
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले जापानसँग विशाल व्यापार सम्झौता भएको घोषणा गरेका छन् ।
आफ्नो निर्देशनमा जापानले अमेरिकामा ५५० अर्ब डलर बराबरको लगानी गर्ने भनी ट्रम्पले दाबी गरेका छन् ।
यी दुई साझेदारबीच महिनौंदेखि व्यापार सम्झौताका विषयमा कुराकानी चलिरहेको थियो । यसले टोक्योमा आर्थिक अनिश्चितता छाएको थियो र प्रधानमन्त्री शिगेरु इशिबाको राजनीतिक भविष्य पनि अन्योलमा पारेको थियो ।
मंगलवार राति एउटा पोस्ट गर्दै ट्रम्पले जापानी आयातमा १५ प्रतिशत भन्सार लगाउने घोषणा गरे । यसअघि ट्रम्पले जापानमाथि अगस्ट १ देखि २५ प्रतिशत भन्सार लगाउने धम्की दिएका थिए ।
जापानले अमेरिकी सामानहरूमा कति कर लगाउने हो भनी स्पष्ट छैन ।
जापानले अमेरिकी कार, ट्रक, चामल र केही कृषि उत्पादनहरूका लागि बजार खोल्न सहमति गरेको पनि ट्रम्पले दाबी गरे । दुई देशको वार्तामा जापानी बजार खोल्ने विषयमा सहमति जुटाउन गाह्रो परेको थियो ।
गत आइतवार जापानको माथिल्लो सदनका लागि भएको निर्वाचनमा इशिबाको गठबन्धनले बहुमत गुमाएपछि इशिबामाथि राजीनामाको दबाब बढेको छ । अझ गत अक्टोबर महिनामा तल्लो सदनमा पनि सत्तारूढ गठबन्धनले बहुमत गुमाएको छ । लगातार दुईवटा निर्वाचनमा हार बेहोरेपछि इशिबाको पद धरापमा परेको बताइन्छ ।
ट्रम्पले जापानसँगको सम्झौता घोषणा गरेलगत्तै जापानको माइनिची पत्रिकाले अगस्टको अन्तिमसम्ममा इशिबाले राजीनामा दिन सक्ने खबर दिएको थियो ।
अमेरिकासँगको व्यापार सम्झौताछि मात्र निर्वाचनमा बेहोरेको हारको जिम्मेवारी लिने भनी इशिबाले आफ्ना निकटवर्तीहरूलाई बताएका थिए ।
जापानको गाडी उद्योग अमेरिकाले लगाएको २५ प्रतिशत भन्सारका कारण मर्कामा परेको छ । गाडी उद्योगले जापानमा ८ प्रतिशत रोजगारी दिएको छ । ट्रम्पले गरेको घोषणामा गाडी उद्योगलाई भन्सार दरमा कमीका विषयमा केही बताइएको छैन ।
तर पछि इशिबाले जापानी गाडीमा भन्सार दर घटाएर १५ प्रतिशत बनाइएको पुष्टि गरे । अमेरिकातर्फ हुने जापानी निर्यातको एकचौथाइ भाग गाडीले नै ओगटेको छ ।








प्रतिक्रिया