नाइमा एक्सपोमा बीवाईडीले मच्चायो ‘धुम’, ८ सय गाडी बुकिङ हुँदा एट्टो वान मात्र ६०%

8.3k
Shares

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा चिनियाँ विद्युतीय ब्रान्ड बीवाईडीका ८०० भन्दा बढी गाडीहरू बुकिङ भएका छन्।

बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नाइमामा राखेको मध्ये एट्टो–१मा सर्वाधिक चासो अवलोकनकर्ताहरुमा देखिएको थियो ।

कम्पनीका सेल्स म्यानेजर आशुतोष गौतमका अनुसार एक्सपोमा बुकिङ भएको मध्ये ४० प्रतिशत एट्टो–१का लागि रहेको छ ।

‘एक्पोमा हाम्रो ८०० भन्दा बढी गाडी बुकिङ भएका छन्,’ एक्सपो समापन भएपछि क्लिकमान्डुसँग उनले भने, ‘त्यसमध्ये ६० प्रतिशत एट्टो–१ को बुकिङ भएको छ ।’ उनका अनुसार करिब ५ सयवटा एट्टो १ बुकिङ भएको छ । त्यसपछि भर्खरै नेपाल भित्रिएको सिलायनमा पनि उल्लेख्य आकर्षण देखिएको छ। उनका अनुसार करिब १५० वटा सिलायन बुकिङ भएको छ । बाँकी २ सय अट्टो ३ र डल्फिन बुकिङ भएको उनले जानकारी दिए ।

एटो-वान स्ट्यान्डर्ड रेन्ज डाइनामिक र लङ रेन्ज प्रिमियम गरी दुई भेरियन्टमा आएको थियो । डाइनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको थियो ।

बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले इलेक्ट्रिक ह्याचब्याक बीवाईडी एट्टो–१ आधिकारिक रुपमा एक्स्पोमा सार्वजनिक गरेको थियो ।

विश्वव्यापी रुपमा बीवाईडी सिगल, बीवाईडी डल्फिन मिनी अथवा डल्फिन सर्फ भनिने बीवाईडी एट्टो–१ नेपालको सहरी इलेक्ट्रिक मोबिलिटीका लागि गेम चेन्जर बनेर आएको कम्पनीले दाबी गरेको छ । यो गाडीले वल्र्ड कार अवाड्र्समा वल्र्ड अर्वन कार अफ दि इयर २०२५ को उपाधि समेत प्राप्त गरिसकेको छ । नेपालमा डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टका बीवाईडी एट्टो १ ईभी उपलब्ध हुने थियो ।

डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३०० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । यी दुई भेरिएन्टको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० मा बनेको र क्रान्तिकारी ब्लेड ब्याट्रीद्वारा सुसज्जित एट्टो १ मा सेल–टु–बडी (सीटीबी) टेक्नोलोजी रहेको छ । एक्स्पो भरीका लागि नाइमाले नगद छुट, निःशुल्क एक वर्षको अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको एक्सटेन्डेड वारेन्टी, निःशुल्क एसेसरिजका साथै १० वर्ष सम्म निःशुल्क एप कनेक्टिभिटी सब्स्क्रिप्सन उपलब्ध गराएको छ ।

शोमा डल्फिन, अट्टो ३ र दुई हप्ताअघि मात्र सार्वजनिक भएको सिलायन प्रदर्शनीमा राखिएको थियो ।