थाइल्यान्ड-कम्बोडिया संघर्ष: आवरणमा सीमाविवाद, अन्तर्यमा अमेरिका-चीन प्रतिस्पर्धा

1.2k
Shares

थाइल्यान्ड र कम्बोडियाबीच विगत चार दिनदेखि हिंसात्मक संघर्ष चलिरहेको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले दुई देश युद्धविरामका लागि सहमत भएको घोषणा गरे पनि आइतवार समेत हानाहान चलिरहेको स्थानीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् । कम्बोडियाले ट्रम्पको आह्वानलाई स्वीकार गरेको जनाएको छ । थाइल्यान्डले ट्रम्पप्रति कृतज्ञता व्यक्त गर्दै कम्बोडियाले थाई नागरिकमाथि आक्रमण जारी राखिरहेकाले वार्ता सुरु गर्न नसकिएको स्पष्ट पारेको छ ।

अहिले भइरहेको हिंसात्मक भिडन्तका लागि उपनिवेशकालीन सीमांकन जिम्मेवार छ । फ्रान्सले सन् १९०७ मा दुई देशको सीमारेखा कोरेको थियो । त्यतिखेर कम्बोडिया फ्रान्सको उपनिवेश थियो । स्वेच्छाचारी रूपमा सीमा कोरिएको भएर सीमावर्ती मन्दिरहरूमा कसको आधिपत्य हुने भनी बेलाबेलामा विवाद चर्किने गरेको छ ।

विवादको केन्द्रमा रहेको भनिएको प्रिय विहार मन्दिर क्षेत्र ईसाको नवौंदेखि १२औं शताब्दीको बीचमा बनेको थियो ।

थाइल्यान्डमा त्यसलाई फ्रा विहार्न भनेर चिनिन्छ । फ्रान्सेली अधिकारीहरूले सन् १९०७ मा उक्त क्षेत्रमा सर्भे गरेर सम्पूर्ण प्रिय विहार क्षेत्र कम्बोडियामा पर्ने भनी नक्सामा देखाएका थिए । तत्कालीन सीमा आयोगमा रहेका थाई अधिकारीहरूले फ्रान्सेली नक्सालाई स्वीकृति नदिए पनि गम्भीर आपत्ति उठाएका थिएनन् र अर्को सर्भे समेत गरेका थिएनन् ।

अहिले दुई सेनाबीच ता मोआन थोम भन्ने क्षेत्रमा भिडन्त भइरहेको छ । कम्बोडियाको ओद्दार मियान्चे प्रान्त र थाइल्यान्डको सुरिन प्रान्तको सीमामा पर्ने त्यो ठाउँ प्रिय विहारभन्दा करिब १४० किलोमिटर पश्चिमतर्फ पर्छ । त्यहाँ दुई सेनाबीच गत मे २८ मा भिडन्त भएको थियो र अहिले पनि लडाइँ चलिरहेको छ ।

यो ऐतिहासिक सीमाविवाद दक्षिणपूर्वी एसियाका दुई मुलुकको भौगोलिक आधिपत्यको विषय त हुँदै हो ।

शक्तिराष्ट्रहरूको भूराजनीतिक खेल पनि यसमा जोडिएको छ । अमेरिका र चीनले दक्षिणपूर्वी एसियामा भूराजनीतिक प्रभुत्वका लागि गरिरहेको संघर्षको आलोकमा यस विवादलाई हेर्नुपर्ने हुन्छ । विशेषगरी, कम्बोडियाको नयाँ नेतृत्वले बेइजिङको प्रभावलाई न्यून बनाउँदै वाशिङटनसँग निकटता बढाउन थालेपछि त्यहाँको भूराजनीति जटिल बनेको छ र थाइल्यान्डले पनि अमेरिका र चीनसँग सम्बन्धलाई सन्तुलनमा राख्नका लागि प्रयास गरिरहेको छ ।

विगतमा पनि चीनले कम्बोडियाका पूर्वाधार परियोजनाहरूमा लगानी गरेको थियो । वास्तवमा चीन नै कम्बोडियाको सबभन्दा ठूलो ऋणदाता मुलुक हो

