क्रान्ति र नयाँ खालको विद्रोहका लागि अघि बढिरहेको छु: प्रचण्ड

112
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा फेरि एकपटक क्रान्ति र नयाँ खालको विद्रोह आवश्यक रहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा शहीदहरूलाई सम्झँदै प्रचण्डले वर्तमान प्रणालीमा प्रतिक्रियावादी शक्तिहरूले षड्यन्त्र गरिरहेको आरोप लगाए। उनले त्यसविरुद्ध सबैले एकजुट भएर प्रतिरोध गर्नुपर्ने आवश्यकता औंल्याए।

‘हामी फेरि पनि वर्ग संघर्षमा बल गर्दैछौं । प्रतिक्रियावादीको षड्यन्त्रको प्रतिरोध गर्न हामी एकताबद्ध हुँदैछौं,’ उनले भने, ‘म जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधान सभासम्मको यात्रामा संलग्न रहेँ र अझै पनि जीवित छु, नेतृत्वमा छु । त्यसैले अहिले फेरि क्रान्ति र नयाँ खालको विद्रोहमार्फत प्रतिक्रियावादीहरूलाई परास्त गर्नुपर्छ भन्ने दृढ संकल्पसहित अघि बढिरहेको छु। यही मेरो प्रतिबद्धता पनि हो ।’

उनले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने पहल भइरहेको जनाउँदै त्यसमा पनि अवरोध सिर्जना गर्न खोजिएको दाबी गरे । ‘विषय अघि बढेको छ, तर चलखेल पनि भइरहेको छ । तिखो आँखाले हेरिरहनुपर्छ,’ प्रचण्डले भने, ‘यदि हामी एकतावद्ध हुन सक्दैनौं भने अप्ठ्यारो आउन सक्छ। त्यसैले म सबैमा एकताको अपिल गर्दछु ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा मनाउनु पर्नेमा जोड दिए । उनले यो विषय अदालतमा लैजानुपर्ने नभएको भन्दै जनयुद्धको ऐतिहासिक महत्वलाई स्वीकारेर राष्ट्रिय दिवसको रूपमा आत्मसात् गर्नुपर्ने धारणा राखे ।