पर्यटन प्रवर्द्धन र विकास गर्न स्थापना भएको निजी सार्वजनिक साझेदारी (पीपीपी) को नमूना संस्था हो नेपाल पर्यटन बोर्ड । यसको नेतृत्व दीपकराज जोशीले गरेका छन् ।
दोस्रो पटक पर्यटन बोर्ड प्रवेश गरेका जोशीलाई पहिलो कार्यकालजस्तै विवादरहित काम गर्ने र पर्यटन विकासमा निजी क्षेत्रसँगको सहकार्यबाटै नमूना काम गर्नुपर्ने चुनौती छ । उनलाई पर्यटन प्रवर्द्धन, विकास र निजी क्षेत्रसँगको सहकार्य गर्दै प्रभावकारी काम गर्नुपर्ने जिम्मेवारी पर्यटन बोर्ड सञ्चालक समितिले दिएको छ ।
बोर्डले पर्यटन प्रवर्द्धन गर्ने, गुणस्तरीयता बढाउने र अर्थतन्त्रमा योगदान दिन थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने छ । बोर्डको भूमिका र प्रवर्द्धनका विषयमा केन्द्रित रहेर नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीसँग क्लिकमान्डुका राजु बास्कोटाले गरेको कुराकानीको सार-

नेपालमा आउने पर्यटकको रुचि फेरिएको छ, घुमघामका लागि आउने ‘आम पर्यटक’ अब प्रकृतिमा आधारित पर्यटनतर्फ मोडिन पुगेका छन् । तर, नेपालको पर्यटन प्रवर्द्धन चाहिँ पुरानै शैलीमा छ। यसले त पर्यटक आगमनको प्रवृत्ति फेरियो, प्रवर्द्धनको रूप फेरिएन भन्ने देखिएको हो ?
संसारभरिका पर्यटकमा घुम्न जाने प्रवृत्ति बढेको छ । पछिल्लो समय नेपालमा प्रकृतिमा आधारित पर्यटक बढेका छन् । संसारकै पर्यटकको ट्रेन्ड हेर्ने हो भने पनि ७० प्रतिशत जनसंख्या सहर केन्द्रित भइसकेको छ । सहरी जनसंख्याको रोजाइ प्रकृति केन्द्रित पर्यटकमै हुन्छ । त्यसैले पनि घुम्ने प्रवृत्ति फेरिएर नेपाल आउने पर्यटक भनेकै प्रकृतिमा आधारित हुन् । त्यसैमा प्राथमिकता दिन थालेका छौं ।
प्राथमिकता दिँदा यसका फरक विधा छनोट गरेका छौँ नि ?
प्रकृतिमा आधारित पर्यटकसँगै स्वास्थ्य पर्यटनलाई ध्यान दिएर प्रवर्द्धनको काम भइरहेको छ । वनजंगल, सफारी, हेरिटेज, वेलनेस आरोग्य, योगासहितलाई बढी जोड दिएका छौँ । यसलाई बढी प्रचार गर्ने र नेपालले बढीभन्दा बढी लाभ लिने गरी प्रवर्द्धन सुरु गरेका छौँ । नेपालको गन्तव्यको छविलाई ६/७ दशकदेखि नै अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गरेर पर्यटक ल्याइरहेका छौँ । अब ती पर्यटकलाई नेचरबेसमै जोड दिने हो ।
नेपालमा खर्चालु पर्यटक ल्याउनुपर्ने र त्यसका लागि प्रवर्द्धन बढाउनुपर्ने चुनौती बोर्डलाई छ । तर, आम्दानीको एकल स्रोत ‘पर्यटन सेवा शुल्क’ खोस्ने चेतावनी अर्को निकायबाट आइरहेको छ। यसले गर्दा बोर्डलाई आम्दानीमा नयाँ स्रोतको खोज्नु भनेर बेलैमा सचेत गराएको त हैन ?
पर्यटन बोर्डको शुल्क खोस्ने भन्ने त्यति सहज विषय होइन । बोर्ड पनि राज्यकै निकाय हो । यो विषय कतै उठेको छैन । बोर्डले आयआर्जन बढाउने र थप स्रोत खोज्ने गरी पक्कै पनि काम गर्दै गएको छ । बोर्डले पर्यटन पूर्वाधारमा गर्ने काममा अर्को सरकारी निकायसँग डुप्लिकेसन नहोस् भनेर समन्वय गर्ने काम पक्कै भैरहेको छ । एकातिर स्रोतको जोहो गर्ने र भएकै कामको प्रभावकारी कार्यान्वयन पक्कै गर्दै जाने छौँ।