सन् २०२३ मा कम्बोडियाका प्रधानमन्त्री बनेका हुन मानेतले देशलाई क्रमशः चिनियाँ प्रभाव घटाउन थालेको देखिन्छ । अमेरिकाको सैन्य एकेडमी वेस्ट पोइन्टको उत्पादन मानेतले आफ्ना पिता हुन सेनको चीनपक्षधर नीतिलाई त्याग्दै गएका छन् । उनले देशमा निर्माण गर्न लागिएका विशाल पूर्वाधार परियोजनाहरूबाट चीनलाई बेदखल गर्दै दक्षिणपूर्वी एसियामा अमेरिकी साझेदारहरूसँग सम्बन्ध विस्तार पनि गरिरहेका छन् ।

फुनान टेको नहरका विषयमा कम्बोडियाले चालेको कदमलाई भूराजनीतिक परिवर्तनको दृष्टिकोणबाट हेर्न सकिन्छ । १.७ अर्ब डलरको लागतमा बन्ने यस परियोजनाको घोषणा सन् २०२४ मा गरिएको थियो । यो १८० किलोमिटर जलमार्गले कम्बोडियाको दक्षिणमा रहेका दुई प्रमुख नदीहरू मेकोङ र बासाकलाई जोड्छ । त्यो नहर बनिसकेपछि कम्बोडियाले सिधै थाइल्यान्ड खाडीमा पहुँच प्राप्त गर्नेछ र विश्व बजारमा निर्यातका लागि भियतनामी बन्दरगाहहरूमा निर्भर हुनुपर्ने छैन । अहिले कम्बोडियाको कुल निर्यातको एकतिहाइ भियतनाममार्फत हुने गरेको छ ।

चीनले यो नहर निर्माणमा लगानी गरेको बताइन्छ । चाइना रोड यान्ड ब्रिज कर्पोरेशनले नहर बनाउने ठेक्का पाएको छ ।विगतमा पनि चीनले कम्बोडियाका पूर्वाधार परियोजनाहरूमा लगानी गरेको थियो । वास्तवमा चीन नै कम्बोडियाको सबभन्दा ठूलो ऋणदाता मुलुक हो ।

अमेरिका र भियतनामलाई यस नहरले सतर्क बनाएको बताइन्छ । यस नहरलाई चीनले सैन्य पहुँचका लागि उपयोग गर्न सक्ने डर मान्दै अमेरिकाले कम्बोडियालाई यसबारे थप पारदर्शी हुन आग्रह गरेको छ । हुन मानेतले अमेरिकासँग निकट हुनका लागि नहर निर्माणमा चिनियाँ लागतलाई घटाउनका लागि पहल गरेको बुझिन्छ । उनका पिता हुन सेनले जापानलाई यो नहर बनाउनका लागि अनुरोध गरेको पनि बताइन्छ । त्यसपछि चीनले नहरमा गरिने लगानीमा अघोषित रोक लगाएकाले यो अघि बढ्न सकेको छैन ।

त्यसमाथि हुन मानेतले गत फेब्रुअरी महिनामा फिलिपिन्सको उच्चस्तरीय भ्रमण गरेका थिए । त्यसक्रममा उनले फिलिपिन्ससँग उत्पादन, पर्यटन, कृषि, डिजिटल प्रविधि लगायतका क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौता गरेका थिए । चीनसँग जलक्षेत्रीय तनाव चर्काइरहेको फिलिपिन्ससँग कम्बोडियाले यसरी सहकार्य गर्न खोज्दा बेइजिङ असन्तुष्ट बनेको बुझिन्छ ।

त्यसका अतिरिक्त, कम्बोडियामा संगठित रूपमै टेलिकम ठगीका घटनाहरू बढिरहेका छन् र तिनले चिनियाँ नागरिकलाई तारो बनाइरहेका छन् । पहिला त्यस्ता ठगी कार्यहरू म्यान्मारमा हुने गर्थे तर त्यहाँ राजनीतिक अस्थिरता चर्किएपछि ती संगठित अपराधीहरू कम्बोडियामा सरेका छन् । यिनीहरूले निर्विघ्न काम गरिरहेको देख्दा कम्बोडियाका शक्तिशाली अधिकारीहरूको आशीर्वाद यिनीहरूलाई प्राप्त भएको देखिन्छ ।

एम्नेस्टी इन्टरनेशनलले समेत यसका विषयमा प्रतिवेदन प्रकाशन गरेर ठगी केन्द्रहरूमा व्यापक रूपमा मानवअधिकार उल्लंघन भइरहेको जनाएको छ । यस संगठित अपराधका विषयमा चिनियाँ अधिकारीहरूले चिन्ता व्यक्त गरेको भए पनि कम्बोडियाली अधिकारीहरूले यस सञ्जाललाई बन्द गर्न खासै चासो देखाएका छैनन् । त्यसले पनि चीनलाई असन्तुष्ट बनाएको छ ।

