
काठमाडौं । कोरोनाले थलिएको अर्थतन्त्र विस्तारै तंग्रिदै गरेको अवस्थामा विभिन्न ब्रान्डका सवारीसाधन बिक्री गर्ने ८ वटा विक्रेताले गत आर्थिक वर्षमा उच्च व्यापार गरेको देखिन्छ । कोरोनाका कारण थलिएर घट्दो क्रममा रहेको सवारीसाधनको व्यापार पछिल्ला दिनहरुमा उल्लेख्य सुधार भएको छ ।
गत आर्थिक वर्षको ९ महिनाको अवधिमा विभिन्न ब्रान्डका सवारीसाधन विक्रेताले उच्च व्यापार गरेका छन् । कम्पनीहरुका अनुसार अर्थतन्त्र विस्तारै चलायमान हुन थालेसँगै व्यापार रिबाउन्ड हुँदै गएको जनाएको छ । गत आवको ९ महिनाको अवधिमा ८ वटा सवारीसाधन बिक्री गर्ने कम्पनीहरुले साढे ३२ अर्ब रुपैयाँको व्यापार गरेका छन् ।
कम्पनीहरुले गत आवको ९ महिनाको अवधिमा ३२ अर्ब ६१ करोड ५० लाख रुपैयाँको व्यापार गरेका हुन् । हालसम्म सार्वजनिक भएको तथ्यांकअनुसार ८ वटा कम्पनीहरुले विगतका वर्षहरुको तुलनामा बढी व्यापार गरेको पाइएको हो ।
गत आवको ९ महिनाको अवधिमा हंशराज हुलासचन्द एन्ड कम्पनीले ११ अर्ब २२ करोड ६० लाख रुपैयाँ, हुलास अटो क्राफ्टले ६ अर्ब ४६ करोड १० लाख रुपैयाँ, एसटीसी अटो प्रालिले ७३ करोड ५० लाख रुपैयाँ, शशिला मोटर्सले ५१ करोड ८० लाख रुपैयाँ, ओम्नी मोटर्सले ७९ करोड ४० लाख रुपैयाँ र बतास ट्रयाक्टरले ४४ करोड ३० लाख रुपैयाँको व्यापार गरेका छन् ।
त्यस्तै हिमाल मोटो नेपालले ११ महिनाको अवधिमा ३ अर्ब १४ करोड १० लाख रुपैयाँ र स्याकर ट्रेडिङ कम्पनीले ८ महिनाको अवधिमा ९ अर्ब २९ करोड ७० लाख रुपैयाँको व्यापार गरेका छन् । गत आवमा अघिल्ला वर्षहरुको तुलनामा व्यापार रिबाउन्ड हुँदै गएकाले चालु आवमा पनि व्यापार बढ्ने अनुमान गरेका छन् ।
त्यस्तै, नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले आयोजना गर्न लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ भोलिदेखि देखि २५ गतेसम्म हुन लागेको छ । काठमाडौंको भृकुटीमण्डमा हुने एक्स्पोका लागि नाइमाले ३५ वटा नयाँ सवारीसाधन लन्च गर्ने भएको छ ।
एक्स्पोमा चारपांग्रेतर्फ बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, हुन्डाई, केई, किया, लीपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फस्कवागेन र जीकर ब्रान्ड देख्न पाइनेछ ।
यस्तै, दुईपांग्रेतर्फ एम्पियर, एथर, बजाज, बेनिली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहोले उपस्थिति जनाउनेछन् । कमर्शियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङलाई पनि प्रदर्शनीमा देख्न पाइनेछ । नाइमा अटो शोमा पुराना तथा सोही प्रदर्शनीमा लन्च हुने नयाँ गाडी हेर्न पाइनेछ ।
यता नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२५’ आयोजना गर्ने भएको छ । कार्यक्रमले देशको मोटर उद्योगमा नयाँ उत्साह र नवप्रवर्तन ल्याउने अपेक्षा गरिएको नाडाको भनाइ छ ।
नाडा अटो शोमा १९ वटा चारपांग्रे ब्रान्डहरू,१३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू प्रदर्शनीमा राखिने छन् । त्यस्तै ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्था गरि ३५ कम्पनीहरूको पनि स्टल रहने छ ।
नाडा अटो शोमा प्रमुख आकर्षणहरूमा भिन्टेज मोटर, मेड इन नेपाल प्याभिलियन, इन्टरनेसनल बिजनेस प्याभिलियन, साथै ईभी, स्मार्ट मोबिलिटी र दिगोपनमा केन्द्रित सेमिनार, कार्यशाला र अन्तरक्रियाहरू रहेका छन् ।
कम्पनीहरुले अटो शो तथा एक्स्पोमार्फत् नयाँ सवारीसाधनको लञ्चसँगै व्यापार पनि वृद्धि हुने अपेक्षा गरेका छन् । कम्पनीहरुले विगतका वर्षहरुको तुलनामा चालु आवमा व्यापार उल्लेख्य वृद्धि हुने सबैको अनुमान पनि छ ।
कसको कति व्यापार ?
