निष्क्रिय कर्जा घट्दा एभरेष्ट बैंकको नाफा ३३%ले बढ्यो, लाभांश क्षमता ३८%, ईपीएस ३८ रूपैयाँ

308
Shares

काठमाडौं । निष्क्रिय कर्जा घटेसँगै घटेको कर्जा नोक्सानी व्यवस्था र खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीमा वृद्धि हुँदा एभरेष्ट बैंकको नाफा उल्लेख्य बढेको छ । गत आर्थिक वर्ष २०८१/८३ मा बैंकले ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ नाफा कमाएकामा गत आर्थिक वर्षमा ३२.८१ प्रतिशतले बढेको हो ।

व्यवसाय विस्तारसँगै बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । २०८१ असारमा १ खर्ब ७८ अर्ब २१ करोड ५४ लाख रहेको बैंको कर्जा लगानी २०८२ असारमा १९.८७ प्रतिशतले बढेर २ खर्ब १३ अर्ब ६२ करोड ३५ लाख पुगेको छ । यस्तै निक्षेप २ खर्ब ३२ अर्ब ३१ करोड ६६ लाखबाट २८.६३ प्रतिशतले बढेर २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ पुगेको छ । निक्षेप र कर्जा दुवै बढे पनि बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ६४ करोड ८२ लाखबाट १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड ९४ लाख पुगेको छ । यस्तै फि तथा कमिसन आम्दानी १ अर्ब ३४ करोड ३१ लाखबाट बढेर १ अर्ब ५२ करोड ८९ लाख पुगेको छ भने नेट ट्रेडिङ आम्दानी ३५ करोड ३७ लाखबाट बढेर ४९ करोड ९४ लाख पुगेको छ ।

समग्र आम्दानी बढेको र निष्क्रिय कर्जा घटेसँगै कर्जा बढाए पनि बैंकको कर्जा नोक्सानी व्यवस्था अघिल्लो वर्षको तुलनामा घटेको छ । बैंकले अघिल्लो वर्ष २८ करोड २४ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएकोमा गत वर्ष १६ करोड १७ लाख प्रोभिजन राइटब्याक गरेको छ । ०.७१ प्रतिशत पुगेको बैंकको निष्क्रिय कर्जा घटेर ०.३८ प्रतिशतमा झरेको हो । जसले बैंकको नाफा उल्लेख्य बढेको छ ।

बैंकको सञ्चालन नाफा ५ अर्ब ६६ करोडबाट ३१.६३ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

निष्क्रिय कर्जा घटेपनि बैंकको उठ्न बाँकी बक्यौता ब्याज बढेको छ । गत आर्थिक वर्षमा ब्याज उठाउन नसक्दा बैंकले नाफाबाट २१ करोड ३ लाख नियामकीय जगेडामा ट्रान्सफर गरेको छ । गत आर्थिक वर्षमा मात्रै बैंकले ३ अर्ब ३० करोड २४ लाख वितरणयोग्य नाफा आर्जन गर्दा अघिल्लो वर्षको सञ्चित नाफा सहित सेयरधनीलाई लाभांश बाँड्नसक्ने सञ्चित नाफा ४ अर्ब ९५ करोड ४५ लाख रुपैयाँ पुगेको छ । यसबाट बैंकले ३८.२७ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता राख्छ ।

अघिल्लो आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर बाँडेर चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४७ लाख पुगेको छ । चुक्तापुँजी बढ्दापनि बैंकको नाफा उच्च वृद्धि हुँदा प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४७ पैसाबाट बढेर ३७ रुपैयाँ ९९ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा, मूल्य आम्दानी अनुपात १८.४७ गुणा छ । बैंकको प्राथमिक पुँजीकोष अनुपात १०.४२ प्रतिशत सहित कुल पुँजीकोष अनुपात १३.२८ प्रतिशत छ । त्यस्तै निष्क्रिय कर्जा ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशतमा झरेको छ । सीडी रेसियो ७७.४८ प्रतिशत र आधार दर ५.३६ प्रतिशतमा झरेको छ ।