थाइल्यान्डले समेत सीमावर्ती क्षेत्रमा कम्बोडियाली संगठित अपराधीहरूमाथि धरपकड गरेको छ ।

कूटनीतिक प्राथमिकतामा आएका यी परिवर्तनकै क्रममा कम्बोडिया र थाइल्यान्डको तनाव चर्किएको हो । चार दिनयता भड्किएको हिंसामा ३३ जनाको मृत्यु भइसकेको छ र २ लाख सर्वसाधारण विस्थापित भएका छन् । थाइल्यान्डको सेनालाई अमेरिकी सैन्य गुप्तचरहरूले सामरिक सूचना उपलब्ध गराउनुका साथै बन्दोबस्तीका सामान पनि उपलब्ध गराइरहेको बताइन्छ । थाइल्यान्डले अत्याधुनिक आर्टिलरी र अमेरिकी एफ–१६ लडाकू विमानहरूले प्रहार गरेका छन् भने कम्बोडियाले प्रिय विहार र ता मुएन थोममा बीएम-२१ ग्राड रकेटबाट आक्रमण गरेको बताइन्छ ।

थाइल्यान्डले लामो समयदेखि अमेरिकासँग कूटनीतिक र सैन्य सम्बन्ध कायम राखेको छ । दक्षिणपूर्वी एसियाकै सबभन्दा ठूलो अमेरिकी राजदूतावास थाइल्यान्डमा भएबाट नै उनीहरूको घनिष्ठ सम्बन्धको संकेत पाइन्छ । हुन मानेतको नेतृत्वमा कम्बोडिया पनि अमेरिकासँग नजिकिन खोजिरहेको छ ।

थाइल्यान्डमा पेतोङतार्न शिनावात्राको सरकारले चीनसँग रेल सम्झौता गरेपछि अमेरिका असन्तुष्ट बनेको छ । पेतोङतार्नले हुन सेनसँग सीमाविवाद हल गर्नका लागि पहलको अनुरोध गरेको टेलिफोन संवाद हुन सेनले सञ्चारमाध्यममा लीक गरिदिएपछि पेतोङतार्नविरुद्ध मुद्दा परेको छ । अदालतले उनलाई निलम्बन गरेको छ । हुन सेन र हुन मानेतले अमेरिकासँग नजिकिनका लागि चीनसँग रेल सम्झौता गर्ने पेतोङतार्नलाई पदच्युत गराउनका लागि भूमिका खेलेको कतिपय विश्लेषकहरू बताउँछन् । त्यसैले पनि अमेरिकाका राष्ट्रपति ट्रम्पले युद्धविरामका लागि गरेको आग्रहलाई हुन मानेतले तत्कालै स्वीकार गरेका हुन् ।

उता, चीनले यस विषयमा दह्रो आवाज उठाएको छैन । चिनियाँ अधिकारीहरूले आसियान र संयुक्त राष्ट्रसंघ जस्ता बहुपक्षीय मञ्चहरूमा शान्तिबहालीका लागि आग्रह गरेको भए संघर्ष अन्त्यका लागि प्रत्यक्ष हस्तक्षेप गरेका छैनन् । हुन मानेतको नेतृत्वप्रति असन्तुष्ट भएकाले चीन यस विषयमा निष्क्रिय रहेको विश्लेषकहरू बताउँछन् ।

थाईहरूले कम्बोडियालाई आक्रामक शक्तिका रूपमा चित्रित गरेका छन् किनकि विवादित मन्दिर क्षेत्रको आधिपत्यको विषय राष्ट्रवादसँग जोडिएको छ

तर, आफ्ना विमानवाहक युद्धपोतहरू राख्नका लागि कम्बोडियाको रियाम नेभल बेस बनाएको चीनले सजिलै कम्बोडियालाई अमेरिकी पोल्टामा जान देला भनी सोच्न सकिन्न । गत मे महिनामा मात्र कम्बोडिया र चीनले गोल्डन ड्रागन संयुक्त सैन्य अभ्यास गरेबाट नै यी दुई देशबीचको घनिष्ठता स्पष्ट हुन्छ । हुन मानेतले चालेका कतिपय कदमले चीनलाई असन्तुष्ट बनाए पनि चीनले दक्षिणपूर्वी एसियामा प्रभाव कायम गर्न कम्बोडियाको साथ महत्त्वपूर्ण रहेको कुरा बुझेको छ ।

