
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा सामान्य सुधार भए पनि उठ्न बाँकी बक्यौता ब्याज असुल हुँदा लाभांश क्षमतामा उल्लेख्य सुधार देखिएको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा ६.५१ प्रतिशतले बढेर ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा बैंकले ५० करोड ४२ लाख ८० हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी घटेपनि शुल्क तथा कमिसन आम्दानी र अन्य सञ्चालन आम्दानीमा वृद्धि हुँदा बैंकको समग्र आम्दानीमा सुधार भएको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ८८ करोड ९ लाख खुद ब्याज आम्दानी गर्दा २१ करोड ६१ लाख खुद शुल्क तथा आम्दानी आर्जन गरेको छ । यस्तै अन्य सञ्चालन आम्दानी १७ करोड ५० लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा ९ करोड २८ लाख मात्रै रहेको अन्य सञ्चालन आम्दानीमा वृद्धि हुँदा बैंकको समग्र आम्दानी नै बढेको छ ।
अघिल्लो आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९० करोड ६९ लाख र फि तथा कमिसन आम्दानी १८ करोड ८० लाख थियो ।
बैंकको खुद ब्याज आम्दानीभन्दा पनि अन्य आम्दानी बढेको तर, कर्जा नोक्सानी व्यवस्थाको रकम नबढ्दा सञ्चालन आम्दानीसँगै नाफा बढेको हो । अघिल्लो आर्थिक वर्षमा ७० करोड ३४ लाख रहेको बैंकको सञ्चालन नाफा बढेर ७७ करोड ४२ लाख पुगेको छ ।
व्यवसाय अपेक्षित रुपमा बढाउन नसक्दा बैंकको खुद ब्याज आम्दानी बढ्न नसकेको हो । २०८१ असार मसान्तमा ४१ अर्ब ७८ करोड ७० लाख रहेको बैंकको कर्जा गत असार मसान्तमा बढेर ४३ करोड २ लाख १५ हजार पुगेको छ । सोही अवधिमा निक्षेप ५४ अर्ब २ करोड ८१ लाख रुपैयाँबाट बढेर ५५ अर्ब ६६ करोड ८५ लाख पुगेको छ ।
गत आर्थिक वर्षमा बोनस सेयरमार्फत चुक्ता पुँजी ३.६५ प्रतिशतले बढाएर ३ अर्ब ५५ करोड ६२ लाख पुर्याएको बैंकको सञ्चित नाफा ४१ करोड ३४ लाख र जगेडाकोषमा १ अर्ब ६० करोड ३० लाख छ । चुक्ता पुँजी बढे पनि नाफा बढ्दा बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७० पैसाबाट बढेर १५ रुपैयाँ १० पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५६.७१ रुपैयाँ वार्षिक रिर्टन अन इक्वीटी ९.७७ प्रतिशत पुगेको छ ।
बैंकको मूल्य आम्दानी अनुपात ३०.६५ गुणा, प्राथमिक पूँजीकोष अनुपात ११.०३ प्रतिशत सहित पुँजीकोष अनुपात १४.४१ प्रतिशत पुगेको छ । निष्कृय कर्जा अनुपात ३.९३ प्रतिशतबाट बढेर ५.६४ प्रतिशत पुगेको छ । आधार दर ७.०८ प्रतिशतमा झरेको छ भने सीडी रेसियो ८३.०७ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ४.१४ प्रतिशत छ ।
गत आर्थिक वर्षमा बैंकले १९ करोड १ लाख ९१ हजार उठ्न बाँकी बक्यौता ब्याज उठाएर रेगुलेटरी रिभर्जबाट सञ्चित नाफामा ट्रान्सफर गर्दा बैंकको वितरणयोग्य नाफा ४१ करोड ३८ लाख पुगेको छ । जसले बैंकको लाभांश क्षमता ११.६४ प्रतिशत पुगेको छ । बैंकले गैर बैंकिङ सम्पत्तिका लागि रेगुलेटरी रिजर्भमा ८ करोड १२ लाख ९३ हजार छुट्याएको छ ।








प्रतिक्रिया