हंसराज हुलासचन्द एन्ड कम्पनी र हुलास अटो क्राफ्टः
गोल्छा ग्रुपको दुई कम्पनीले गत आवको ९ महिनाको अवधिमा साढे १७ अर्ब बढीको व्यापार गरेका छन् । ग्रुपको हंसराज हुलासचन्द एन्ड कम्पनी र हुलास अटो क्राफ्टले गत आवको ९ महिनाको अवधिमा १७ अर्ब ६८ करोड ७० लाख रुपैयाँको व्यापार गरेका हुन् ।
हंसराज हुलासचन्द एन्ड कम्पनीले गत आवको ९ महिनाको अवधिमा ११ अर्ब २२ करोड ६० लाख रुपैयाँ र हुलास अटो क्राफ्ट प्रालिले ६ अर्ब ४६ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ ।
सन् १९५९ मा स्थापना भएको हंसराज हुलासचन्द एन्ड कम्पनीले सन् २०२४ मा १० अर्ब ६७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार हेर्दा गत वर्षको व्यापारको तुलनामा सन् २०२५ को ९ महिनाको अवधिमा उच्च व्यापार गरेको पाइएको छ । कम्पनीले सन् २०२३ मा १० अर्ब ७६ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा २१ अर्ब ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनी बजाज ब्रान्डको दुई पांग्रे र तीन पांग्रे सवारी साधनको आधिकारिक विक्रेता हो । साथै, दुई पांग्रे सवारी साधन केटीएम, ट्र्यिम्प र सर्भो लुब्रिक्यान्टको पनि आधिकारिक विक्रेता हो । कम्पनीले उक्त सामग्री आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीको देशभर ३ सयभन्दा बढी शाखा छन् । गोल्छा ग्रुपद्वारा सञ्चालित यस कम्पनीमा १९ जनाको स्वामित्व छ । कम्पनीको अध्यक्ष शेखर गोल्छाको ५३.८ प्रतिशत र अन्य १८ जना सदस्यको ३.७५ प्रतिशत अर्थात् त्यसभन्दा कम स्वामित्व रहेको उल्लेख गरेको छ । अघिल्लो वर्षको तुलनामा गत आवमा कम्पनीको व्यापार ४० प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी, ग्रुपको अर्को कम्पनी हुलास अटो क्राफ्टले गत आवको ९ महिनाको अवधिमा ६ अर्ब ४६ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ५ अर्ब ६१ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा १० अर्ब ७४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीअनुसार गत आवमा व्यापार उल्लेख्य बढेको जनाएको छ । सन् २०१८ मा पहिलो पटक दुई पांग्रे सवारी साधन एसेम्बल गरी व्यवसायिक कारोबार सुरु गरेको कम्पनीले सन् २०१९ बाट तीन पांग्रे सवारी साधनको एसेम्बल सुरु गरेको थियो ।
कम्पनीले नेपालमा नै बजाज ब्रान्डको दुई पांग्रे र तीन पांग्रे सवारी साधनको एसेम्बलिङ गर्दै आएको छ । यो कम्पनी हंसराज हुलाचन्दको सहायक कम्पनी हो । कम्पनीको एसेम्बल प्लान्ट रामग्राममा छ । सन् २०१३ मा स्थापना भएको कम्पनी गोल्छा अर्गनाइजेसनद्वारा सञ्चालित भइरहेको छ । कम्पनीमा शेखर गोल्छाको ८० प्रतिशत र २० प्रतिशत आकाश गोल्छाको स्वामित्व छ ।
हिमाल मोटो नेपाल