अन्तर निकायसँग बोर्डको समन्वय सन्तुलित छ ?
पर्यटन भनेको एउटै निकायबाट हुने काम होइन । यो अन्तरनिकायको समन्वय र सहकार्यमा अगाडि बढ्ने हो । अध्यागमन, वन्यजन्तु विभाग, राष्ट्रिय निकुञ्जसहितसँग समन्वय गर्नुपर्छ । बोर्डले गर्ने गतिविधि आफैँले गर्नेभन्दा पनि अरु निकायसँगको समन्वयमा गर्ने काम नै बढी प्रभावकारी हुन्छ । त्यो काम बोर्डले गर्दै गएको छ ।
पछिल्लो ५ वर्षमा पर्यटकीय पूर्वाधारले गति लिएको देखिन्छ । तर राज्यले पर्यटकलाई सडक र हवाई सेवालाई सहज बनाउन सकेको छैन । पर्यटक नबढाइ ३० वटाभन्दा बढी ५ तारेसहितका होटल रेस्टुरेन्ट कसरी चल्लान् ?
सबैभन्दा ठूलो चिन्ता र चिन्तनको विषय यही छ । कोभिड अगाडिको अवस्थामा पर्यटक आउन अझै सकेका छैनन् । अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा प्रभावकारी काम हुन नसकेकै भन्नुपर्छ हामीले, कोभिड अगाडिको अवस्थामा पुग्न नसकेको । यद्यपि हामीले आक्रामक बजारीकरण गर्नुपर्ने छ । पछिल्लो समय होटलको अकुपेन्सी कम हुँदै जानु र नयाँ पूर्वाधार थपिँदै जाँदा आक्रामक बजारीकरणको अर्को विकल्प छैन । त्यसकै लागि पर्यटन बोर्डको बजेटको ७० प्रतिशत प्रवर्द्धनमा खर्च गर्ने योजना बनाएर अगाडि बढेका छौँ ।
बोर्डमा यसअघिका सीईओहरु विवादरहित हुन नसकेको परिपेक्षमा दोस्रो पटक सफल हुन के कसरी काम गरिरहनु भएको छ?
अघिल्लो पटकभन्दा यसपटक मप्रति निकै ठूलो अपेक्षा गरिएको छ। यसका लागि मैले मेरो इमान्दार प्रयास पक्कै गर्नेछु । निजी क्षेत्रको सहकार्य मुख्य मन्त्र हो । एकातर्फ बोर्ड नै निजी क्षेत्रमैत्री हो भने अर्कोतर्फ बोर्डका कर्मचारी एक्लैले काम गर्नेभन्दा पनि निजी क्षेत्रसँगकै सहकार्य थप प्रभावकारी बनाउने गरी काम भइरहेको छ ।
यसैको सुरुवातका लागि हो, पहिलो पटक असारमै बजेट ल्याउनुभएको ?
पक्कै पनि, लामो समयपछि समयमा बोर्डले बजेट ल्याएको छ । बोर्डले प्रभावकारी काम गर्नकै लागि बजेट असारमै ल्याएर साउनदेखि कार्यान्वयनमा गएको हो । यसले बोर्ड प्रभावकारी काम गर्न प्रतिबद्ध छ भन्ने नै हो ।
पर्यटन बोर्डले विदेशमा कार्यालय खोल्दै छ, किन हो ?
स्रोत बजारमा हाम्रो प्रत्यक्ष सम्पर्कका लागि नेपालबाहिर कार्यालय खोल्न खोजिएको हो । पर्यटन बोर्ड ऐनमा नै भएको व्यवस्था अनुसार मुख्य स्रोत बजारमा कार्यालय स्थापना गरेर प्रवर्द्धनमा जान खोजिएको हो । भारतबाट सुरु गर्ने र अरु गन्तव्यमा पनि जाने हो । चीन, एसिया, युरोपसम्म पनि कार्यालय स्थापना गर्ने उद्देश्यका साथ बोर्डले काम गरिरहेको छ ।

देश संघीयतामा गएको एक दशकपछि पर्यटन बोर्ड प्रादेशिक कार्यालय विस्तारमा जाँदै छ । प्रादेशिक कार्यालयलाई मन नपरेका कर्मचारी थन्काउने ठाउँ बनाउने कि केन्द्रभन्दा आकर्षक बनाउने ?
यसको उद्देश्य नै पर्यटन प्रवर्द्धन हो । सबै प्रदेशमा प्रभावकारी काम गर्दै जाने भन्ने हो । नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा लगानी बढ्दै गएको छ भने पर्यटकलाई लक्षित गरेर धमाधम पूर्वाधारमा लगानी भइरहेको छ । त्यसैले राजधानीमा भएको ज्ञान पुर्याउने र सम्बन्धित क्षेत्रकै गन्तव्यको प्रवर्द्धनमा जोड दिने नै उद्देश्यले प्रादेशिक कार्यालय खोल्न खोजिएको हो । यस्तो कार्यालय आगामी वर्षमा अरु प्रदेशमा पनि विस्तार गर्दै जाने उद्देश्य बोर्डको छ ।
पर्यटन बोर्डका कर्मचारीको ध्यान विदेश घुम्नमा मात्र हुन्छ भनेर पर्यटन मन्त्रालयकै कर्मचारीले आरोप लगाउँछन् भने बोर्डले गर्ने खालका कार्यक्रम पनि विभागलाई दिइएको हुन्छ, यो असयोग हो कि बुझाइको कमजोरी ?
बुझाइकै कमजोरी हो । बोर्डका बारेमा सही बुझाइ नभएकाले यस्तो भनाइ आएको हुन सक्छ । बोर्डले काम गर्ने भनेकै होटल, ट्राभल, ट्रेकिङसहितका निजी क्षेत्रसँगको सहकार्यमा हो । उहाँहरूसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने गरिएको छ । पर्यटन बोर्डको काम नै बाहिर पुगेर प्रवर्द्धन गर्ने हो । होटल, ट्राभल, ट्रेकिङ, एयरलाइन्ससहितका निकायले नियमित प्रवर्द्धनको काम गरिरहेकै हुन्छन् । यसका लागि स्रोत बजारमा ट्राभल गरेर पुग्नुपर्ने हुन्छ । पर्यटन बोर्डले पनि आफ्नो काम गरेको हो । यसलाई घुमघाम मात्रै गर्यो भनेर बुझ्नु गलत हो । पर्यटनमा गरिएको खर्च लगानी हो भनेर बुझाउन नसक्दा कहिँ कतैबाट गलत बुझाइ भएको हुनसक्छ ।
पूरा अन्तर्वार्ताका लागि भिडियो हेर्नुहोस्–







प्रतिक्रिया