देउवाको प्रश्न: आफू केही नगर्ने अनि सबै दोष नेतालाई दिने ?

399
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताहरूको टाउकोमा थुपार्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरेका छन् ।

मंगलबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले उदारीकरण नीति ल्याउँदा नेताहरूले भोग्नुपरेको आलोचना स्मरण गर्दै व्यापार र उद्योग सञ्चालनमा सरकार सघाउने भूमिकामा मात्र रहने स्पष्ट पारे ।

‘गिरिजाबाबु प्रधानमन्त्री हुँदा उदारीकरणको नीति लिनुभयो, निजीकरणका थुप्रै काम गर्नुभयो। त्यसबापत धेरै गाली पनि खानुपर्‍यो,’ देउवाले भने, ‘तर व्यापार व्यापारले गर्ने हो, उद्योग उद्योगपतिले। सरकार सघाउने पक्षमा छ, तर सिधै ती काम गर्ने होइन ।’

व्यापारी र उद्योगीले आफैं मेहनत नगरी सबै दोष नेताहरूलाई थोपर्ने प्रवृत्तिप्रति उनले असन्तोष जनाए । ‘खुद केही नगर्ने अनि सबै गाली हामीलाई ? अब त्यो बन्द गर्नुपर्छ,’ देउवाले भने, ‘काम गर्नुपर्छ, मेहनत गर्नुपर्छ। बिना मेहनत व्यापार होस् या उद्योग, सम्भव छैन ।’

उनले सरकार सधैं सहकार्यका लागि तयार रहेको उल्लेख गर्दै समस्या भए सिधा भन्न आग्रह गरे। ‘के चाहिन्छ भनेर भन्नुस्, सरकारमा हामी छौं, सहयोग गर्न तयार छौं,’ देउवाले स्पष्ट पारे।