होन्डा ब्रान्डको स्कुटर एसेम्बल गर्ने हिमाल मोटो नेपालले गत आवको ११ महिनाको अवधिमा ३ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले गत आवको ११ महिनाको अवधिमा ३ अर्ब १४ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा ३९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२० मा स्थापना भएको कम्पनीले रुपन्देहीमा एसेम्बल प्लान्ट निर्माण गरी होन्डा ब्रान्डको स्कुटरको उत्पादन गर्दै आएको छ । कम्पनीले स्किेडी पार्ट आयात गरी नेपालमै उत्पादन सुरु गरेको हो ।
यो कम्पनी स्याकर ट्रेडिङ कम्पनीको सिस्टर कम्पनी हो । ज्योती ग्रुपद्वारा सञ्चालित यस कम्पनीमा शौरभ ज्योती र सुह्रिद ज्योतीको बराबर स्वामित्व रहेको छ ।
स्याकर ट्रेडिङ कम्पनीले सन् १९७६ देखि होन्डा ब्रान्डको सवारीसाधनको व्यापार गर्दै आएको छ । कम्पनी होन्डा ब्रान्डको सवारीसाधन बेच्ने आधिकारिक कम्पनी हो । कम्पनीले चारपाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनसहित होन्डा पावर सामग्रीको पनि बिक्री वितरण गर्दै आएको छ ।
स्याकरको सहायक कम्पनी रहेको हिमाल मोटोले सन् २०२४ को अप्रिलबाट व्यवासायिक कारोबार सुरु गरेको थियो । सन् २०२४ मा व्यापार गरेकोमध्ये ६५ प्रतिशत हिस्सा स्कुटरको थियो । साथै, नेपालमै उत्पादन सुरु गरेसँगै बजार निकै सकारात्मक भएको कम्पनीले जनाएको छ ।
स्याकर ट्रेडिङ कम्पनी
नेपाली बजारमा होन्डा ब्रान्डको सवारी साधन बेच्ने स्याकर ट्रेडिङ कम्पनीले गत आवको व्यापारमा उच्च वृद्धि भएको छ । कम्पनीले गत आवको ८ महिनाको अवधिमा उच्च कारोबार गर्दा व्यापारमा सुधार आएको पाइएको हो ।
कोरोनापछि आर्थिक मन्दीका कारण खस्किएको व्यापार पुनः रिबाउन्ड हुँदै गएको कम्पनीको व्यापारको तथ्याङ्कले देखाउँछ । कम्पनीले रेटिङमार्फत् गत आवको ८ महिनाको अवधिमा ९ अर्ब २९ करोड ७० लाख रुपैयाँको व्यापार गरेको जनाएको छ ।
कम्पनीले सन् २०२४ मा १० अर्ब ८४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२३ मा ९ अर्ब ७१ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा १५ अर्ब ३५ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा १३ अर्ब ४२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले सन् २०२४ मा व्यापार गरेकोमा स्कुटरबाट मात्रै ६५ प्रतिशत आम्दानी गरेको जनाएको छ । सन् २०२३ मा ६६ प्रतिशत उक्त सेग्मेन्टबाट मात्रै भएको थियो । स्कुटरमा पनि बढी बिक्री हुनेमा डियो ११० र डियो १२५ रहेको छ ।
सन् १९७६ मा स्थापित स्याकर ट्रेडिङ सन् २०११ मा अधिग्रहण भएको थियो । यो कम्पनीले होन्डा ब्रान्डका दुई पांग्रे, यात्रुबाहक निजी सवारी तथा होन्डा पावर प्रोडक्टहरु नेपालमा आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएको छ ।
