गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई राष्ट्र बैंकले गर्‍यो एकै त्रैमासमा ३ कारबाही

175
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई एक त्रैमासमै ३ वटा कारबाही गरेको छ । राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागले संस्थाको सञ्चाल नियुक्ति, कर्मचारीको उपदान र कर्जा नोक्सानी व्यवस्था र कर्जाको वर्गीकरणमा कैफियत देखिएपछि कारबाही गरेको हो ।

फाइनान्सले कर्जा नोक्सानी व्यवस्था तथा वर्गीकरण नेपाल राष्ट्र बैंकमा गरिएको रिपोर्टिङमा कैफियत पाइएको जनाएको छ । ‘कतिपय कर्जाको वक्यौता व्याज/किस्ता असुल गर्न थप कर्जा प्रवाह गरी कर्जा नियमित गरेको र यी सबै कारणहरुले कर्जा नोक्सानी व्यवस्था प्रभावित भई संस्थाको वित्तीय विवरण यथार्थपरक नदेखिएन,’ राष्ट्र बैंकले कारबाहीमा भनेको छ । नियामकीय निर्देशन उल्लंघन गरी कर्जा तिर्न थप कर्जा दिएको पाइएपछि कारबाही गरेको हो । फाइनान्सलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै फाइनान्सले वार्षिक साधारण सभाभन्दा अगाडि रिक्त भएको सञ्चालक वार्षिक साधारणसभा नगरेको र वार्षिक साधारण सभामा रिक्त सञ्चालक नियुक्तिको लागि निर्वाचनको प्रक्रियामा नगएको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

फाइनान्सले वार्षिक साधारण सभा समापन भएपछि मात्र सञ्चालक समितिबाट सञ्चालक नियुक्त गरेकोले तत्कालको वार्षिक साधारणसभा छली सञ्चालक नियुक्त गर्ने मनसाय राखेको देखिएको राष्ट्र बैंकले जनाएको छ । उक्त कार्य बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (१) को खण्ड (ख) मा भएको व्यवस्था विपरित भएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम छुट्टाछुट्टै पत्रमार्फत ३ जना सञ्चालकलाई सचेत गराएको हो ।

सचेत गराएको सञ्चालकमा अध्यक्ष युवराज भण्डारी, सञ्चालहरु सजिना अमात्य र दिपेश गोर्खाली छन् । सञ्चालक नियुक्तिकै विषयमा सञ्चालक रेश्मा श्रेष्ठलाई पनि सचेत गराएको हो ।

यस्तै राष्ट्र बैंकबाट स्वीकत नगराई कर्मचारी उपदानको व्यवस्था परिमार्जन गरी कार्यान्वयन गराएको भन्दै फाइनान्सका तत्कालीन अध्यक्ष श्रीमान श्रेष्ठ, सञ्चालकहरु सरोजनी श्रेष्ठ र राजेश मानन्धरलाई सचेत गराएको छ । ‘संस्थाको सञ्चालक समितिमा रहेको अवधिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १३३ मा भएको व्यवस्थाबमोजिम कर्मचारीको उपदानको विषयमा संस्थाको कर्मचारी विनियमावलीमा गरेको संशोधन राष्ट्र बैंकबाट स्वीकृति नगराई कार्यान्वयनमा ल्याएको हुँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम उछुट्टाछुट्टै पत्रमार्फत सचेत गराइएका छ,’ राष्ट्र बैंकले कारबाहीमा भनेको छ ।