
विराटनगर । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ नगरेको भए पनि सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा सातामा २८ पटकसम्म विद्युत ट्रिपिङ हुने गरेको तथ्यांक छ ।
अत्यधिक ट्रिपिङका कारण औद्योगिक प्रशोधन प्रक्रियामा रहेको कच्चा पदार्थ नष्ट हुने, पुनः प्रयोग गर्दा उत्पादन लागत वृद्धि हुने, साथै मेसिनरी बिग्रनाले उद्योगहरूले ठूलो आर्थिक क्षति भोग्नुपरेको सम्बन्धित उद्योगीहरूको गुनासो छ।
इन्टर डिसिप्लिनरी एनालिस्ट (आईडीए) संस्थाले मुलुकका ५०० भन्दा बढी साना, मझौला र ठूला उद्योगमा हालै गरेको सर्वेक्षणमा सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा सातामा २८ पटकसम्म विद्युत ट्रिपिङ हुने गरेको पाइएको हो ।
संस्थाका निर्देशक सुधीन्द्र शर्माले उद्योग संगठन मोरङलाई हस्तान्तरण गरेको सर्वेक्षण प्रतिवेदनमा सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङजस्तै गरी सातामा २८ पटकसम्म, कम्तिमा १ देखि अधिकतम १४७ मिनेटसम्म विद्युत ट्रिपिङ हुने गरेको जानकारी दिए ।
उनका अनुसार सबैभन्दा कम ट्रिपिङ काठमाडौँको औद्योगिक क्षेत्रमा साप्ताहिक ६ पटक हुने गरेको छ भने सबैभन्दा धेरै नेपालगञ्जमा ३५ पटकसम्म र सुनसरी–मोरङमा २८ पटकसम्म ट्रिपिङ हुने गरेको पाइएको छ। त्यस्तै पोखरा र भैरहवा औद्योगिक क्षेत्रमा साप्ताहिक १२–१२ पटक ट्रिपिङ हुने गरेको उनले बताए ।
शर्माका अनुसार ट्रिपिङ प्रायः बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको अवधिमा बढी हुने गरेको छ ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले पटक–पटकको ट्रिपिङले कच्चा पदार्थ नष्ट गर्ने, पुनः प्रयोग गर्दा लागत वृद्धि हुने र समग्र औद्योगिक वातावरण प्रभावित भइरहेको गुनासो गरे ।
उनका अनुसार विद्युत आपूर्ति भइरहेको बेलामा पनि प्राधिकरणले कुनै जानकारी नदिई पटक–पटक ट्रिपिङ गराउँदा औद्योगिक उत्पादन प्रक्रिया अवरुद्ध हुँदै आएको छ । ‘प्लास्टिक र फलामका मेल्टिङ उद्योगमा अचानक ट्रिपिङ हुँदा भट्टी विस्फोट भई जनधनको क्षति हुने खतरा समेत देखिएको छ,’ राठीले भने ।
विद्युत ट्रिपिङ, लो–भोल्टेज, फ्लक्चुएसन र अघोषित लोडसेडिङ जस्ता समस्याका कारण सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगहरूको लागत बढेको र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको उद्योगीहरूको गुनासो छ।
ठूला फलाम उद्योगहरूमा अहिले पनि नेपाल विद्युत प्राधिकरणले दैनिक ४ देखि ६ घण्टासम्म अघोषित लोडसेडिङ गरिरहेको उद्योगीहरू बताउँछन् ।
मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह विद्युत उपलब्ध भएको समयमा पनि ट्रिपिङ बढी हुँदा समस्या भइरहेको बताउँछन् ।
‘विद्युत उपलब्ध भएको समयमा पनि अत्यधिक ट्रिपिङका कारण औद्योगिक चक्र नै प्रभावित हुँदै आएको छ, जुन उद्योग क्षेत्रले वर्षौंदेखि सहनु परेको समस्या हो,’ उनले भने ।
सुनसरी–मोरङ औद्योगिक करिडोरअन्तर्गत कटहरी, बुढीगंगा र दुहबी करिडोर पर्छन्, जहाँ फरक–फरक फिडरबाट विद्युत आपूर्ति हुन्छ।
यसअघि उद्योग संगठन मोरङले सुक्खायाममा गरेको एक सर्वेक्षणमा, सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा एकै दिन ६२ पटकसम्म ट्रिपिङ भएको पाइएको थियो। ३३ केभी दुहबी, ११ केभी तरहरा, ११ केभी जुडी, ३३ केभी रघुपति जुटमिल्स र ११ केभी रानी क्षेत्रमा १५ दिनको अध्ययन गर्दा एक दिनमा अधिकतम ६२ पटकसम्म ट्रिपिङ भएको देखिएको थियो ।







प्रतिक्रिया