काठमाडौं कान्तिपथस्थित ज्योति भवनमा केन्द्रीय कार्यालय रहेको कम्पनीको देशभरमा १६ वटा बिक्री सोरुम र एक सय बढी डिलरसिपहरु रहेका छन् । कम्पनीमा ज्योति ग्रुपका सौरभ ज्योति अध्यक्ष र सुहृद ज्योति उपाध्यक्ष रहेका छन् । कम्पनीमा दुई जनाको बराबर स्वामित्व छ ।
बतास ट्रयाक्टर प्रालि
बतास ट्र्याक्टरले गत आवको ९ महिनाको अवधिमा ४४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षभन्दा पनि बढी व्यापार गरेको हो ।
कम्पनीले गत आवको ९ महिनाको अवधिमा १४ करोड रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ३० करोड ५० लाख रुपैयाँ, सन् २०२३ मा २६ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा ७६ करोड २० लाख रुपैयाँ र सन् २०२१ मा ७५ करोड रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०१६ मा स्थापना भएको कम्पनी क्याटरपिलर निर्माण सामग्री, गोदरेज सामग्री र प्रोपेल ब्राण्डेड सामग्रीको नेपालका लागि आधिकारिक विक्रेता हो । कम्पनीले सन् २०१७ देखि क्याटरपिलर सामग्री र सन् २०१८ देखि गोदरेज सामग्री र सन् २०२० मा प्रोपेल सामग्रीको बिक्री वितरण सुरु गरेको थियो ।
कम्पनीमा ५ जनाको स्वामित्व छ । बतास परिवारको ६७ प्रतिशत स्वामित्व रहेको छ । बतास अर्गनाइजेशनद्वारा सञ्चालित कम्पनीमा आनन्दराज बतास र शान्तराज बतासको सबैभन्दा बढी स्वामित्व रहेको छ ।
कम्पनी नेपालको लागि भोल्भो आइसर कमर्सियल सवारी साधन बेच्ने आधिकारिक बिक्रेता हो भने टीभीएसको दुई पांग्रे सवारी साधन, मारुती सुजुकी र महिन्द्र ब्रान्डको कमर्सियल र प्यासेन्जर भेइकलको प्रादेशिक डिलर हो ।
एसटीसी अटो प्रालि
एसटीसी अटो प्रालिले चालु आवको ८ महिनाको अवधिमा ७३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब १८ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब १० करोड २० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब १८ करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब १७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनी नेपालको लागि सिट ब्रान्डको टायरको आधिकारिक विक्रेता हो । कम्पनीले विशेष गरी दुई पाङ्ग्रे सवारी साधनको टायर बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीको देशभर तीन वटा शाखा कार्यालय छन् भने २५ भन्दा बढी डिलर छन् । कम्पनीमा प्रबन्ध निर्देशक सुरेन्द्र के उप्रेती र अध्यक्ष भोलेश्वर दुलालको बराबर स्वामित्व छन् ।
कम्पनीअनुसार सन् २०२५ मा गरेको व्यापारमध्ये ३३ प्रतिशत आम्दानी दुई पाङ्ग्रे सवारी साधनको टायर सेग्मेन्टबाट मात्रै भएको उल्लेख गरेको छ । त्यसबाहेक ३२ प्रतिशत आम्दानी व्यवसायिक सवारी साधन सेग्मेन्ट र २९ प्रतिशत निजी सवारी साधन सेग्मेन्टबाट भएको जनाएको छ ।
शशिला मोटर्स प्रालि
