रविको कोठामा एसी छैन, झ्याल पनि बन्द: मानव अधिकार आयोग

2.6k
Shares

बुटवल । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाईउडले टालेर बन्द गरिएको स्पष्ट पारेका छन् ।

कारागारको अनुगमनपछि आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाको अभाव रहेको बताएका हुन् ।

आयोगकी प्रवक्ता लिली थापाका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, पर्याप्त शौचालय नभएको र भएका शौचालयहरूको अवस्था पनि सन्तोषजनक नभएको पाइएको छ ।

उनले रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले हावा फ्रिली पास नहुने, कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेसमा प्रयोग हुने किसिमका गरी दुईवटा मात्र पंखा रहेको जानकारी दिइन् । जेल प्रशासनले सुरक्षाका कारण झ्याल टालिएको बताए पनि, आयोगको आग्रहपछि खोल्न तयार भएको उनले उल्लेख गरिन् ।

यससँगै, आयोगले रवि लामिछानेको स्थानान्तरण प्रक्रिया रोकिएको विषयमा पनि गम्भीर चासो व्यक्त गरेको छ । आज भैरहवा कारागार पुगेर लामिछानेलाई भेटेपछि आयुक्त थापाले कारागार सरुवाका लागि रविले निवेदन दिइसकेको र अदालतले पनि अनुमति दिइसकेको भए पनि अझैसम्म सरुवा नभएको र यो गम्भीर विषय रहेको बताइन् ।