
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ मा ७१ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८१ मा कम्पनीले ६८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएकोमा गत आवमा नाफा ३.६३ प्रतिशतले बढेको हो ।
कम्पनीको खुद बिमाशुल्कसँगै कुल आम्दानीमा वृद्धि हुँदा नाफा पनि बढेको हो । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार कुल अम्दानी ३ अर्ब ९ करोड ९३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ३ अर्ब ३ करोड ६८ लाख रुपैयाँ थियो ।
कम्पनीले गत आवमा २ अर्ब ५ करोड ७६ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको १ अर्ब ८४ करोड ४१ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेकोमा गत आवमा ११.५८ प्रतिशतले बढेको हो । कम्पनीको खुद बिमाशुल्क बढे पनि कमिसन आम्दानी र लगानी तथा ऋणको आम्दानीमा कमी आउँदा कुल आम्दानी भने खासै बढ्न सकेन ।
अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ३ करोड ६९ लाख रुपैयाँ रहेको कम्पनीको कुल आम्दानी गत आर्थिक वर्षमा २.०६ प्रतिशत वृद्धि भएर ३ अर्ब ९ करोड ९४ लाख पुगेको छ । कम्पनीको आम्दानीमा समान्य सुधार हुँदा खर्च भने केही घटेको छ । गत आवको असार मसान्तसम्मको तथ्यांकअनुसार कम्पनीको कुल खर्च २ अर्ब ८ करोड ८३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको असार मसान्तसम्म कम्पनीको यस्तो खर्च २ अर्ब १६ करोड ८ लाख रुपैयाँ थियो ।
गत आवको वित्तीय विवरणअनुसार कम्पनीको कुल दायित्व ७ अर्ब ७९ करोड १९ लाख रुपैयाँ छ । अघिल्लो आवमा यस्तो दायित्व ६ अर्ब ८७ करोड २७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको लगानी गत आवको असार मसान्तसम्ममा आईपुग्दा ९ अर्ब २२ लाख रुपैयाँ रहेको देखिन्छ जुन अघिल्लो आवको सोही अवधिमा ९ करोड ३० लाख रुपैयाँ थियो ।
चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको नाफामा सामान्य सुधार हुँदा प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो आवमा २४ रुपैयाँ ५२ पैसा रहेको प्रतिसेयर आम्दानी गत आवमा बढेर २५ रुपैयाँ ४१ पैसा पुगेको हो । कम्पनीको प्रतिसेयर नेटवर्थ २७४.५६ रुपैयाँ छ । कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ छ भने सेयरधनीलाई लाभांश दिन मिल्ने सञ्चित नाफा ९५ करोड ५१ लाख पुगेको छ ।







प्रतिक्रिया