विद्या भण्डारीकी छोरी उषाले भनिन्- निर्णयमा पुग्न गरिएका तिकडमबाट म अचम्मित छैन

889
Shares

काठमाडौं । नेकपा एमालेले मंगलबारको केन्द्रीय कमिटी बैठकमार्फत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेपछि उनकी छोरी उषाकिरण भण्डारीले यसबारे सार्वजनिक टिप्पणी गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उक्त निर्णयप्रति आफू अचम्मित नभएको बताउँदै त्यो निर्णयमा पुग्न अपनाइएको तिकडम खुला रूपमा बाहिरिएकोमा आफू सन्तुष्ट रहेको उल्लेख गरेकी छन् ।

‘तपाईंहरूमध्ये धेरैलाई यो निर्णय देखेर छक्क परेको देख्दा म छक्क परेँ। तपाईंहरू मानवीय स्वभाव नबुझी कसरी यति समयसम्म बाँच्न सक्नुभएको होला? निर्णय र त्यसमा पुग्न गरिएका तिकडम दुवैबाट म अचम्मित छैन। म खुसी छु कि यी कुरा अब ढाकछोप नभई खुला रूपमा बाहिर आए,’ उनले भनेकी छन् ।

उनले पुष्पलालको स्मृति दिवस परेको संयोग पनि उल्लेख गर्दै लेखेकी छन्, ‘पहिले–पहिले मलाई लाग्थ्यो, किन कमरेड पुष्पलालको परिवारले एमालेप्रति नैतिक समर्थनसमेत देखाउने गरी प्रस्तुत हुँदैन ? तर हामीलाई आमाले राजनीति गर्न मन छैन भने पनि पार्टीप्रति देखिने गरी उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्थ्यो र हामीले त्यहीअनुसार प्रयास गर्यौं।’

तर पछिल्लो एक महिनामा आफूले नयाँ अनुभव पाएको बताउँदै उनले लेखेकी छन्, ‘अब थाहा भयो – यहाँ त नैतिक समर्थन पनि गर्न नसकिने स्थिति सम्म पुर्‍याइने रहेछ र त्यो समर्थन पनि आवश्यक ठानिँदोरहेनछ ।’

यो ‘ज्ञानको बोझ’ मंगलबारको केन्द्रीय समिति बैठकले झनै स्पष्ट रूपमा देखाइदिएको उनको भनाइ छ ।

उषाकिरण मदन भण्डारी फाउन्डेसनकी अध्यक्षसमेत हुन् । उनले फाउन्डेसनमार्फत मदन भण्डारीको हीरक जयन्ती आयोजना गर्न खोज्दा पनि पार्टी नेतृत्वबाट सहयोग नभएको उल्लेख गरेकी छन् ।

‘फाउन्डेसनले जब जन्मजयन्तीको तयारी गर्दै थियो, त्यही बेला केहीले यसलाई एमाले नेतृत्वविरुद्ध षड्यन्त्रको रूपमा चित्रित गर्न खोजे । यसपालिको हीरक जयन्ती आयोजक समिति बनाउने प्रक्रियालाई ‘तेजबोध’ गर्ने प्रयास गरियो । केही नेताहरूले त फाउन्डेसनलाई नै पार्टीविरुद्धको हतियार ठान्दै आरोप लगाइरहेका छन्,’ उनले भनेकी छन् ।

उनले पार्टी एकताको बेला जबजलाई छुट्टै राख्न माओवादी तयार भएको तथ्य पनि स्मरण गराउँदै लेखेकी छन्, ‘इतिहासमा त नोटिस भइसकेको छ – माओवादीसँग पार्टी एकता गर्दा जबजलाई अलग राख्न एमाले तयार भएको । अहिले आएर जबजको व्यापक बहस गर्ने हाम्रो प्रयासलाई नै शंकाको दृष्टिले हेर्नु विडम्बनापूर्ण हो ।’

फाउन्डेसन पार्टीकै नेतृत्वले बनाएको र आफूहरूलाई जिम्मेवारी हस्तान्तरण गर्दा स्पष्ट रूपमा जबजअनुरूप सञ्चालन गर्न निर्देशन दिइएको उनले स्मरण गरेकी छन्। ‘अहिले जबजको हीरक जयन्तीमार्फत बहस सुरु गर्ने प्रयासमा पनि सन्देह गरिनु हृदयविदारक विषय हो,’ उनले भनेकी छन् ।