थाइल्यान्डको भन्दा कमजोर सैन्य क्षमता भए पनि अमेरिकाबाट हस्तक्षेप हुनुअघि कम्बोडियाले युद्ध चर्काउनका लागि पहल गरेको देख्दा उसले चीनको आडमा यो साहस गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ । अमेरिकाले आफ्नो क्षेत्रीय साझेदार थाइल्यान्डलाई कुन हदसम्म सहयोग गर्न सक्छ भन्ने कुराको परीक्षणका लागि चीनले कम्बोडियालाई परोक्ष सहयोग गरेको हुन सक्छ ।

उता अमेरिकाले चीनको साझेदार कम्बोडियालाई पाठ पढाउनका लागि उसमाथि कठोर आक्रमण गर्न थाइल्यान्डलाई सहयोग गरेको हुन सक्छ । तर, हुन मानेतले अमेरिकासँग सम्बन्ध बढाउन खोजेको कुरा बुझेको अमेरिकाले कम्बोडियालाई दण्ड दिएर भन्दा पनि फकाएर आफ्नो पक्षमा पार्नका लागि कोसिस गरिरहेकाले युद्धविराममा जोड दिइरहेको देखिन्छ ।

महाशक्ति राष्ट्रहरूको भूराजनीतिक प्रतिस्पर्धा नेपथ्यमा रहँदै गर्दा थाइल्यान्ड र कम्बोडिया स्वयंको भूराजनीति नै हिंसात्मक भिडन्तका लागि जिम्मेवार छ । थाईहरूले कम्बोडियालाई आक्रामक शक्तिका रूपमा चित्रित गरेका छन् किनकि विवादित मन्दिर क्षेत्रको आधिपत्यको विषय राष्ट्रवादसँग जोडिएको छ । उता कम्बोडियाको सत्तारूढ दलले राष्ट्रवादी जनसमर्थन जुटाउनका लागि थाई विस्तारवादको नारा घन्काइरहेको छ । आआफ्नो देशमा राष्ट्रवादी स्वर चर्काउनका लागि दुवैतर्फका नेताले भूराजनीतिको उपयोग गरिरहेको देखिन्छ ।

यी राष्ट्रवादी भावनाहरूलाई दुवै देशका स्थापित राजनीतिकर्मीहरूको प्रतिस्पर्धाले झन् उद्वेलित हुन सघाएको छ । थाइल्यान्डको शक्तिशाली शिनावात्रा परिवार र कम्बोडियाको प्रभुत्वशाली हुन परिवारबीच विद्यमान पारस्परिक अविश्वासले द्विपक्षीय सम्बन्धलाई प्रभाव पारिरहेको छ । माथि पनि उल्लेख भएबमोजिम शिनावात्रा परिवारलाई अवमूल्यन गरेर अमेरिकाको आँखामा प्यारो बन्नका लागि हुन परिवारले अडियो लीकको फन्डा गरेको थियो ।

अमेरिकाले युद्धविरामका लागि थाइल्यान्ड र कम्बोडियालाई दबाब दिएको भए पनि भिडन्त थप चर्किने सम्भावनालाई नकार्न सकिन्न । दुवै देशका सेनाबीच फाट्टफुट्ट भिडन्त भइरहेका छन् । दुवैतिरका सीमामा विस्थापितहरूले बेहोर्नुपरेको मानवीय संकटले द्विपक्षीय सम्बन्धलाई थप चिस्याएको छ । अमेरिकाको मध्यस्थता प्रयासले परिस्थिति सम्हालिन सक्छ । तर, स्थायी युद्धविरामका लागि आसियानले गरेको पहल विश्वसनीय ठहर्छ । आसियान मुलुक मलेसियामा थाइल्यान्ड र कम्बोडियाका सरकारप्रमुखहरूले युद्धविराम वार्ता गर्ने बताइएको छ ।

दक्षिणपूर्वी एसियाली संगठनले यस तनावलाई कूटनीतिमार्फत हल गर्छ कि उपनिवेशकालीन सीमाविवाद र बढ्दो राष्ट्रवादी उभारले यस द्वन्द्वलाई चर्काउन योगदान गर्छ भनी भविष्यले बताउनेछ । दक्षिणपूर्वी एसियामा महाशक्ति राष्ट्र अमेरिका र चीनले प्रभाव कायम गर्नका लागि प्रयास गरिरहँदा थाइल्यान्ड र कम्बोडियाको सीमाविवादले त्यसको परीक्षण गरेको भन्न सकिन्छ ।