भारतले नेपालबाट थप २०० मेगावाट बिजुली किन्ने, कुल निर्यात हजार मेगावाट बढी

224
Shares

काठमाडौं । भारत सरकारले थप २०० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । भारतले नेपालका विभिन्न जलविद्युत आयोजनाबाट उत्पादन भएको विजुली किन्ने सहमति दिएको हो ।

यसअघि अनुमति प्राप्त ८१०.९ मेगावाट र थपिएको २०० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०१०.९मेगावाट पुगेको छ । बंगलादेश निर्यातको ४० मेगावाट सहित नेपालको कुल निर्यात स्विकृति १०५०.९ मेगावाट पुगेको छ ।

पछिल्लो पटक साउन २६ गते भारत सरकारबाट प्राप्त स्विकृति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर सम्मको लागि हो । यस अन्तर्गत लिखु-२, लिखु खोला ए ,लोअर सोलु, ठूलो खोला ,सुपर कावेली खोला ए र सुपर कावेलि खोलाबाट उत्पादन भएको विद्युत पर्दछ । आर्थिक वर्ष ८१/८२ मा १७ अर्व ४७ करोड रुपैया बराबरको विद्युत निर्यात भएकोमा भारत सरकारबाट प्राप्त भएको थप निर्यात अनुमति र आगामी दिनमा थप प्राप्त हुने स्विकृतीले यो वर्ष निर्यात दोब्बर हुने अनुमान गरिएको छ ।