन । तर, कर्मचारीहरूको भूमिका र वरियतालाई हेरेर त्यसको निर्णय गरिनेछ ।

विशेषगरी ओपनएआईका अनुसन्धाताहरूलाई १० लाख डलरको रेन्जमा पैसा दिइनेछ । उनीहरू अहिल्यै लाखौं डलर तलब खाने गर्छन् ।

इन्जिनियरहरूले चाहिँ एक लाख डलरको रेन्जमा बोनस पाउनेछन् ।

तर, यी रकमहरू एकैपटकमा दिइने छैन । आगामी दुई वर्षमा अलिअलि गरेर दक्ष कर्मचारीहरूलाई यो रकम दिइनेछ । उनीहरूले ओपनएआईमा स्टकका साथै नगद समेत पाउनेछन् ।

ओपनएआईले पहिलोपटक धेरै कर्मचारीहरूलाई बोनस दिन लागेको हो । कम्पनीका लगभग एकतिहाई कर्मचारी यसबाट लाभान्वित हुनेछन् ।

एआईमा प्रतिभा देखाएका मानिसलाई भित्र्याउनका लागि हानथाप चलिरहेको बेलामा ओपनएआईले बोनस बाँडेको हो । ओपनएआईका अनुसन्धाताहरूलाई राम्रो पैसा दिने प्रस्ताव गर्दै अरू कम्पनीहरूले चोरेर लगेका छन् । मेटाले त्यसमा अग्रणी भूमिका खेलिरहेको छ ।

यो विशेष बोनस सबै कर्मचारीमा लागू नभएकाले ओपनएआईले थप कर्मचारी गुमाउन सक्ने सम्भावना छ । आफूलाई कम्पनीले बेवास्ता गरेको भन्ठानेमा कर्मचारीहरू राम्रो तलब लिएर अर्कोमा जान सक्छन् ।

ओपनएआईको कुल सम्पत्ति ३०० अर्ब डलर रहेको छ ।