नेपाली बजारमा विद्युतीय सवारी साधनको व्यापार गर्दै आएको शशिला मोटर्स प्रालिले गत आवको ९ महिनाको अवधिमा ५१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ४३ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा २४ करोड रुपैयाँ र सन् २०२२ मा १ अर्ब १० करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१४ मा स्थापना भएको कम्पनी आयर, किटन, जेएमसी, चेरी र वान्डा ब्रान्डको विद्युतीय सवारी साधनको नेपालको लागि आधिकारिक विक्रेता हो । कम्पनीले उक्त ब्रान्डको विद्युतीय सवारी साधन सन् २०२४ मो फेब्रुअरीबाट सुरु गरेको उल्लेख गरेको छ ।
कम्पनीले यसअघि टाटा ब्रान्डको व्यवसायिक सवारी साधनको प्रादेशिक डिलर सञ्चालन गर्दै आएकोमा सन् २०२३ देखि बेच्न बन्द गरेको छ । कम्पनीले काठमाडौं र भक्तपुरमा व्यापार बन्द गरेको हो ।
कम्पनीको देशभर आफ्नै ५ वटा शोरुम र दुई वटा प्रादेशिक शाखा छन् । सन्तोष खतिवडाको ४० प्रतिशत र आशिष पौडेल र एमएस कन्टिनेन्टल इन्भेस्टमेन्ट प्रालिको बराबर अर्थात् ३० प्रतिशतको दरले स्वामित्व छ ।
कम्पनीले विद्युतीय सवारी साधनसँगै किया, इसुजु र कोमट्सु ब्रान्डको सवारी सानधको पनि व्यापार गर्दै आएको छ । कम्पनीअनुसार सन् २०२५ को ९ महिनाको अवधिमा हाले सार्वजनिक गरेको हायर र किनोट ब्रान्डको व्यवसायिक सवारी साधनबाट मात्रै ६५ प्रतिशत र ३० प्रतिशत आम्दानी गरेको उल्लेख गरेको छ ।
ओम्नी मोटर्स प्रालि
ओम्नी मोटर्स प्रालिले गत आवको ९ महिनाको अवधिमा साढे ७९ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ को ९ महिनाको अवधिमा ७९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा ७२ करोड ६० लाख रुपैयाँ, सन् २०२३ मा ६९ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब २८ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब १ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
ओम्नी ग्रुपद्वारा सञ्चालित यस कम्पनीको व्यापार हरेक वर्ष कमजोर हुँदै गएको पाइएको छ । कम्पनीअनुसार आर्थिक सुस्तता र मागको चक्रमा परिवर्तन हुँदा सन् २०२३ मा ६९ प्रतिशतले व्यापार घटेको उल्लेख गरेको छ । सन् २०२४ मा भने केही सुधार भएको थियो । त्यस्तै, चालु आवको ९ महिनाको अवधिमा वार्षिक दरले ४६ प्रतिशतले व्यापार बढेको जनाएको छ ।
कम्पनीले विशेषगरी हेभी ट्रक सेग्मेन्टको व्यवसायिक सवारी साधन बिक्री गर्दै आएको छ ।
सन् २०१३ मा स्थापना भएको कम्पनी भारतबेन्ज ब्रान्डको व्यवसायिक सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता हो । वीरगञ्ज पर्सामा कार्यालय रहेको कम्पनीको आफ्नै ११ वटा शोरुम छन् । कम्पनीमा पाँच जनाको स्वामित्व रहेको छ । राजिन्द्र काब्रा, दिपंकर काब्रा, भिनय काब्रा, उदयन काब्रा र सन्दिपकुमार मोहताको स्वामित्व रहेको छ । राजिन्द्र काब्रा अध्यक्ष कम्पनीको अध्यक्ष हुन् ।







प्रतिक्रिया