आम्दानी वृद्धि र प्रोभिजन कमीले एनएमबिको नाफा ३ अर्बमाथि, रिकभरीका कारण लाभांश क्षमता १०%

7.6k
Shares

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा ४६ प्रतिशतले बढाएको हो ।

आव २०८०/८१ मा २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ नाफा गरेको एनएमबिले नाफा उल्लेख्य रुपमा बढाउन सक्नुको कारण हो, आम्दानीमा वृद्धि र सम्भावित नोक्सानीका लागि गर्नुपर्ने व्यवस्था अर्थात् प्रोभिजनिङमा कमी ।

बैंकले आव २०८१/८२ मा ८ अर्ब २ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने खुद फि एन्ड कमिसन आम्दानी २ अर्ब १८ करोड १७ लाख रुपैयाँ रहेको छ । यता ९५ करोड ८१ रुपैयाँ नोक्सानी व्यवस्था अर्थात् प्रोभिजनिङ गरेको छ । जबकि अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस्ता आम्दानी र नोक्सानी व्यवस्था क्रमशः ७ अर्ब २१ करोड ६७ लाख, १ अर्ब ७९ करोड ३९ लाख र २ अर्ब ३ करोड ८० लाख थिए ।

करिब ७० करोड नेट ट्रेडिङ इन्कम र अदर अपरेरिङ इन्कमसहित बैंकले २०८१/८२ मा ९ अर्ब ९२ करोड ३६ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । गत आव यस्तो आम्दानी ७ अर्ब ४७ करोड ९२ लाख रुपैयाँ थियो ।

बैंकको खर्च सामान्य दरले बढेको छ भने करिब ६६ करोड रुपैयाँ गैरसञ्चालन खर्च देखिएको छ । यो खर्च राइट अफ (नोक्सानी बुक) गरिएको कर्जा हो । अघिल्लो आवमा यस्तो खर्च २ करोड रुपैयाँमात्र थियो । यसले सञेचालन नाफाको तुलनामा नाफा भन बढ्न सकेको देखिएन ।

नाफा उल्लेख्य मात्रामा बढ्दा एनएमबिको प्रतिसेयर आम्दानीमा भारी सुधार आएको छ । २०८१ असार मसान्तसम्म १२ रुपैयाँ २२ पैसा रहेको ईपीएस २०८२ असारमा १७ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

यता बक्यौता ब्याज उठाएर ५९ करोड ३० लाख रुपैयाँ रकम नियामकीय जगेडाबाट फिर्ता गरेको बैंकले गैरबैंकिङ सम्पत्ति बुक गरेर ३५ करोड रुपैयाँ सो कोषमा थप गरेको छ । यसरी बैंकले गरेको ३ अर्ब २८ करोड रुपैयाँमध्ये २ अर्ब ३३ लाख रुपैयाँमात्र लाभांशका रुपमा बाँड्न सक्ने देखिन्छ । यद्यपि गत आवसम्म रहेको ९ करोड ३८ लाख रुपैयाँ सञ्चित नाफा घटाउँदा २०८२ असार मसान्तसम्मको वितरणयोग्य नाफा अर्थात् रिटेन्ड अर्निङ १ अर्ब ९० करोड ९५ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाखका आधारमा बैंकको लाभांश क्षमता १०.४० प्रतिशत देखिन्छ ।

२०८२ असार मसान्तको तथ्यअनुसार एनएमबिको निष्क्रिय कर्जा थोरै बढेर ३.७२ प्रतिशत पुगेको छ जबकि खुद निष्क्रिय कर्जा १.३७ प्रतिशत छ । एक वर्षको अवधिमा बैंकको बेसरेट ८.४२ प्रतिशतबाट घटेर ६.२२ प्रतिशत कायम भएको छ भने ब्याजदर स्प्रेड ३.९९ प्रतिशतबाट ३.८२ प्रतिशत कायम भएको छ ।

यसैगरी प्राथमिक पुँजी अनुपात पनि ९.७२ प्रतिशतबाट कम भएर ९.१८ प्रतिशत कामय हुँदा नेटवर्थ प्रतिसेयर १७६ रुपैयाँ ८१ पैसा र पीई रेसियो १५.१० रहेको छ ।

बैंकले २ खर्ब ८० अर्ब ९३ करोड रुपैयाँ निक्षेप परिचालन गरी २ खर्ब २९ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । १ वर्षको अवधिमा बैंकले निक्षेप ५७ अर्बले बढाउँदा कर्जा ३५ अर्बले विस्तार गरेको छ ।

सारांशः

नाफाः रू ३ अर्ब २८ करोड
प्रतिसेयर आम्दानीः
रू १७.८७
निष्क्रिय कर्जाः
३.७२ %
प्राथमिक पुँजी पर्याप्तताः
९.१८ %
निक्षेपः
रू २ खर्ब ८० अर्ब ९३ करोड
कर्जाः
रू २ खर्ब २९ अर्ब १२ करोड
खुद ब्याज आम्दानीः
रू ८ अर्ब २ करोड ९ लाख
नोक्सानी व्यवस्थाः
रू ९५ करोड ८१ लाख
वितरणयोग्य नाफाः
२ अर्ब ३३ लाख
लाभांश क्षमताः
१०.४० %