नेपालमा ईभीको बजार बढ्दै, विदेशी सञ्चारमाध्यममा समेत चर्चा

630
Shares

काठमाडौं । नेपालमा विद्युतीय गाडी (ईभी) को बजार द्रुत गतिमा बढिरहेको छ ।

यस विषयमा अमेरिकाको प्रख्यात पत्रिका न्युयोर्क टाइम्सले पनि समाचार बनाएको छ । लिडिया डीफिलिस र भद्र शर्माले लेखेको ‘द कन्ट्री ह्वेर ७६ पर्सेन्ट अफ कार्स सोल्ड आर इलेक्ट्रिक’ मा नेपालको ईभीप्रतिको बढ्दो आकर्षणको चर्चा गरिएको छ ।

समाचारमा उल्लेख भएअनुसार, नयाँ गाडीहरूमध्ये ७६ प्रतिशत र साना व्यापारिक गाडीमध्ये ५० प्रतिशत ईभी नै छन् । यो पाँच वर्षको तुलनामा निकै ठूलो फड्को हो किनकि आधा दशकअघि नेपालका सडकमा विद्युतीय गाडी खासै देखिँदैनथिए ।
यस द्रुत परिवर्तनका पछाडि विभिन्न कारणहरू विद्यमान छन् । जलविद्युतमा निर्भरता, ईभीमा भारी करछुट र सुलभ मूल्यमा चिनियाँ गाडीहरूको सहज उपलब्धता प्रमुख कारण हुन् ।

हिमालयबाट बग्दै आउने नदीहरूबाट निकालिएको जलविद्युत् उपयोग गर्ने भएकाले नेपालको बिजुलीलाई स्वच्छ ऊर्जा भन्न सकिन्छ र यो प्रशस्त पनि छ । सन् २०१५ मा नेपालमाथि भारतले नाकाबन्दी लगाएपछि नेपालले विद्युतको उपभोगमा जोड दिएको थियो । अहिले लगभग सबै घरमा बिजुली पुगिसकेको छ । त्यसैले विदेशबाट आयात गरिने महँगो तेलको भरपर्दो विकल्पका रूपमा बिजुलीबाट चल्ने गाडीलाई नेपालीहरूले अँगाल्न थालेका हुन् ।

विद्युतीय गाडीको खर्च पेट्रोलबाट चल्ने कारको भन्दा १५ गुणा सस्तो छ । त्यसले पनि उपभोक्तामाझ ईभीको आकर्षण बढिरहेको हो ।

त्यससँगै सरकारले ईभीलाई प्रोत्साहन गर्ने नीति पनि लिएको छ । ईभीमा लगाइने भन्सार करिब ४० प्रतिशतले घटाइएको छ जबकि पेट्रोलबाट चल्ने गाडीमा १८० प्रतिशत भन्दा बढी भन्सार लगाइन्छ । यसले विद्युतीय गाडीलाई प्रतिस्पर्धात्मक बनाएको मात्र नभई पेट्रोल गाडीको तुलनामा निकै सस्तो बनाएको छ ।

चिनियाँ ब्रान्डहरूलाई पश्चिमी बजारमा एकदमै कम पहुँच दिइएको छ । तर, नेपालले चिनियाँ ब्रान्डका गाडीलाई खुला दिलले अँगालेको छ । नेपाली बजारमा चिनियाँ गाडीहरूको दबदबा छ । उनीहरूले टेस्लाको स्तरका गाडीहरू टेस्लाभन्दा आधा मूल्यमा बेचिरहेका छन् ।

ईभीलाई अंगीकार गरेर नेपालले प्रत्यक्ष लाभहरू उठाएको छ । भन्सारको तथ्यांक हेर्दा सन् २०२३/२४ मा नेपालमा ११ हजार ७०० विद्युतीय गाडीहरू भित्रिएको देखिन्छ जसमध्ये करिब ७० प्रतिशत चीनबाट निर्यात भएका हुन् ।

विद्युतीय गाडीहरूले गर्दा नेपालको वार्षिक पेट्रोलियम पदार्थको खर्च पनि ३ अर्ब रुपैयाँले घटेको तथ्यांक छ । काठमाडौं जस्ता शहरमा प्रदूषण घटाउन पनि यसले योगदान गरेको छ ।

स्वच्छ हावामा सास फेर्न पाउँदा काठमाडौंवासीहरूको औसत आयुमा तीन वर्ष थपिन सक्ने स्वास्थ्यविद्हरू बताउँछन् ।

तर, यी लाभका बावजूद नेपालमा संरचनागत चुनौतीहरू पनि छन् । विद्युतीय गाडीको चार्जिङको पूर्वाधार कमजोर छ ।

शेषगरी ठूला शहरबाहिर गाडी चार्ज गर्न समस्या छ । तर, सरकार र निजी क्षेत्रले यसलाई द्रुत गतिमा विस्तार गरिरहेका छन् ।

राजनीतिक अस्थिरताका कारण ईभी सम्बन्धी नीति परिवर्तन हुने गरेका छन् । हालैको समयमा ईभीमाथिको भन्सार दरमा वृद्धि गरिएको छ र ईभी किन्दाको डाउन पेमेन्टमा नेािल राष्ट्र बैंकले कडाइ गरेको छ ।

सुविधाहरू घटाइएमा वा भन्सार बढाइरहेमा ईभीप्रति उपभोक्ताहरूको चासो घट्न सक्ने भनी डिलरहरूले चेतावनी दिएका छन् ।

यसबाहेक ईभीको ब्याट्री रिसाइक्लिङ वा सुरक्षा मापदण्डका विषयमा नियमहरू छैनन् । कतिपय कम्पनीको गाडी बिक्रीपछिको सपोर्ट सिस्टम पनि भरपर्दो छैन ।

सार्वजनिक यातायातमा ईभीको पहुँच बढाउने चुनौती पनि छ । व्यक्तिगत प्रयोजनका लागि ईभी खरिद गर्नेहरूको संख्या बढिरहेको छ । तर, विद्युतीय बसहरू कमै छन् । अधिकांश टयाक्सी र मोटरसाइकलहरू पेट्रोलियम पदार्थबाटै गुड्ने गरेका छन् ।

साझा यातायातले ४१ वटा इलेक्ट्रिक बसहरू सञ्चालन गर्ने गरेको छ । चीनले थप १०० वटा बसहरू दिने वाचा गरेको छ । तर, निजी गाडीको विकल्प बन्नका लागि कम्तीमा ८०० वटा इलेक्ट्रिक बस आवश्यक रहेको विज्ञहरू बताउँछन् ।